Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेश । अंक ६९५ ।

श्रमिकहरूले विदेश जानु अघि भाषा, प्रविधि, घरायसी सीप, वा व्यावसायिक तालिमहरू सिकेर गए भने उनीहरूले  राम्रो काम, उच्च आय, र काम गर्ने सुरक्षित वातावरण प्राप्त हुने सम्भावना बढी हुन्छ । अहिले नेपाल सरकारले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न सीप र तालिमहरु सञ्चालन गरिरहेको छ । तर चुनौती अझै बाँकी छ—अहिले पनि धेरै युवाहरु एजेन्ट वा दलालमार्फत सीप र सम्झौताबिनै विदेशिने गरेको विभिन्न अध्यनले देखाउँछ । यसरी कुनैपनि सीप वा तालित नलिइकनै कुनै एजेन्ट वा दलाल मार्फत जाँदा उनीहरू कानुनी सुरक्षाबाट वञ्चित हुन्छन् र आर्थिक तथा मानसिक जोखिममा पर्छन् । त्यसैले सीपयुक्त जनशक्ति उत्पादन र सुरक्षित वैदेशिक रोजगारीबीच प्रत्यक्ष सम्बन्ध छ । सीप भएका कामदारले मात्र राम्रो रोजगार पाउँछन्, र उनीहरूले पठाएको रेमिट्यान्स पनि दिगो आर्थिक विकासमा रूपान्तरण गर्न सकिन्छ । कार्यक्रम देश परदेशको अंक ६९५ मा सीप र रोजगारी भन्ने विषयमा व्यवसायिक सीप तथा विकास तालिम प्रतिष्ठानकी निर्देशक विन्दा आचार्यसँगको कुराकानी समावेश छ ।