दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
मनोज दाहाल,सुनसरी
‘तीजको लहर आयो बरिलै...’ सुश्मा श्रेष्ठ र दिपा झाको स्वरमा सुसज्जित नेपाली चलचित्र ‘कन्यादान’मा समावेश तीज गीतको यो पङ्क्तिले कहिल्यै नओइलिने एउटा संस्कारको झझल्को दिन्छ ।
हिन्दू नारीहरूको महान पर्व ‘हरितालिका तीज’ को शुरुवात सधैँ चेलीका आँखाबाट शुरू हुन्छ । त्यो आँखामा आशा हुन्छ । माइती फर्किने, आमाको अङ्गालोमा बिलाउने, दिदीबहिनीसँग आफ्ना पीडा साट्ने, साथी सङ्गीसँग पुनः भेट्ने र आफ्ना विगत स्मरण गर्ने अनि मनका पीडा, खुशीहरुलाई गीतमा पोख्ने ।
विगतका तीजहरू यस्तो आत्मीयताको रङ्गीन उत्सव हुन्थे,जहाँ चेलीले घर–परिवारमा भोगेका दुःख, सासू ससुराको व्यवहार, श्रीमानको बेवास्ता, मायाको अभाव अनि माइतीको माया गीत सङ्गीतमार्फत पोख्ने गर्थे ।
पुराना तीज गीतहरू हेर्दा–सुन्दा लाग्छ, ती केवल गीत थिएनन्, ती आत्माका चिह्नहरू थिए । ती चेलीहरूको मौन विरोध थिए, चुपचाप सहन बाध्य समाजप्रतिका प्रश्न थिए । ती गीतहरूले महिलाहरूको अन्तरमनको गहिरो स्वर पोख्ने गरेका थिए ।
हरिदेवी कोइरालाको स्वरमा रहेको ‘हाम्रा बाबाले’,प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने , पार्वती जी.सी , शर्मिला गुरुङलगायतको स्वरमा सजिएको ‘बेदनाको पोको’ होस् वा माइतीको सम्झनामा पोखिएको बेदना बोल्ने विभिन्न सङ्गिनी भाकाहरु होस्, यस्ता गीतहरूले तिजलाई केवल चाड होइन, चेतनाको स्वर बनाउने गरेका थिए। तर त्यो आत्मा आज हराउँदै गएको छ।
आज तीज केवल पोशाक, सिँगार, गहना र फोटोसेसनको ‘इभेन्ट’ बन्दै गएको छ । गीत–सङ्गीतको नाममा सामाजिक सञ्जालभर भाइरल हुने प्रतिस्पर्धा चलेको छ । सस्तो लोकप्रियताको होडबाजी चलेको छ । अघिल्लो पुस्ताले बाँचेको पीडालाई नयाँ पुस्ताले सजावटको विषय बनाउँदैछ । माइतीको मायालाई ‘फेसबुक लाइभ’ मा घण्टौँ देखाएर प्रमाणित गर्नुपर्ने जमानामा तीजको संवेदनशीलता टिक्न कठिन छ ।
गीतका भाका : पवित्रता होइन, प्रदर्शन
साङ्गीतिक क्षेत्रको मौलिक स्वरुप नै बाङ्गो मोडमा पुगिसकेको छ। पछिल्ला केही वर्षयता सार्वजनिक भएका अधिकांश तीज गीतहरूमा न त साहित्यिक मिठास भेटिन्छ, न त भावनात्मक गहिराइ । महिलाहरूको पर्व भनिएको तीजमा महिलालाई नै उपेक्षा गर्ने, अश्लील र अभद्र प्रस्तुतिहरूले भरिएका दृश्यहरूले यो पर्वको पवित्रतामाथि आघात गरिरहेका छन् । अझै दुःखद् कुरा त त्यस्ता गीत सङ्गीतलाई सार्वजनिक गर्ने पनि अधिकांश महिलाहरु नै छन् ।
भाषा यस्ता छन् , जसले चेलीका संवेदनालाई गिज्याउँछन् । शब्द यस्ता छन्, जसले सासू ससुरा वा आफ्नै परिवारलाई अपमान गर्छन् । अनि दृश्य यस्ता छन्, जसलाई परिवारमा बसेर हेर्न पनि लाज लाग्छ । नाचगान त चाडपर्वको आन्तरिक अङ्ग हो, तर त्यसमा मर्यादा र सन्देशको समावेश हुनै पर्छ। गीत–सङ्गीत चेतना जगाउने माध्यम हुनुपर्नेमा, अहिले यिनले चेतना होइन, केवल उत्तेजना बाँडिरहेका छन्।
माइतीको भाव, दरको भव्यता र सामाजिक विकृति
तीजको महत्त्व चेली र माइतीबीचको आत्मीय सम्बन्धमा रहन्छ। तर अहिले तीजको रूपान्तरण दर पार्टी, होटेल, डान्स फ्लोर र ‘हुक्का बार’ सम्म आइपुगेको छ। दरको नाममा मादक पदार्थ सेवन, अश्लील नृत्य र देखासिकीको होडले गर्दा तीजले अब चेलीको अस्मिता होइन, फेसनको प्रदर्शन बोक्न थालेको छ।
यस्ता गतिविधिहरूले तीजको मर्म र मौलिकता दुवैलाई विस्थापित गरिरहेको छ। चेलीहरूको आत्मिक र पारिवारिक सम्बन्धको साटासाट हुने पर्व अब सामाजिक विकृति र भड्किलोपनको पर्याय बनिरहेको छ। यसले बालबालिका,किशोर–किशोरी र नयाँ पुस्तालाई पनि विकृत दिशातिर डोर्याइरहेको छ।
नियमनको अभाव र समाजप्रतिको जिम्मेवारी
गीत–सङ्गीतजस्ता सशक्त माध्यममा कुनै नियन्त्रण नहुनु, सधैँ ‘स्वतन्त्रता’ को नाममा व्याख्या गरिनु, अनि नियमन गर्ने निकायहरूले व्यवस्था गर्दिनु, सामाजिक सञ्जालमा त्यस्तै गीत सङ्गीतलाई दर्शक श्रोताको साथ प्राप्त हुनुले पनि गम्भीर प्रश्न उब्जाएको छ। कस्ता गीत सार्वजनिक हुने ? कुन भाषा प्रयोग गर्ने ? कुन दृश्य देखाउने ? यस्ता मापदण्डको स्पष्टता र कार्यान्वयनको खाँचो सधैँ रहन्छ।
नियमन निकाय छैन भन्ने हो भने सांस्कृतिक आयोग,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, चलचित्र विकास बोर्डजस्ता दर्जनौं संस्थाहरू नेपालमा छन् । तर उनीहरु पनि त्यही सस्तो लोकप्रियतामा रमाइरहेका छन् भन्दा फरक पर्दैन । उनीहरु केवल मौन देखिने गरेका छन्। सस्तो लोकप्रियताको लहरमा सबै बहिएको देखिन्छ। तर, जब मौलिक संस्कृतिको आत्मा नै डगमगाउँछ, त्यो समाजको जरा नै चुँडिने खतरा हुन्छ।
तीज केवल चेलीहरूको नाचगानको चाड होइन । यो एक भावनात्मक आन्दोलन पनि हो भन्दा फरक पर्दैन । यो एक आवाज हो, जसले हजारौं महिलाको मौन पीडालाई स्वर दिन्छ। यो एक सन्देश हो, जसले सम्बन्धको महत्त्व सम्झाउँछ ।
त्यसैले तीजलाई आत्मीयताको पर्वकै रूपमा विकास गर्न आवश्यक छ । नाच, गान आवश्यक छ तर त्यस सगै चेतना बिर्सिनु हुँदैन । चेलीहरुका पीडालाई विकृती होइन शृङ्गार बनाउन आवश्यक छ । मौलिकताको सम्मान गर्दै परम्परालाई आत्मसात् गर्न आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।