Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेश । अंक ६९७ ।

वि.स २०७५ साल मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको यो कोषले श्रमिकको जीवनमा आर्थिक सुरक्षा र सामाजिक सम्मान दिलाउने लक्ष्य लिएको छ । कोषमा आबद्ध श्रमिकले विभिन्न योजना अन्तर्गत लाभ लिन सक्छन् । जस्तै स्वास्थ्य उपचार, मातृत्व सहायता, कामका क्रममा हुने दुर्घटनाको क्षतिपूर्ति, अशक्तता सहायता, बृद्धावस्था पेंशन, र आश्रित परिवारका लागि सहयोग । अहिले करिब दुई लाखभन्दा बढी श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, र अरू हजारौं निजी तथा सरकारी संस्था पनि यसमा सहभागी भइरहेका छन् । यसले श्रमिकको योगदानको आधारमा बचत र सहायता व्यवस्था गर्दै उनीहरूको भविष्यलाई सुरक्षित बनाउने प्रयास गरेको छ । यसबाट  श्रमिकहरु मात्र नभएर उनीहरूको परिवारले पनि फाइदा लिन सक्छन् । साथै, समग्र श्रम बजारमा पनि यसले सकारात्मक प्रभाव पारिरहेको छ ।  त्यसैले कार्यक्रम देश परदेशको अंक ६९७ मा हामीले सामाजिक सुरक्षा कोषको फाइदाबारे सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालसँग कुराकानी गरेका छौं । उहाँले तपाईंले सामाजिक सुरक्षा कोषबारे राख्नुभएको जिज्ञासाको पनि जवाफ दिनुभएको छ ।