सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
कुरा २४/२५ वर्ष अगाडिको हो । जुन बेला शैक्षिक सत्र पुसबाट शुरू हुन्थ्यो । जेष्ठ महिनामा अर्धवार्षिक परप्क्षा भएर असारबाट लगभग २ महिना बर्खे बिदा हुन्थ्यो । स्कुल कहिले बिदा हुन्छ र खेल्न पाइन्छ भन्ने लाग्थ्यो । तर यो बेला भने कहिले मुसलधारे त कहिले सिमसिम पानी परिरहने, घरमा खेतीपाती लगाउने चटारो, घाँस स्याउला काट्नुपर्ने, जताततै हिलैहिलो हुने, जुका लाग्ने समयमा यति लामो बिदा हुँदा पनि खासै रमाइलो लाग्दैन थियो । बेसीमा भन्दा लेकमा खेती लगाउने सिजन अलि छिटै शुरू हुने हुँदा अझ नेचाको माथिल्लो क्षेत्रका विद्यालयहरू जेष्ठको अन्तिम तिरबाटै बिदा हुन्थे । कहिलेकाँही त विद्यालय बिदा हुन १/२ दिन बाँकी हुँदै घरमा कोदो रोपाइँको मेलो शुरू हुने हुँदा स्कुल छोड्नु पर्थ्याे । जसले गर्दा बर्खे बिदाको होमवर्क ल्याउन पाइँदैन थियो ।
फाट्टफुट्ट मेलापातको काम सघाउने बाहेक बिहान एक भारी घाँस ल्याउने, दिउँसो वस्तु बाख्रा चराउने, बेलुका एक भारी स्याउला ल्याउने काम नै मुख्य हुन्थ्यो त्यो बेला । डोकोको पिँधबाट पानी चुहाँउदै घाँस बोक्दाको पीडा अहिले सम्झिँदा रोचक कथा झैँ लाग्छ । उद्यान ढुङ्गा, बिरोले गैरा, पाथिभरा भीरमा घाँस काट्न जाँदा विष्ट काका, भण्डारी हजुरबा, वीरबल र बिर्खबहादुर राई हजुरबा, तिङ्लाल्नी हजुरआमाहरूले सुनाएका दन्त्य कथा, भूतका कथा, कालिमसानका कथा साँच्चै झैँ लाग्थ्यो । राति सम्झियो भने डरले निद्रै लाग्दैन थियो । घाँस काट्न जाँदा गीता, सीता, कमला दिदीहरूले भारी पुर्याइसक्दा मेरो भने निम्ठो डोको भएकै हुँदैन थियो । अनि सबैले यो अल्से भन्दै घाँस काटेर भारी पुर्याई दिनु हुन्थ्यो ।
एक दिनको कुरा हो, हामी उद्यान ढुङ्गामा घाँस काट्दै थियौँ । लगभग भारी पुग्नै लागेको थियो । पाथिभरा भीरतिर कोही रुँदै कराउँदै गरेको आवाज आयो । कहाँ के भयो भनेर बुझ्दा घाँस काट्ने क्रममा कोलढुङ्गा भेषनाथ कट्टेलकी बहिनी भीरबाट लडिछिन् । त्यसैले बिचरा साथमा भएकी आमाले रुँदैै चिच्याउँदै सहयोगको याचनाका लागि कराएकी रहिछिन् । वरपर भएका २÷४ जना ठूला मान्छेहरू जम्मा भए, हामी केटाकेटीहरूमाथि डिलमा बसेर हेर्ने मात्र भयौँ । १/२ घण्टाको कठिन परिश्रमपछि भीरको अक्करबाट क्षतविक्षत भएको लाश निकाले, त्यति बेलासम्ममा गाउँबाट पनि एक÷दुई जना ठूला मान्छेहरू कोदालो, झम्पल, सेतो कपडा र एक मानो चामल लिएर आइपुगे । सबै मिलेर त्यहीँ ढुङ्गाको च्यापमा अन्त्येष्टि गरिदिए । छोरीसँगै घाँस काट्न गएकी आमालाई आफैँले बोकेर लगेको डोकोमा अचेत अवस्थामा बोकेर गाउँलेहरू घर फर्किए । त्यो घटना देखेदेखि भीरमा घाँस काट्न जानै डर लाग्थ्यो ।
अहिले असार लागेर दर्के पानी पर्दा त्यो बेला वस्तु बाख्रा चराउन जाँदाका थुप्रै स्मरणीय घटनाहरू ताजा बनेर मनसपटलमा दौडिन्छन् । बिरोले भीर, जुरेले भीर, सिधारे भीर हामीले दैनिक वस्तु बाख्रा चराउने क्षेत्रहरू हुन् । रोचक कुरा त हामी सोलुखुम्बु जिल्लाबाट माथि उल्लिखित ओखलढुङ्गाको भूमिमा दैनिक वस्तु बाख्रा चराउन लान्थ्यौँ, ल्याउथ्यौँ । वस्तु बाख्रा भीरमा छोडेर हामी गोठालाहरू काफल, ऐँसेलु, गोलकाँक्री, पुरुनी, बाँदर बेटी, गुहेली (मललिडो) खान थाल्थ्यौँ । कहिले कालिज लखेटेर मार्ने, समाउने, कहिले मृग घोरल कुदाउने गथ्र्याैँ । एक दिन बेलुका गाईवस्तु जम्मा गरेर घर खेद्न खोज्दा विष्णु बडिबुबाको एउटा बाख्रो भेटिएन । घरमा साना जुम्लिया पाठा भएको ठूलो बाख्रो नभेटिएपछि भीम रुँदैरुँदै घर आउनु पर्याे । भोलिपल्ट बिहान बढिबा, काकाहरू खोज्न जाँदा बाघले खाएर खुट्टा र आन्द्राभुँडी मात्र छोडेको रहेछ रे । त्यसपछि त्यतातिर बाख्रा चराउन लानै छोडियो ।
बाख्राबस्तु चराउन छोडेर हामी घर बनाउने, गोठ बनाउने, बिरुवा रोप्ने, चौतारो बनाउने, बाटो बनाउने खेल खेल्थ्यौँ । जसले गर्दा काम गर्ने बानी र सीपको विकास हुन्थ्यो । कहिले सुकेका पात्लेका रुखमा पलाउने च्याउ टिपिन्थ्यो । उक्त च्याउको स्वाद माछा मासुको भन्दा कम हुँदैन थियो । कहिले डाँडामा बसेर ओखलढुङ्गा र खोटाङका विभिन्न ठाउँको अवलोकन गर्दै “वरिपरि एक्का .... देख्खा” भन्ने खेल खेल्थ्यौँ । जसले छिटो र बढी ठाउँ देखाउँछ उनै प्रथम हुन्थ्यो । प्रथम हुनेले पुरस्कार स्वरूप गाईबाख्रा फर्काउन जानु पर्दैैन थियो । तल बग्ने दूधकोशी नदी र सिलौरी फाँटमा रोपाइँ गरेको हेथ्र्याैँ । कहिले आकाशमा उड्ने बौंडाई चरीलाई हेरेर “नाच बौंडाई नाच, पैसा दिउला पाँच” भन्थ्यौँ । नभन्दै बौंडाई चरी हाम्रै टाउकामाथि आएर नाचे झैँ गरी हामीलाई जिस्क्याउँथ्यो । हावाका झोक्काले उठाएका कुहिरोका थुम्काहरूलाई हेरेर “कुद कुहिरो कुद तेरा घर चोर पसो नाङला डाला ठटायो, बुढो भैँसी काटेर भारमा सुकायो कुद कुहिरा कुद” भन्थ्यौँ । एक दिन डाडागाँउ राजन हजुरबाको गाई भीरबाट लडेर ढाड भाँचिएछ । दुई दिनसम्म लडेकै ठाउँमा घास पानी खुवायौँ । तेस्रो दिन बाँसको खट बनाएर सबै गोठाला मिलेर गाई बोकेर घर ल्यायौँ । त्यसै बेला हो मैले कुनै पशु वा मान्छेको ढाड भाँचियो भने कति दुःख, पीडा र कारुणिक अवस्था हुन्छ भनेर बुझेको । दैवको खेला आज आफैँले त्यही पीडा र चोट सहनु परिरहेको छ ।
पानी परेको बेला बिरोले भीरको भ्यागुते ओडारमा बसिन्थ्यो । हरिया मकै, आलु पोलेर खाइन्थ्यो । भीरको टाकुरामा ५/७ जना मजाले बस्न मिल्ने, पानी नपर्ने अचम्मको थियो भ्यागुते ओडार । त्यस ओडारको नाम कसरी भ्यागुते रहन गयो कसैसँग आजसम्म सोधिएको छैन । एक दिन बिहान वस्तु बाख्रा लिएर जाँदा त्यो ओडारमा घोरल सुतिरहेको रहेछ । लगभग ३०० मिटर वरैबाट रेवत काकाले ढुङ्गो हान्नु भयो । ढुङ्गो घोरल सुतेभन्दा अलि माथि पहरामा लाग्यो । पहरो थर्केर आवाज भने निकै ठूलो आयो । सुतिरहेको घोरल तर्सेर अचानक हामफाल्दा तल सिस्नाघारीभित्र चुच्चे ढुङ्गामा परेछ । त्यो घाइते घोरल समाउन जाँदा हामी ५/७ जनालाई नै घोरलले लात्ताले हानेर सिस्नाघारीमा लडाउँदा उल्टै हामीलाई नै घाइते बनाएको अहिले झैँ लाग्छ ।
पानी परेका बेला मने हजुरबाले माया गर्दै बाँसको चोयाले बुनेको भोर्लाका पातले छापेको घुम ओडाउँदाको आनन्द अझै न्यानो लागिरहेको छ । त्यो घुम र एउटा भेडो भने हजुरबाका घनिष्ट हितैसी मित्र थिए । गोठालो आउँदा जहिल्यै घुम बोकेरै आउनु हुन्थ्यो । भैँसी, गाईगोरुका हुलमा एउटा मात्र भेडो पाल्नु उहाँको विशेषता थियो । खेमराज कट्टेलको पाटे गोरु र युवी राईको माले गोरु जुध्नमा निकै सिपालु थिए । एक दिन त माले गोरुले केदार भाइको सिदुरे गोरुको सिङ नै भाँचिदियो ।
झिमझिम पानी पर्ने, डम्म कुहिरो लाग्ने, बाटाभरि जुका लाग्ने, सम्झिँदा निकै कष्टकर थियो त्यो बचपन । बर्खामास वस्तु बाख्रा चराउने मने हजुरबा, अन्तरे पण्डित हजुरबा, कुईभीरे राई काका, वीरबहादुर खड्का काका, युवी (युवराज) राई, खेमराज कट्टेल, रेवत काका, फडिन्द्र काका, जोरमन तिङलाली, कर्ण, लीला भट्टराई, हरि कट्टेल, भगेन्द्र खनाल, रघु खनाल, कुमार विष्ट, चेतबहादुर भण्डारी, अडि भण्डारी, दीपक, भीम कट्टेल, केदार, एकराज, वसन्त, विनोद भाइहरूसँगको त्यो रमाइलो पल अहिले पनि असार लागेर पानी वर्षिन थाल्दा झलझली आँखामा आइरहन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जमरकट्टेल चोमोलुङ्मा फाउन्डेसन नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।