गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
मनोज दाहाल, सुनसरी
नेपालको सांस्कृतिक बनावट बहुरङ्गी फूलबारीजस्तै छ जहाँ प्रत्येक जाति, भाषा र परम्पराले आफ्नै ढङ्गमा राष्ट्रको आत्मा गढेका छन् । यही विविधता नेपाली समाजको पहिचान बनेको छ जसको सुगन्ध केवल चाडपर्व वा जात्रा उत्सवमा सीमित छैन, त्यो हाम्रा बोली, लवज, संस्कार र विश्वास प्रणालीमा गहिरो गरी बसिरहेको छ ।
समयसँगै नेपाली चलचित्रले पनि यो विविधतामा टेकेर हिँड्न थालेको छ। पछिल्ला वर्षहरूमा बनेका चलचित्रहरूले जातीय मौलिकतालाई सिनेमाको फ्रेममा उतार्ने प्रयास तीव्र पारेका छन् । लिम्बू समुदायको ऐतिहासिकता बोकेको उपेन्द्र सुब्बा निर्देशित 'जारी' जसको अहिले 'सिक्वेल' निर्माण भइरहेको छ । मगर समुदायको जीवनशैली झल्काउने अनिल बुढा मगर निर्देशित 'घरज्वाइँ', शेर्पा संस्कारलाई पर्दामा उतार्ने याम शेर्पा निर्देशित 'कार्साङ' साथै मोफसलमा नै निर्माण भएका तामाङ समुदायको मनोविज्ञान उजागर गर्ने 'चारदाम', 'अभियान' साथै थारु परम्परालाई समेट्ने छायाङ्कनरत पर्शुराम चौधरी निर्देशित 'बहुरिया' जस्ता चलचित्रहरूले केवल समुदाय विशेषको कथा मात्रै नभएर नेपाली सिनेमाको समग्र फलकलाई फराकिलो बनाएका छन् ।
तर यी सबै प्रवाहका बीच राई समुदायको पक्ष भने केही ओझेलमा परेको देखिन्थ्यो । २०५२ सालमा निर्माण भएको डिक बान्तवा निर्देशित राई भाषाको पहिलो चलचित्र 'सायाबुङ' पछि केही प्रयासहरू भए पनि उत्साह जनक देखिएको थिएन ।
समयक्रममा केही राई कलाकार र सर्जकहरूले प्रयास गरे पनि त्यो चेतनालाई गहिरो तहमा पुगेको महसूस थिएन । केही समयअघिको नवीन सुब्बा निर्देशित सफल चलचित्र 'गाउँ आएको बाटो' मा निम्न मध्यम वर्गीय राई परिवारको कथा प्रस्तुत गरिएको छ । तर त्याे समुदायको संस्कृति, परम्पराका कुरा चलचित्रमा समेटिएको छैन ।
यसैबीच राई समुदायको एक सशक्त आवाज बनेर चलचित्र ‘नाकछोङ’ को उदय भएको छ ।
नाकछोङ शब्दले आफैँमा गहिरो सांस्कृतिक अर्थ बोकेको छ। राई समुदायमा नाकछोङ भन्नाले कुलपूजाका प्रमुख, देवगुरु, आत्मिक सञ्चारक तथा परम्पराका संरक्षक जनाइन्छ । यो कुनै काल्पनिक पात्र होइन, पुस्तौँदेखिका विश्वास, विधि र परम्पराको सजीव प्रतिनिधि हो । चलचित्रको शीर्षकले नै यसको उद्देश्य र आत्मालाई सङ्केत गर्छ – यो केवल एउटा कथा होइन, यो जातीय चेतनाको पुनर्जागरण हो ।
चलचित्रका निर्माता ज्योतिराज राई भन्छन्, ‘नाकछोङ केवल सिनेमा होइन, यो हाम्रो समाजमा हराउँदै गएको आत्मिक अनुशासन, कुल मान्यता, रीतिरिवाज र पितृपूजाको पुनः स्मरण हो । आज आफ्नै समुदायले समेत भुल्न थालेको यस्ता मौलिकता हामी आफैँले संरक्षित नगरेसम्म हाम्रो इतिहास ओझेलमा पर्नेछ ।’
चलचित्रको निर्देशन किरण राईले गरेका छन् जसले यसअघि ‘लुङा’ र ‘जिउपैचो’ जस्ता सशक्त सिनेमाका माध्यमबाट आफ्नो पृथक निर्देशकीय दृष्टिकोण देखाइसकेका छन् । यस चलचित्रमा उनले लेखन, निर्देशन दुई वटै पक्षमा हात हाल्दै एक गहिरो कलात्मक र संवेदनशील सन्देश दिन खोजेका छन् ।
भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, जेशन राईलगायत कलाकारहरूको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ । विशेषगरी बाल कलाकारको अभिनयले दर्शकको मन छुने संवेदनशीलता दिन्छ ।
चलचित्रको दृश्य र ध्वनि पक्षले समेत कथा बोल्छ । छायाङ्कनमा बाबु श्रेष्ठको अनुभवी दृष्टिकोणले हिमाली सौन्दर्य मात्र होइन, संस्कृतिको आत्मालाई समेत क्यामेराको लेन्समा कैद गर्न सफल देखिन्छ । पार्श्वसङ्गीत मोनिष निरौलाले तयार पारेका छन् भने सागर अर्यालको ध्वनि संयोजनले चलचित्रको भावभूमिलाई अझ जीवन्त बनाएको छ । गीत-सङ्गीत पक्षमा राजन मुकारुङ र विष्णु किराँतीको शब्दमा दिनेश काजी वान्तवा, अनिल कोई राईको सङ्गीत र नोगेन लिम्बु तथा परेस राईको स्वरले कथालाई सङ्गीतमार्फत आत्मा दिने प्रयास गरेको छ ।
‘नाकछोङ’ केवल राई समुदायको संस्कृति चित्रण गर्ने माध्यम होइन, यो समग्र नेपाली समाजमा जातीय पहिचान, मौलिकता र परम्पराप्रतिको सम्मानबोध जगाउने चलचित्र हो । यहाँ प्रस्तुत गरिएका विधि, पूजापाठ, कुल परम्परा, विवाह र मृत्यु संस्कार, चाडपर्व र धार्मिक विश्वासहरूले राई समुदायको जीवन दर्शन झल्काउँछन् ।
हिमालको काखमा जन्मिएको संस्कृति, जरा र मुटुमा गाडिएको परम्परा र देवताहरूसँगको आत्मीय सम्बन्ध ‘नाकछोङ’ मा सिनेम्याटिक शैलीमा पुनर्जीवित गरिएको छ ।
यस चलचित्रको सार्वजनिक प्रदर्शन मिति अझै तय नभए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउने तयारी भइरहेको छ । निर्माता ज्योतिराज राईले यसअघि ‘लुङ्गा’, ‘सङ्गम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’ र ‘वान वे प्रोड्यूसर’ जस्ता चलचित्र निर्माण गरी सशक्त निर्माता भएर पहिचान बनाइसकेका छन् ।
‘नाकछोङ’ सम्भवत: उनको सबैभन्दा गहिरो, भावनात्मक र सांस्कृतिक सिर्जना हो – जहाँ चलचित्र केवल दृश्यको सङ्ग्रह होइन, सम्पूर्ण जातीय आत्माको प्रतिबिम्ब हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।