तीन सयभन्दा धेरै पालिकाको बजेट सार्वजनिक : काठमाण्डौ र धरानसहित केही पालिकामा अन्योल

 असार ११, २०८२ बुधबार ७:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभरका सात सय ५३ मध्ये तीन सय ४० पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अझै चार सय १३ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् ।

कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये ६७  वटाले बजेट ल्याएका छन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशका एक सय ३६ पालिका मध्ये ४६ वटाले मात्रै प्रविष्ट गरेका तथ्याङ्क छ ।

त्यस्तै बागमतीका एक सय १९ मध्ये ५६, गण्डकीका ८५ मध्ये ४९, लुम्बिनीका एक सय ९ मध्ये ३८, कर्णाली प्रदेशका ७९ मध्ये ४३ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ४२ पालिकाले बजेट ल्याएका छन् । बजेट सभामा पेश गरेका कतिपय पालिकाले पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको छ ।

यसैबीच काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपािलकासहितका केही पालिकाले हिजो असार १० गते तोकिएको समयमा बजेट सभामा पेश गर्न सकेनन् ।

विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाले बजेट ल्याएका छन् । तर सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरपालिकाले भने आन्तरिक विवादका कारण समयसीमाभित्र बजेट ल्याउन नसकेको हो ।

पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ–आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार हिजो धेरैजसो पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ । 

 

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया