सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
मौसमविद्ले बर्खा लाग्नुअघि भनेका थिए, यसपालि छेलोखेलो हुने गरी पानी ओइरिन्छ । अन्तभन्दा मधेशमा केही कम पर्छ, तर रोपाइँ गर्न दुःख हुन्न । धेरै पढेलेखेका, आधुनिक प्रविधि जानेका, मौसमको लेखाजोखा गर्ने मात्रै जिम्मा पाएका सरकारी मौसमविद्ले भनेपछि पत्याउनै पर्याे । बाढी पहिरोको डरलाई सजिलै रोपाइँ गर्ने खुशीले जित्यो । खेतीपातीको काम गर्न सक्ने जहान, परिवार र छरछिमेकी विदेशतिरै भए पनि भुइँमान्छेले जसोतसो खनीखोस्री गरेर छिपछिपे हिलोमै खेत रोपे ।
खेत रोपेपछि पानी पर्छ भन्ने आश र धेरै पानी परेर खेतै बगाउने त्रास बराबरी थियो । तर आकाशतिर हेर्नै नसक्ने घाम चर्केर खेतमा धाँजा फाट्न थाल्यो । ब्याडमा पानी छम्केर जोगाएको धानको रोपो सुक्यो । पानी आउने आशमा आकाशतिर फर्कँदाफर्कँदै मुन्टो दुख्यो । हेर्दाहेर्दै इनार र चापाकल सुक्यो । न भात पकाउन र खान पुग्दो पानी छ, न खेतमा लगाउन । खेत भिजाउने मात्र होइन, घरखतै बगाउने पानी आउन सक्छ होशियारी भएर बस्नु भन्ने मौसमविद् र प्रशासन कहाँ गए ? भनेअनुसार पानी नपरेपछि मौसमविद्ले कुरा मिलाएर फेरि भनेछन् ‘पूर्वानुमान कहिलेकाहीँ ठ्याक्कै मेल खाँदैन, तर वर्षायाम बाँकी नै छ, कुनै न कुनै बेला ठूलो पानी त पर्छ ।’

ए वर्षायाममा कुनै दिन ठूलो पानी पर्छ भनेर भन्न मौसमविद् नै हुनुपर्दो रहेछ ! मौसमविद्का कुरा सम्झेर दिक्क मान्दै भुइँमान्छे खुइय सुस्केरा हालेर धाँजा फाटेको खेतमा थ्याच्च बसे । आकाशतिर फर्केर हात जोडे । त्यही बेला एउटा हेलिकोप्टर देखियो । विदेशतिर हेलिकोप्टरबाट पानी खन्याउँछ भन्थे । यहाँ पनि त्यसै गर्न लागेका हुन् त भनेर हेर्दा प्रधानमन्त्रीसहित मन्त्री र मधेशका नेताहरू रहेछन् । जे पनि गर्छाैँ भनेर भाषण गर्न सक्ने नेताहरूले धाँजा फाटेको खेतमा पानी खन्याउन के ठूलो कुरा भयो र ! भुइँमान्छेले आशा गर्न नभ्याउँदै प्रधानमन्त्रीले आश्वासन वर्षाए, मधेशमा तत्कालै पाँच सय डीप बोरिङ जडान गर्छाैँ ।
पानी चाहिएको छ अहिले । डीप बोरिङ बन्ने कहिले ? डीप बोरिङबाट पानी झरेर खेतमा लगाउने कहिले ? डीप बोरिङ बनाएर पानी आउने बेलासम्म रोपोको चिनोसमेत बाँकी हुँदैन । सरकारले उबेलादेखि बनाउँछु भनेका सिँचाइ आयोजनाहरू अझै अलपत्र छन् । भनेअनुसार गर्ने भए अहिले नदी खोलाको पानी सिँचाइ गरेर फाँट हराभरा हुन्थ्यो । एक/दुई हप्ता खडेरी परे पनि चिन्ता हुँदैन थियो । एक/दुई दिन पानी नपर्दैमा धाँजा फाट्दैनथ्यो । तर सरकारकै अक्षमताका कारण सिँचाइ आयोजना वर्षौंसम्म जीर्ण छन् । धाँजा फाटेका खेत हेर्न हेलिकोप्टरमा शयर प्रधानमन्त्रीले सिँचाइ आयोजनालाई गति दिनेबारे बोल्लान् त ? गर्नुपर्ने र हुनुपर्ने कुरा त किन भन्थे ! डीप बोरिङ बनाइदिन्छु भनेर आश्वासन मात्रै बाँडे । भुइँमान्छेलाई डीप बोरिङ समस्या समाधानको दीगो उपाय होइन भन्ने जगजाहेरै छ ।
भुइँमान्छे फेरि भुइँ फाटेको खेतमा घोरिए । पिउन ल्याएको पानीको दुई/चार थोपा सुकेको रोपोमा तुरुक्क चुहाए । तिर्खाले ब्याकुल भएको मान्छेले घाँटी भिजाउन पाएझैँ गरी धानको त्यान्द्रोको आँत फर्केको महसूस भयो । तर फाँटैभरि रोपो सुकेको छ । दुई/चार थोपा पानीले के गर्नु ? भुइँमान्छेले खुइय सुस्केरा हाले । त्यही बेला रेडियोले खबर भन्यो– ‘चितवनमा तालिका बनाएर नै लोडशेडिङ शुरू ।’ ल गजब भयो । अहिलेसम्म तालिकाविना लोडशेडिङ भैरहेको थियो । गर्मीले उकुसमुकुस भएर पङ्खा चलाउनेबित्तिकै र अलिअलि भएको पानी तानेर खेतमा लगाउनेबित्तिकै बत्ती झ्याप्पै । बत्ती कुन बेला आउँछ र जान्छ भर थिएन । अब कम्तीमा बत्ती नआउने समय त थाहा हुने भो । चितवनबाट शुरू भएको लोडशेडिङ तालिका मधेशसम्म आइपुग्न कति बेर नै लाग्ला र ! लोडशेडिङको तालिका त प्रधानमन्त्रीले बनाउने भनेको चापाकल बन्नुअघि नै बनिहाल्छ । तालिकामा बत्ती आउनेभन्दा नआउने समय धेरै हुने होला । बत्ती धेरै आइरहँदा डीप बोरिङको पानी धेरैबेर तान्नुपर्थ्याे । रोपो सुकिसकेको खेतमा धेरैबेर पानी हालेर पनि हुने केही होइन । पानी हालेर पनि नहुने, पानी नहालेर पनि नहुने भएपछि पानी नहालेकै बेस । धान खेतमा समयमै पानी हाल्न नसकेको एउटा दुःख । बेला घर्किसकेपछि पानी राख्नुको अर्को दुःख । कम्तीमा सरकारले अर्को दुःखबाट त मुक्ति दिने भो ।
मौसमविद्ले बर्खायामभर जुनसुकै बेला पानी पर्छ भनेकै छन् । आकाश मडारिएर गड्याङगुडुङ गर्न थालेपछि पानी पर्ने भयो भनेर अनुमान गर्न मिलिहाल्यो । अहिले रोपो सुकेर उकुसमुकुस र भोलि–पर्सि लाग्ने भोकमरीको छटपटी प्रधानमन्त्री र मन्त्रीले बाँडेको आश्वासनबाट मेटाउनु पर्ला भन्ने सोचतेर भुइँमान्छे पसिना पुछ्दै घरतिर लागे । सरकारबाट पाइने आश्वासन मात्रै हो, अरू चीजको आश किन गर्नु !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
