सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
– मनोज दाहाल, सुनसरी
कुनै समय थियो, जब चलचित्रका ट्रेलरहरू हलका पर्दामा मात्र देखिन्थे । कलाकारको पहिचान रेडियोका आवाज र पत्रपत्रिकाका स्तम्भमा सीमित थियो ।
चलचित्र प्रदर्शन हुने दिन एउटा चाडजस्तै मानिन्थ्यो। टिकट लिनका लागि हलबाहिर घण्टौं लाइन लाग्थ्यो, अनि चलचित्र सफल भयो कि भएन भन्ने मूल्याङ्कन पत्रकार वा समिक्षकहरुको समिक्षामा निर्भर हुन्थ्यो। तर आज, हातमा मोबाइल लिएर फेसबुकको स्क्रोल, टिकटकको ट्रेन्ड, र युट्युवको सन्दर्भविना चलचित्रको कल्पना पनि गर्न गाह्रो भइसक्यो।
सामाजिक सञ्जाल शुरुआतमा केवल मनोरञ्जनको साधनमत्रै थियो । तर, आज नेपाली चलचित्र उद्योगको मेरुदण्डजस्तै बनिसकेको छ सामाजिक सञ्जाल । यो केवल प्रचार-प्रसारको माध्यम मात्र हैन अब त यसले चलचित्रको भाग्य निर्धारण गर्नेसम्मको शक्ति आर्जन गरिसकेको छ।
अहिले चलचित्र निर्माणकर्ताहरू कलाकारको अभिनय क्षमता हेर्नुभन्दा पहिले उनीहरुको सामाजिक सञ्जालको ‘इन्फ्लुएन्स’ हेरिरहेका छन् । ‘फलानोको टिकटकमा यति फ्यान छन्’, ‘फलानोले फेसबुकमा पोस्ट हालेपछि तुरुन्त हजारौं प्रतिक्रिया आउँछ’ ।
चलचित्र निर्माण पूर्व नै यस्ता संवाद अहिले सामान्य विषय बन्न थालेका छन् । केवल पर्दाको अभिनयले मात्र हैन, फोनको स्क्रिनमा देखिने उपस्थितिले पनि अब कलाकारको बजार मूल्य निर्धारण गर्न थालेको छ ।
सामाजिक सञ्जालले प्रचारको रफ्तारलाई नयाँ आयाम दिएको छ। चलचित्र रिलिज हुनु अगावै ‘बिहाइन्ड द सीन’ क्लिपहरू, कलाकारका डान्स कभर, ट्रेन्डिङ टिकटक च्यालेन्जहरू र लाइभ अन्तर्वार्ताहरूले दर्शकको मनमा उत्सुकता सिर्जना गर्छन्।
यसले हलसम्म दर्शक ल्याउने प्रेरणा जगाउँछ। तर यति सजिलो प्रचारसँगै, ‘ओभरप्रोमिस र अन्डरडेलिभर’ को दोष पनि बढेको देखिन्छ। जहाँ सामाजिक सञ्जालले आशाको उज्यालो देखाउँछ, त्यहीँ कहिलेकाहीँ नकारात्मक टिप्पणी, ट्रोल र ‘हेट क्याम्पेन’ ले कलाकार र निर्माण टिमको मनोबल भत्काइदिन्छ ।
एक सेकेन्डको ‘कट-पेस्ट’ भिडियो, कुनै वाक्यलाई तोडमरोड गरेर बनाइएको मेम वा ट्रोल, यस्ता सामग्रीले कलाकारको पहिचान, चलचित्रको गरिमा र श्रमलाई अपमानित गर्न सक्छ। यस्तो अवस्थामा डिजिटल मर्यादा, आलोचना र गालीको सीमारेखा छुट्याउनुपर्ने आवश्यकता झन तीव्र बन्दै गएको छ ।
डिजिटल प्लेटफर्महरूको विस्तारसँगै अब हलको सिटभन्दा मोबाइलको डाटामा भीड बढी देखिन थालेको छ। ओटीटी प्लेटफर्म (जस्तै नेटफ्लिक्स, इमेजिनेशन, नाटक.कम, बिंगे) का माध्यमबाट नेपाली चलचित्र अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने मार्ग खुल्दैछ । अबको पुस्ता मल्टिप्लेक्सभन्दा बढी टिकटक क्लिपमा रमाइरहेको छ। यसलाई बुझेर चलचित्रको प्रस्तुति, कथा र शैली निर्माण गर्नु आजको आवश्यकता हो ।
इतिहास: रेडियोदेखि रङ्गीन पर्दासम्मको यात्रा
नेपालमा चलचित्र निर्माणको शुरुवात २०२१ सालमा ‘आमा’ चलचित्रबाट भएको हो। 'आमा' २०२२ साल असोज १५ गते प्रदर्शनमा आएको थियो । त्यो समय आजभन्दा धेरै फरक थियो। न डिजिटल माध्यम थिए, न टेलिभिजन, न मोबाइल । सूचना प्रवाहका लागि एउटै माध्यम थियो, रेडियो नेपाल । त्यो पनि सामान्य मानिसको पहुँचमा हुने कुरै भएन । चलचित्र बन्नु मात्र ठूलो कुरा थियो, त्यसको प्रचारप्रसार त भान्सा र गल्ली हुँदै कानै-कान पुग्थ्यो ।
त्यो युग शब्दको युग थियो, जहाँ कलाकारको नाम सुन्नु गर्वको कुरा मानिन्थ्यो र अनुहार देख्न पाउनु सौभाग्य। हलसम्म पुग्नु भनेको केवल चलचित्र हेर्नु मात्र हैन, नयाँ जीवन अनुभव गर्नु जस्तै हुन्थ्यो । गाउँगाउँमा पोस्टर टाँस्ने काम आफैँमा एउटा चहलपहल हुन्थ्यो ।
चलचित्रका समाचारहरू रेडियो नेपालको साँझको बुलेटिनमा प्रसारण हुन्थे । समाचारको अन्त्यतिर भनिन्थ्यो ‘भोलिदेखि देशभरिका सिनेमा घरहरूमा चलचित्र ‘माइतीघर’ प्रदर्शन हुँदैछ...’ अनि त्यो एक वाक्यले सयौं दर्शकको मनमा उत्साहको तरङ्ग ल्याउँथ्याे ।
त्यो बखत चलचित्र केवल मनोरञ्जनको साधन थिएन, त्यो जनताको भोगाइ, सपना र सङ्घर्षको प्रतिबिम्ब थियो । मानिसहरू हलमा गइकन हास्थे, रुँन्थे, केही सिक्थे अनि घर फर्किँदा त्यो अनुभव जीवनको कथाजस्तै सुनाउँथे ।
अझ सम्झनलायक कुरा के थियो भने, चलचित्र रिलिज हुनु अघि कुनै ‘भ्यू काउन्ट’ हुन्नथ्यो, ट्रेलर सार्वजनिक हुँदैनथ्यो, कुनै फ्यान पेज वा टिकटकको ट्रेन्ड कल्पना भन्दा बाहिरको कुरा हो । चलचित्र हेरेपछि 'केसरी देउता जस्तो थियो त!' भन्दै फर्किएका दर्शक नै त्यसका समीक्षक थिए ।
आज जुन प्रविधि छ, त्यो सहज लाग्न सक्छ। तर, त्यो समयको सिर्जनशीलता, त्याग, र दर्शकको निष्ठा एक प्रकारको आध्यात्मिक सम्बन्ध जस्तै थियो चलचित्रसँग। प्रचारका साधन सीमित थिए, तर चलचित्रप्रेमीहरूको भावना सीमित थिएन।
यही मौलिक यात्राले नै नेपाली चलचित्र उद्योगको आधार निर्माण गर्यो। आज डिजिटल छतमुनि बसेर चलचित्र हेर्नु सजिलो लाग्ला, तर त्यो जमिनबाट उठेको रङ्गीन पर्दाको यात्रा स्मरणीय छ – शुद्धता, साधना र संवेदनाको सुगन्धले भरिएको ।
वर्तमान: एउटा ‘रिल’ले हिट बनाउने, एउटा ‘कमेन्ट’ले डुबाउने
आजको युग दृश्यको होइन, डिजिटल उपस्थितिको युग हो । क्यामेराको अगाडि भन्दा पनि मोबाइलको फ्रन्ट क्यामेरामा देखिने ‘रिल’ले नै अब कलाकारको जीवनगाथा लेख्न थालिसकेको छ ।
एउटा छोटो क्लिप, केही सेकेन्डको नाच वा संवाद, त्यो नै चलचित्रको प्रवेशद्वार बन्न पुगेको छ। अब प्रचारप्रसारका लागि ठूला ब्यानर र विज्ञापन बोर्डको जमाना छैन, बरु ‘ट्रेन्डिङ’ मा परेको एउटा भिडियो क्लिपले हलसम्म दर्शक तान्न सक्छ, र कहिलेकाहीँ हल नै भरिन्छ कि रित्तिन्छ भन्ने ‘निर्णायक क्षण’ त्यही क्लिपले तय गर्छ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिन एक क्लिक मात्रै लाग्छ, तर त्यसको प्रभाव गहिरो हुन्छ। एक सकारात्मक प्रतिक्रियाले चलचित्रलाई आकाशतिर उचाल्न सक्छ भने, एक नकारात्मक कमेन्टले सबै मेहनत पानीमा हाल्न सक्छ ।टिकटकमा हजारौं अनुयायी भएका कुनै प्रयोगकर्ताले बनाएको सानो ट्रेन्डले चलचित्रलाई ‘फोकस’ मा ल्याउन सक्छ, अथवा गम्भीर कलाकारिता पनि ट्रोलको पात्र बन्न सक्छ।
अहिले निर्माता–निर्देशकको मीटिङमा कथा भन्दा पहिले ‘भाइरल कन्टेन्ट के बनाउने?’ भन्ने प्रश्न उठ्छ। कलाकारको चयनमा अभिनयभन्दा पहिले ‘फ्यान बेस’ को मूल्याङ्कन हुन्छ। समिक्षकहरूको गम्भीर विश्लेषण आउनु अगावै, सामाजिक सञ्जाल प्रयोगकर्ताको जथाभावी टिप्पणीले चलचित्रलाई ‘फ्लप’ वा ‘हिट’ को ट्याग दिइसकेको हुन्छ।
अचेल चलचित्र हलमा जानु, अनि घर फर्किएर प्रतिक्रिया लेख्नु सामान्य होइन, ‘सजग सिने दर्शक’ को नयाँ रुप हो। एक आम प्रयोगकर्ताको अभिव्यक्ति लाखौंको मनोभावसँग मेल खान्छ, र चलचित्रको बजार त्यसैको लहरमा हिँड्छ । साँचो अर्थमा भन्नुपर्दा, अहिलेको समय चलचित्र निर्माण मात्र होइन, त्यसको ‘डिजिटल कथा’ लेख्ने क्षण हो, जहाँ पर्दा र फोनको स्क्रिनको दूरी हराउँदै गएको छ ।
भविष्य: ‘डिजिटल पर्दा’मै चम्किने ‘रजतपट’
आगामी दिनहरूमा सामाजिक सञ्जाल नेपाली चलचित्रका लागि झन गहिरो खाडल हो वा उज्यालो सुरुङ, यो चाल, प्रयोग र ईमानदारीमा भर पर्छ।
एकातर्फ डिजिटल प्रविधिले नयाँ प्रतिभालाई मौकाको ढोका खोलिदिएको छ भने अर्कोतर्फ छिटो भाइरल हुनकै लागि गरिएको हल्ला, विवाद र अतिरञ्जनाले चलचित्रको शुद्धताको गला घोट्न थालेको गुनासो पनि बढ्दैछ। तर, सम्भावना भने अपार छन् ।
अबको चलचित्र केवल हलमा हैन, मोबाइल स्क्रिनमा पनि बाँच्नेछ। डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली कथा पुर्याउन सकिनेछ। कलाकारहरू केवल पर्दामा हैन, ‘फोलोअर्स’को संसारमा पनि तारा बन्न सक्नेछन्।
डिजिटल माध्यमको विकाससँगै निर्माण, वितरण र प्रवर्द्धनको शैली नै फेरिँदै गएको छ। अब निर्माता तथा निर्देशकहरूले डिजिटलको स्वाद अनुसार सामग्री तयार पार्न थालिसकेका छन् ।
विशेष गरी छोटो कथा, वेब सिरिज, डकुमेन्ट्री र यथार्थपरक कथाहरूको माग बढ्दो छ। सस्तो लागतमा तयार भएका यस्ता सामग्रीले ठूलो सङ्ख्यामा दर्शकको मन जित्न थालेको देखिन्छ। यसले व्यावसायिक सम्भावना मात्र होइन, सामाजिक परिवर्तन र चेतना अभिवृद्धिको मार्गसमेत खोलेको छ।
अर्कोतर्फ, डिजिटल स्पेसमा प्रतिस्पर्धा पनि उस्तै तीव्र छ। गुणवत्तापूर्ण सामग्री विना टिकिरहन गाह्रो छ। त्यसैले, डिजिटलमा टिक्न चाहने सर्जक वा कलाकारले अब पनि उत्तिकै मिहिनेत, अनुसन्धान र लगानी गर्नुपर्नेछ। जथाभावी बनाइएका भिडियोलाई दर्शकले चाँडै छाड्ने प्रवृत्ति देखिन्छ। यसैले, डिजिटल अवसर भए पनि चुनौतीको अर्को नाम पनि हो ।
यसो हुँदाहुँदै पनि, नेपाली चलचित्रका लागि डिजिटल प्लेटफर्मले नयाँ युगको ढोका खोलेको छ। हिजो हलसम्म सीमित रहनुपरेका कथा अब विश्वभरि फैलिन थालेका छन् । भिजिट गर्ने युट्युब च्यानल, ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले आफ्ना दर्शक बढाउँदै लगेको छ।
डिजिटल प्रविधि र प्लेटफर्म नेपाली चलचित्रका लागि खतराभन्दा बढी अवसर हुन्। आवश्यक कुरा हो, प्रयोगमा पारदर्शिता, सामग्रीमा मौलिकता, र प्रस्तुतिमा इमानदारी । यिनै मूल्य र विवेकले नेपाली ‘रजतपट’लाई ‘डिजिटल पर्दा’मै नयाँ जीवन दिनेछन्। समयअनुसार परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्न सके, अबको भविष्य स्क्रिन साइजले होइन, कथा र कलाले निर्धारण गर्नेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।