कलाकारिता र पाठशाला : जब अभिनयले शिक्षा खोज्छ

 असार ८, २०८२ आइतबार १८:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाेज दाहाल

नेपालमा आज पनि एउटा यस्तो सोच व्याप्त छ— ‘अभिनय सिक्नुपर्ने कुरा हो र ?’ अभिनयलाई केवल सहज अभिव्यक्ति, अनुहारको हाउभाउ वा संवादको प्रस्तुति मात्र ठान्नेहरू आज पनि समाजका कुनाकाप्चामा फिँजिएका छन् । यद्यपि काठमाण्डौ उपत्यका र केही शहरी क्षेत्रहरूमा भने यो सोच विस्तारै बदलिँदैछ । तर देशको धेरैजसो भूभागमा अझै पनि कसैले ‘चलचित्र पढ्न चाहन्छु’ भन्यो भने अभिभावकको अनुहारमा एउटा गहिरो अस्वीकारको छायाँ पर्छ ।

तर हामीले विश्व चलचित्र बजारतिर हेर्याैँ भने अभिनयलाई केवल प्रतिभा होइन, विधिवत् अध्ययन गर्नुपर्ने एक गहन अनुशासनका रूपमा प्रस्तुत गरेको देखिन्छ । युरोपेली रङ्गमञ्च परम्परा होस् वा अमेरिकाको ब्रोडवे, भारतीय नेशनल स्कुल अफ ड्रामा होस् वा इरफान खान र नवाजुद्दीन सिद्दीकीजस्ता नाम, यी सबैले अभिनयलाई सीप, अनुशासन र अध्ययनको विषय मानेका छन् । यही लहर नेपालसम्म पनि आइपुगेको छ । रङ्गमञ्चको माटोमा हुर्किएका कलाकारहरूले अहिले नेपाली चलचित्र उद्योगमा पृथक् अस्तित्व बनाएका छन् । अनुप बराल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, दिया मास्के, सौगात मल्ल, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, बुद्धी तामाङ, मेनुका प्रधान, नाजिर हुसेन—यी नामहरू केवल कलाकार होइनन्, अभिनयको विश्वविद्यालयजस्तै छन् । अभिनयमा अध्ययन, अन्वेषण र अभ्यास कति आवश्यक छ भन्ने उदाहरण हुन् यी पात्रहरू ।

जति कलाकार रङ्गमञ्चबाट चलचित्रमा आएका छन्, त्यति नै चलचित्रबाट रङ्गमञ्चतर्फ लागेका उदाहरणहरू भने विरलै छन् । तर अभिनेत्री रेखा थापा यस सन्दर्भमा अपवाद हुन् । एक समय नेपाली सिनेमा क्षेत्रको शिखरमा राज गरेकी थापा आज रङ्गमञ्चमा उभिएकी छिन् । ‘मिरा’ नाटकमार्फत उनले दर्शकहरूलाई भावनाको गहिराइमा डुबाएर अभिनयको नयाँ आयाम देखाइन् ।

रेखाले चलचित्रमा आफूलाई ‘हिरोइन मात्रै होइन, हिरो पनि हुन सकिन्छ’ भन्ने सन्देश दिइन् । तर रङ्गमञ्चमा उनले केवल अभिनय होइन, आत्मा देखाइन्—कला आत्मासँग जोडिन्छ भन्ने प्रमाण दिइन् ।

नेपाली रङ्गमञ्चको इतिहास हेर्ने हो भने यो राणा शासनभन्दा पनि पुरानो छ । तर नाटक र चलचित्र दर्शकको मानसिक बनावटमा एक खालको भिन्नता अझै बाँकी छ । चलचित्र हेर्न हल पुग्ने हजारौँ छन् तर नाटक हेर्न पुग्ने दर्शक हातको औँलामा गन्न सकिने अवस्थामा छन् । चलचित्र दृश्यको वैभव हो भने नाटक अनुभूतिको आलोक । चलचित्र आवाजको ध्वनि हो भने नाटक मौनताकै संवाद हो ।

तर समयसँगै सोच बदलिँदैछ । अभिनय सिकिन्छ, बुझिन्छ र पछ्याइन्छ भन्ने बुझाइ विस्तार हुँदैछ । ‘स्टेज’ केवल ‘रिहर्सल’ को नाम होइन, आत्मा अभिव्यक्त हुने सजीव मञ्च हो भन्ने चेतना बढ्दो छ ।

अब आवश्यक छ—अभिनयलाई सीपका रूपमा लिने, त्यसको अध्ययन र अनुशासनमा लाग्ने वातावरण बनाउने । किनभने अभिनय केवल दर्शकलाई मनोरञ्जन दिन होइन, समाजलाई ऐना देखाउन पनि हो । त्यो ऐनामा दर्शकले आफूलाई देखून्, समाज देखून्, अनि अभिनय मात्र होइन, कलाकारिताको अर्थ बदलियोस् ।

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया