धनी भएको सपना देख्ने भुइँमान्छेको कथा

 असार ८, २०८२ आइतबार १३:५४:५२ | मिलन तिमिल्सिना
unn.prixa.net

गोजीमा सुको नभएर झोक्राइरहेको भुइँमान्छेले नेपाल धनी हुने कुरा सुन्यो । धनी हुन लागेको देश नेपाल कि थर नेपाल भनेर एकछिन गम खायो । थर नेपाल नभएर देश नेपाल धनी हुन लागेको कुरा दैलेखमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास भेटेपछि शुरू भएको रहेछ भन्ने थाहा पायो । देश मालामाल हुने खबर थाहा पाएर गदगद भयो ।

देश धनी हुने भनेपछि त्यही देशमा बस्ने आफू पनि मालामाल नहुने कुरै भएन । ५० वर्षलाई पुग्ने भनेपछि आफ्नो जिन्दगी कटिहाल्यो, छोराछोरीको पालामा फेरि धनी हुने अर्को कुरा फेला परिहाल्छ । आहा ! आफ्नो जिन्दगी त अब सुखसँग बित्ने भो !

अब बजारबाट महँगोमा ग्यास किनेर ल्याउने जमाना गयो । दैलेखको खानीबाट घरको भान्सासम्म सीधै पाइप जोड्ने । त्यही पाइपबाट आएको ग्यासले भात पकाउने, खाने । आफ्नै देशको माटो मुनिबाट निस्केको ग्यास, क्यास तिर्नुपरेन । जति प्रयोग गरे पनि भयो । फेरि बत्ती पनि बल्छ भनेका छन् । ग्यासबाट बत्ती पनि बल्ने भएपछि बिजुली किन चाहियो ? बिजुलीको पैसा पनि जोगिने भयो । भात तरकारी पकाउन र बत्ती बाल्न पैसा नचाहिने भयो, क्या सञ्च ! तर भात, तरकारी बनाउन चाहिने दाल, चामल, तेल, नुन, भुटन, बेसार, मसला चाहिँ कसरी जुटाउने नि ? भुइँमान्छे फेरि निराश भयो । उतिखेरै कसैले भन्यो, मिथेन ग्यासबाट गाडी पनि चलाउन मिल्छ ।

ए त्यसो भए के चिन्ता भयो र ! ऋणधन गरेर एउटा सानो गाडी किन्ने । पेट्रोल, डिजेलको सट्टा त्यही मिथेन ग्यास राखेर चलाउने । कहिले यात्रु बोक्ने, कहिले सरसामान ओसार्ने । मिथेन हालेर चलाएको गाडीबाट आम्दानी पनि टन्नै होला । एक/दुई महिनामा गाडीको ऋण तिरिन्छ । त्यसपछि सबै आम्दानी चोखै बच्छ । तेल, चामल, नुन, भुटन, लुगाफाटा जति किने पनि भयो । सरसामान किनिसकेर बढी भएको पैसा बैंकमा राख्ने । अनि पक्की घर बनाउने । घर बनाएर पनि पैसा बचिहाल्छ । फेरि पैसा बैंकमा राख्ने । बैंकले दिने ब्याजबाटै खान पुगिहाल्छ । ब्याजले नै खान पुगेपछि काम किन गर्ने ? गाडी बेचेर आनन्दले घरमा उपरखुट्टी लगाएर सुत्ने । घरको छतमा पौडी खेल्ने पोखरी बनाउने । छेउमा पिङ हाल्ने । पौडी खेलिसकेपछि त्यही पिङमा हल्लिँदै मोबाइल हेर्ने । बेलाबेला देश विदेश घुमिरहने । आहा क्या आनन्दको जिन्दगी ! भुइँमान्छे मुस्कुरायो ।

अब त दैलेखबाट मिथेन ग्यास पनि निकाल्न थाले होला । गाउँका जनप्रतिनिधिहरू ग्यासको पाइप जोड्न भन्दै घर पो आए कि ! काम खोज्न हिँडेको भुइँमान्छे फटाफट घरतिर लाग्यो ।

‘हैन आज कति छिटो घर आएको ?’ बारीमा झार उखेल्दै गरेकी श्रीमतीले सोधिन् ।

‘खै कोही आएका छैनन् घरमा ?’ भुइँईंमान्छेले यताउति हेर्‍याे ।

‘किन को आउनुपर्ने थियो र ?’ श्रीमतीले आश्चर्य मान्दै सोधिन् ।

‘दैलेखमा कता हो मिथेन ग्यास भएको पुष्टि भयो रे । घरघरमा पाइपबाट ग्यास आउँछ भन्थे । पाइप जोड्न आए कि भनेर नि’ भुइँमान्छेले टाउको कन्यायो ।

‘हैन यो मान्छेले दिउँसै सपना देख्न पो थालेछन् । मिथेन भेटियो भन्दैमा आजै घरमा पाइप जोड्छन्  त ? उहिल्यै रेल चल्छ भन्थे, चल्यो ? पानीजहाज आउँछ भन्थे, आयो ? बूढीगण्डकीबाट थेग्नै नसक्ने बिजुली निस्कन्छ भन्थे, निस्क्यो ? देशलाई सिँगापुर बनाउँछु भन्थे, बन्यो ? सुख, समृद्धि के के हो के ल्याउँछु भन्थे, ल्याए ?’ श्रीमतीले प्रश्नैप्रश्न बर्साउन थालिन् ।

‘मिथेन ग्यास भेटियो, अब नेपाल धनी हुन्छ भन्थे नि त’ भुइँमान्छेले आश मारेन ।

‘नेपाल त सबै कुरामा धनी छ नि । जलस्रोतमा दोस्रो धनी भन्छन्, पानी पिउनै मुश्किल छ । हरियो वन, नेपालको धन भन्थे; वनजङ्गल उजाड छन् । जडीबुटी, प्राकृतिक र सांस्कृतिक सम्पदा, कला, साहित्य सबै कुरामा धनी छौँ भन्छन् । तर हामी गरिबका गरिबै छौँ क्यारे । अब दैलेखमा मिथेन ग्यास पनि होला । तर यो ग्यास निकाल्न, प्रशोधन गर्न, भण्डारण गर्न, ढुवानी गर्न र प्रयोग गर्न कति सजिलो र गाह्रो छ ? कति खर्चिलो र नाफामूलक छ ? कहिलेदेखि ग्यास निकाल्न सकिन्छ ? यो कुरा चाहिँ कसैले भन्दैन । मिथेन ग्यास भेटियो भनेका छन्, त्यसै मख्ख परेका छन्’ श्रीमतीले वास्तविकता छर्लङ्ग पारिन् ।

भुइँमान्छे खुइय..सुस्केरा हालेर आँगनमा थ्याच्च बसेर मोबाइल हेर्न थाल्यो । ‘अब नेपाल मालामाल...., मिथेन ग्यासको जस लिन नेताहरूको हानथाप....., नेपालमै मिथेन भेटिएपछि अरू देश हेरेको हेर्यै....’ फेसबुक र टिकटकमा मान्छेहरू उसैगरी चिच्याउँदै थिए ।

भुइँमान्छे चिच्याइरहेका मान्छेको ताल देखेर फेरि पहिले झैँ झोक्राउन थाल्यो ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया