‘कोशीले बनाउँछ सिनेमा’ : इटहरीमा सम्पन्न भयो तीन दिने गोष्ठी

 असार २३, २०८२ सोमबार २२:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मनोज दाहाल

सुनसरी - नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको आयोजना र नेपाल चलचित्र निर्देशक समाजको सहकार्यमा इटहरीमा तीन दिने विशेष सिने–प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।

सम्पन्न कार्यशालाले नेपाली चलचित्र क्षेत्रलाई नयाँ ऊर्जा र दिगो दिशातर्फ डोहोर्याउने सङ्केत दिएको छ । ‘कोशीले बनाउँछ सिनेमा’ भन्ने शीर्षक बोकेको कार्यक्रम असार २० गतेदेखि इटहरीको उत्सव होटलमा शुरू भएको थियो ।

चलचित्र निर्माणको आधारभूत पक्षहरूबारे गहिरो अध्ययन र व्यावहारिक अभ्यास गराइएको यो कार्यशालाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको थियो । कार्यशालाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सिनेमाले समाजलाई केवल मनोरञ्जन नभई विचार र चेतनाको उज्यालो दिन्छ । अब कोशी प्रदेश आफ्नै सिनेमा बनाउन सक्ने ठाउँका रूपमा स्थापित हुँदैछ । प्रदेश सरकारले सिर्जनशील यात्रामा सधैँ साथ दिनेछ ।’

मन्त्री भण्डारीले चलचित्रजस्तो सशक्त माध्यममार्फत समाजका विषयवस्तुहरूलाई सशक्त रूपमा चित्रण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका बहुप्रशंसित निर्देशक तथा लेखक मनोज पण्डितले 'सिमेमा बेसिक्स' शीर्षकमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले चलचित्र निर्माणका आधारभूत पक्षहरू—दृश्य भाषा, कथा शिल्प, छायाङ्कन, सम्पादन र निर्देशनका विविध आयामहरूबारे गहिरो दृष्टिकोण दिनुका साथै सहभागीहरूलाई व्यावहारिक अभ्यासमा समेत संलग्न गराउनुभयो ।

तीन दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म अविरल चलेको प्रशिक्षण सत्रमा २० जना सहभागी भएका थिए । उनीहरूले चलचित्र सिर्जनामा नयाँ सोच, गहिरो दृष्टि र व्यावसायिक जिम्मेवारी बोक्ने क्षमता विकास गर्न सफल भएको महसूस गरे । नेपाली सिने क्षेत्रलाई सबलीकरण गर्दै सिर्जनशील प्रतिभाहरूको अभिव्यक्तिका लागि यो कार्यशाला महत्त्वपूर्ण ढोका बन्न पुगेको छ ।

गोष्ठीको समापन समारोहमा जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष राजन मेहेताले भन्नुभयो, ‘चलचित्र केवल मनोरञ्जन होइन, समाज रूपान्तरणको अत्यन्त प्रभावकारी माध्यम हो । यस्ता सिर्जनात्मक अभ्यासहरूबाट समाजका कथाहरू संसारभर पुर्‍याउने बाटो खुल्छ । कोशी प्रदेश चलचित्र र संस्कृतिको समृद्ध थलो बन्दै जानुपर्छ ।’

कार्यशालाका सहभागीहरूले समेत प्रशिक्षणबाट प्राप्त गरेका अनुभवहरू सुनाउँदा गोष्ठीको प्रभाव अझ स्पष्ट देखिएको थियो । अनाम नाट्य समूह धरानका अध्यक्ष विजय संयोजक सुब्बाले कार्यशालाले आफूहरूमा नयाँ दृष्टिकोण र आत्मविश्वास थपेको बताउनुभयो । तामाङ चलचित्र सङ्घ कोशीका अध्यक्ष एवम् निर्देशक भीम लामाले क्षेत्रीयस्तरमै यस्ता तालिमहरू सञ्चालन हुनुले स्थानीय प्रतिभाहरूलाई उजागर गर्न मद्दत पुगेको धारणा राख्नुभयो । कलाकार राधा चौधरीले चलचित्र निर्माणको गहिरो पक्ष बुझ्न पाएको बताउँदै प्रशिक्षणको गुणस्तरप्रति प्रशंसा प्रकट गर्नुभयो ।

कार्यक्रमका आयोजक नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले कार्यशालाको बारेमा भन्नुभयो, ‘यो त शुरुआत मात्र हो । अब कोशी प्रदेश चलचित्र सिर्जनाको भूमिमा रूपान्तरण हुनेछ । यहाँका युवाहरूले आफ्नै ठाउँमा बसेर अन्तर्राष्ट्रियस्तरका चलचित्र निर्माण गर्ने दिन टाढा छैन । हामी प्रदेशलाई चलचित्रमय बनाउने दिशामा निरन्तर लागिरहनेछौं ।’

तीन दिनको यो यात्रा केवल तालिममा सीमित रहेन, यो एउटा सपना बोकेको अभियान बन्यो । सहभागीहरूका आँखामा भविष्यका चलचित्रहरू निर्माण गर्ने चमक देखिन्थ्यो, अनि प्रशिक्षकहरूका शब्दहरूमा नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्‍याउने अठोट सुनिन्थ्यो ।

‘कोशीले बनाउँछ सिनेमा’ गोष्ठीले सिर्जनशीलताको बीउ रोप्यो जहाँबाट आउने दिनमा नेपाली चलचित्रको पृथक् र पहिचानयुक्त बगैँचा फुल्ने आशा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया