दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
मनोज दाहाल, सुनसरी
सामाजिक उद्देश्य बोकेको नेपाली चलचित्र ‘नाम्लो’ को पहिलो अन्तर्राष्ट्रिय विशेष प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा गोर्खा नेपाली समाज (SGNCAK) को आयोजनामा २०२५ जुलाई २७ तारिखका दिन बेलायतको केन्टकाे आश्फोर्ड टाउनको कम्युनिटी हलमा भव्य रूपमा सम्पन्न भएको हो।
यस अवसरमा बेलायतका विभिन्न ठाउँबाट आएका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली समुदायको उत्साहजनक सहभागिता, चलचित्रप्रति देखाइएको आत्मीयता र समर्थनले चलचित्रको महत्त्वलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको देखियो।
'नाम्लो' चलचित्र केवल मनोरञ्जनको माध्यम होइन, यसले नेपाली समाजको एउटा गहिरो यथार्थ—दुर्गम क्षेत्रका ढाक्रे समुदायको जीवन, सङ्घर्ष र सामाजिक संरचनाको चित्रण गर्छ। चलचित्र नेपालका धरान, इटहरी तथा सङ्खुवासभाका नुनढाकी, तातोपानी, चैनपुर र खाम्लिङजस्ता ठाउँहरूमा समेत विशेष प्रदर्शन भइसकेको छ।
चलचित्रको निर्मातामा पूर्ण लिम्बूका साथै लाखमान योञ्जन र मदन बहादुर राई छन् भने निर्देशन हेमन योञ्जनले गरेका हुन्। प्रमुख कलाकारहरूमा पूर्ण लिम्बू, शान्ती पाख्रीन, सुवास योञ्जन तामाङ, मदन बहादुर राई, दिनेश कोइराला, र उदय सुब्बा रहेका छन् ।
बेलायतको यस पहिलो शोबाट सङ्कलित आम्दानी कोशी प्रदेशको सङ्खुवासभा जिल्लाको खाम्लिङ गाउँमा खानेपानी तथा पूर्वाधार विकासमा खर्चिने योजना निर्माण गरिएको छ। यस्तो पहलले नेपाली चलचित्रलाई केवल पर्दामा सीमित नराखी सामाजिक रुपान्तरणको सारथी बनाउने सङ्केत दिएको छ।
चलचित्रका प्रस्तुतकर्ता स्वयम् पूर्ण लिम्बूले प्रमुख भूमिका पनि निर्वाह गरेका छन्। हालै स्कटल्यान्डमा सम्पन्न ‘नेपाल आदिवासी चलचित्र महोत्सव २०२५’ मा उनले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाको उच्च उदाहरण प्रस्तुत गरेका थिए। विशेष शो को अवसर पारेर अभिनेता लिम्बुलाई उक्त अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्रदान गर्न कार्यक्रम निर्देशक अरुण कुमार प्रधान विशेष शो मा नै उपस्थित भएका थिए ।
विशेष शोमा अभिनेत्री सिर्जना सुब्बा, पहिलो नेपाली तारासमेत रहेका गायक दीपक लिम्बूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। चलचित्र प्रदर्शनपछि दर्शकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो जहाँ दर्शकहरूले चलचित्रको यथार्थपरक कथा, संवेदनशील विषयवस्तु र सामाजिक सन्देशको प्रशंसा गरे।
नेपाली चलचित्र 'नाम्लो' ले विदेशमा पाएको सम्मान र त्यहाँ रहेका नेपाली समुदायले गरेको सहयोगीयो योगदान अत्यन्त सराहनीय छ। यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अभियानमा सकारात्मक सन्देश दिएको छ।
दोस्रो प्रदर्शन यही आइतवार, २०२५ अगस्ट ३ मा आयोजना गरिने तयारी भइरहेको छ। यस प्रदर्शनमा अझ बढी दर्शक सहभागिता हुने अपेक्षा गरिएको छ। यसैगरी, ‘नाम्लो’ले विदेशमा मात्र होइन, नेपालको कला, संस्कृति र सामाजिक यथार्थलाई विश्वसामु प्रस्तुत गर्ने माध्यमको रूपमा थप उचाइ लिने विश्वास गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।