सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
निजामती विधेयकको कुलिङ पिरियडको व्यवस्थामा ‘बाहेक’ शब्द कहाँबाट कसरी घुस्यो ? नेताहरुले यसको, उसको, त्यसको, सबैलाई हेरे । शौचालय पसेर भित्ताको ऐनामा आफ्नो अनुहार पनि हेरे । बाहेक शब्द आफैंले घुसाएको थाहा छ, मैले हो भन्न मिलेन । उसले मिसाएको पनि थाहा छ, उसैले हो भन्न पनि सकिएन ।
मैले नै हो भन्न पनि नमिल्ने, उसले हो भन्न पनि नसकिने भएपछि पहिले जस्तै सामसुम पार्न छामछुम समिति बनाउने निर्णय भयो । त्यसपछि हातको हत्केला दुख्नेगरी टेबल ठोकेर पास गरेको विधेयकमा कसले कसरी बाहेक शब्द घुसाएर कुलिङ पिरियड गायब पार्यो भन्ने विषयमा गरमागरम छलफल शुरु भयो ।

‘ठूलाबडा कर्मचारीले रिटायर्ड भएको दुई वर्षसम्म र्याल नचुहाउन् भनेर राखेको व्यवस्थामा कसले र्याल मिसायो ?’
‘बन्द गरेर पठाएको विधेयकको खामभित्र कसले बाहेक शब्द मिसायो ?’
‘बिर्को लाको चिनीमा जसरी कमिला पस्यो, बिर्को लाको विधेयकमा पनि त्यसरी नै बाहेक शब्द पस्यो होला ।’
‘त्यसो भए बिर्को लाको चिनीमा कसरी पस्यो त कमिलो ?’
‘त्यो त अहिलेसम्म कसैले पत्ता नै लगाउन सकेको छैन ।’
‘त्यसो भए पहिले त्यही पत्ता लगाउँ न । बिर्को लाको चिनीमा कसरी कमिलो पस्यो भन्ने पत्ता लागेपछि विधेयकमा कसरी घुस्यो बाहेक भन्ने शब्द, त्यो सजिलै थाहा हुन्छ ।’
‘चिनी उखुबाट बन्छ । उखुमा पहिले नै कमिलोको गुँड थियो । गुँड भएपछि फुल पनि थियो होला । उखु काटेर चिनी मिलसम्म लैजाँदा फुल पनि सँगै गयो । उखु पेलेर चिनी बनेपछि फुल चिनीमै मिसियो । अनि त्यो चिनी बट्टामा प्याक गर्दा कमिलोको फुल पनि बट्टाभित्र प्याक भयो । प्याक भएको त्यही फुलबाट चिनीमा कमिलो बन्यो । कमिलो ठूलो भएपछि बिर्को लाको चिनीमा देखियो ।’
‘उखु काटेर मिलमा लगेर चिनी बन्ने बेलासम्म त कमिलोको फुल नष्ट भैसक्छ, त्यसरी हैन ।’
‘त्यसो भए कसरी त ?’
‘चिनी पकाउनुअघि उखुको रसबाट खुदो बनाउनुपर्छ । त्यही खुदो बनाउने बेलामा कमिलो आयो । अनि चिनी बनाउने क्रममा कमिलो पनि सँगै मिसियो । अनि चिनी तयार हुँदा चिनीसँगै कमिलो पनि बिर्कोभित्र पस्यो ।’
‘खुदोबाट चिनी बन्ने बेलासम्म चाहिँ कमिलो जिउँदै हुन्छ होला नि ? नचाहिने कुरा ।’
‘त्यसो भए के त के ?’
‘जाबो त्यो कमिलोको कुरामा खुदो पकाउने ठाउँ र उखुबारीसम्म पुग्नै पर्दैन । त्यही चिनीमिलसम्म पुग्दा हुन्छ । मिलभित्र चिनी भएको ठाउँमा कमिलो पुग्यो । अनि बट्टामा चिनी हाल्दा सजिलै कमिलो पनि बिर्कोभित्र पस्यो ।’
‘यो पनि मिलेन साथी हो । चिनी प्याक गर्ने बेलामा कमिला, धमिरा, फोहोरमैला भए, नभएको हेरिहाल्छन् नि । जानीजानी, देखीदेखी पनि कसैले चिनीसँगै कमिलो पनि बिर्कोभित्र राख्छ त ?’
‘ए ल थाहा भयो । चिनी मिलमा प्याक गर्ने क्रममा जानीजानी त कसैले कमिला बिर्कोभित्र राख्दैन । तर त्यही थुप्रोमा कमिलोसँगै कमिलोको फुल पनि हुन्छ । फुल सानो हुने भएकाले देखिंदैन । बिर्कोभित्र कमिला नपरे पनि फुल चाहिँ पर्ने भो । अनि त्यही फूल पछि गएर कमिलो बन्छ र बिर्कोभित्र देखिन्छ ।’
‘बिर्को लाको भाँडामा कमिलो पस्न उखुबारीदेखि चिनी मिलसम्म पुग्नै पर्दैन साथी हो । भारतबाट तेल भरेर, माथि बिर्कोमा सिल गरेर डिपोतिर पठाउँदा ट्याँकरबाट बाटैमा तेल चोरी भएको सुन्नुभएको होला नि ? चामल प्याक गरेर सिलाएको बोराबाट बाटैमा चामल गायब भएको पनि थाहा नै होला । पसलमा बिर्को लाएकै भाँडाबाट तेल, मसला हराउँछ । अनि बिर्को लाको चिनीमा कमिलो पस्नु कुन ठूलो कुरा भयो र ? पसलमा राखेकै ठाउँमा बिर्कोभित्र कमिलो छिर्यो ।’
‘यो त आग्रा र गाग्राको कुरा भयो साथीहरु । बिर्को लाको या सिल लाको भाँडाबाट सामान चोरी हुनु या हराउनु र बिर्को लाको चिनीमा कमिलो पस्नु फरकफरक कुरा हो । यहाँ कसैले कमिलो पसाएको कुरा हैन, कमिलो आफैं कसरी पस्यो भन्ने कुरा हो ।’
‘ठूलठूला किरा फट्याङ्ग्रा बोक्न सक्ने कमिला आफैंले बिर्को खोलेर भित्र पसेको पनि हुनसक्छ ।’
‘वाहियात कुरा । कमिलोले कसरी बिर्को घुमाएर खोल्न सक्छ ? अनि बिर्कोभित्र पसिसकेपछि बाहिरबाट फेरि कसरी बिर्को घुमाएर बन्द गर्न सक्छ ?’
‘पसलेले नै कमिलो पसाएको पनि हुन सक्छ नि । चिनीसँगै कमिलो भएपछि तौल बढ्ने भो, अनि जोखेर दिंदा नाफा हुन्छ ।’
‘यो तर्क पनि मिलेन । कमिलोले आफ्नो तौल बराबर चिनी खाइहाल्छ । अनि कमिलो नहुनु र हुनुमा तौल घटबढ हुने कुरो भएन ।’
‘यस्ता हावा कुरामा समय खेर नफालौं न साथी हो । जेरीभित्र चास्नी पस्नु, नरिवलभित्र पानी पस्नु, अनि चिनीभित्र कमिलो पस्नु आश्चर्य नभएर स्वभाविक कुरा हो । चिनी भएपछि कमिलो जसरी पनि बिर्कोभित्र पस्छ । त्यहीँ बस्छ, रमाउँछ ।’
‘ल ठ्याक्कै कुरा यही हो । चिनीमा कमिलोको आकर्षणजस्तै हो अवकासपछिको नियुक्ती पनि । चिनी देखेपछि कमिलो जसरी बिर्कोभित्र पस्यो, त्यसरी नै अवकासपछि अर्को नियुक्ती लिन निजामती विधेयकको कुलिङ पिरियडमा बाहेक शब्द घुस्यो ।’
‘त्यसैले बिर्कोभित्र कमिलो कसरी पस्यो भनेर खोज्नु र निजामती विधेयकमा बाहेक शब्द कसरी छिर्यो भनेर टाउको दुखाउनु हात्ती र हात्तीछाप चप्पलजस्तै हो ।’
निजामती विधेयकमा बाहेक शब्द बिर्को लागेको चिनीमा कमिला पसेभन्दा सजिलै पसेको थाहा पाएपछि सामसुम समितिको पनि काम सकियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
