सडक बालकको संघर्ष र सपनाको कथामा ‘सुस्केरा’ बन्ने

 साउन १९, २०८२ सोमबार १८:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

मनोज दाहाल, सुनसरी

सुनसरी जिल्लाको झुम्कामा २०२४ साल मङ्सिर ३ गते जन्मिएका शंकर अधिकारी 'घायल' नेपाली संगीत र चलचित्र क्षेत्रमा एक सशक्त नाम हुन् । "नियतिले मलाई मात्र गरिरह्यो झेल" बोलको गीतमार्फत सांगीतिक यात्रामा पाइला टेकेका उनले चलचित्र दादागिरीको “तिम्रो आँखामा बस्ने रहर भो मलाई” बाट पहिलो पटक उल्लेखनीय सफलता हात पारेका थिए ।

उनका गीतहरू नेपाली श्रोता-दर्शकका हृदयमा बस्न सफल भएका छन् — अन्दाज को “सिम्पल सिम्पल कान्छी”, छक्का पञ्जा ४ को “सिरुपाते जुङ्गामा”, गणपति को “उनभित्र गुण” साथै लामो समयदेखि प्रसारणमा रहेको चर्चित हास्य टेलिशृङ्खला मेरी बास्सैको शीर्ष गीत “जे गरे नि सुख छैन ए मेरी बास्सै” जस्ता सिर्जनाले उनलाई गीतकारका रूपमा लोकप्रिय बनाएका छन् । उनले रचना गरेका यस्ता अनगिन्ती गीत सङ्गीत छन्, सङ्गीत क्षेत्रबाट शंकर अधिकारी 'घायल' को नाम हटाउने हो भने सङ्गीत क्षेत्र नै अपुरो हुन्छ भन्दा फरक पर्दैन ।

त्यतिमात्र हैन, झन्डै ८० भन्दा धेरै चलचित्रका कथा, थुप्रै टेलिचलचित्र र छोटा चलचित्रका पटकथा लेखेका उनले १५ वटा चलचित्र निर्देशन गरेका छन् । तीमध्ये केही प्रदर्शनमा आइसकेका छन् भने कतिपय चलचित्र अझै ‘हार्डडिक्स’ मै सुरक्षित छन् । संगीत र गीतले अपार लोकप्रियता दिलाए पनि चलचित्र निर्देशनको मैदानमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकारोक्ति उनी खुलेर गर्छन् । तर यही असफलताले उनलाई पुनः आत्मविश्लेषण गराउँदै अर्को चलचित्र निर्माणमा लाग्न उत्प्रेरित गर्‍याे— जसको नाम हो ‘सुस्केरा’।

‘सुस्केरा’ एउटा गहिरो सामाजिक सन्देश बोकेको चलचित्र हो । निर्दोष सडक बालकको कथा जसले आफैँ बाँचेको छैन तर अरूका लागि बाँच्न चाहन्छ — त्यही संघर्ष र संवेदनालाई चलचित्रले आत्मसात् गर्नेछ । निर्देशक घायलका अनुसार चलचित्रले बाल अधिकार, मानवीयता र समाजप्रतिको दायित्व जस्ता संवेदनशील पक्षहरू उठान गर्नेछ ।

मणिलिङ्गेश्वर फिल्म्सको ब्यानरमा तयार हुन लागेको चलचित्रको प्रस्तुति संगीता अधिकारीले गर्नेछिन् भने निर्माण नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइँले गर्नेछन् । चलचित्रको लेखन र निर्देशन शंकर अधिकारी ‘घायल’ स्वयंले गर्नेछन् ।

चलचित्रमा गीत अधिकारी, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाइँ, नबराज अधिकारी, मौसमी कार्कीका साथै बालकलाकार आलोक चौरेली र नायरा प्रसाइँ लगायतको सशक्त अभिनय रहनेछ । अन्य कलाकारहरू पनि छनोट भैरहेको निर्देशक अधिकारीले जानकारी दिएका छन् । चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । चलचित्रमा कोरियोग्राफी राजन महर्जन, मेकअप मदन न्यौपानेको रहने छ भने सम्पादनमा राजेश कुमार रहनेछन् ।

‘सुस्केरा’ को छायांकन आउँदो भदौको दोस्रो हप्ताबाट काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रहरूमा शुरू हुने बताइएको छ ।

शंकर अधिकारी 'घायल' ले आफ्ना विगतका अनुभवहरूलाई आत्मसात् गर्दै अझ जीवनघनिष्ठ र गहिरो सन्देश बोकेको चलचित्रमार्फत दर्शकमाझ फर्किन लागेका छन् । उनको यो प्रयासले नेपाली चलचित्र क्षेत्रलाई पुनः एकपटक संवेदनशील कथावस्तुमा आधारित, सिर्जनात्मक यात्राको बाटो तर्फ मोड्ने आशा गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया