दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
मनोज दाहाल,सुनसरी
नेपाली चलचित्र नगरीमा एउटा गर्विलो, सशक्त र सम्मानित नाम हो, विनोद पौडेल। उनले निर्माण गरेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ केवल सफल मात्र भएन, बरु नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यवसाय गर्ने ऐतिहासिक कृति बन्न सफल भयो। यस चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ कीर्तिमान स्थापना गर्यो र पौडेललाई सफल निर्माता मात्र होइन, सशक्त दृष्टिकोणका धनी चलचित्रकर्मीको रूपमा चिनायो।
कोशी प्रदेशको मोरङ जिल्ला, बेलबारीमा जन्मिएका पौडेल सानैदेखि नेपाली चलचित्रको मोहमा तानिएका थिए। सानै उमेरमा चलचित्रका दृश्य र कथामा मोहित हुने उनी समयसँगै यो क्षेत्रमा आफ्नो भविष्य कोर्न चाहन्थे। जीवनको यात्रा उनलाई अस्ट्रेलिया पुर्यायो, तर स्वदेश र चलचित्रप्रतिको मोह कहिल्यै हराएन। अस्ट्रेलियामा बसोबासको क्रममा उनले नेपाली चलचित्रको अस्ट्रेलिया प्रदर्शन अधिकार (राइट्स) खरिद गरेर त्यहाँका नेपाली दर्शकलाई आफ्नै देशका चलचित्र देखाउने जिम्मा उठाए।
वर्षौँसम्म अस्ट्रेलियामा विभिन्न नेपाली चलचित्र प्रदर्शन गर्दै जाँदा उनले नेपाली चलचित्रको भित्री र बाहिरी स्वरूपलाई नजिकबाट अवलोकन गरे। चलचित्र निर्माणको सम्भावना, चुनौती र बजारको प्रकृतिलाई उनले आत्मसात् गरे। यसै अनुभवले उनलाई फेरि स्वदेश फर्किने प्रेरणा दियो । यसपटक निर्माता बन्ने दृढ निश्चयका साथ। फलस्वरूप, उनले साहसिक कदम चाल्दै ‘पुर्ण बहादुरको सारङ्गी’ निर्माण गरे। यो चलचित्रको व्यावसायिक सफलता पौडेल स्वयंले समेत कल्पना नगरेको उच्चतामा पुगेको थियो।
पहिलो चलचित्रमै यस्तो ऐतिहासिक सफलता हात पारेपछि पनि पौडेल त्यसमै सीमित रहेनन्। बरु, अझ गहिरो र विविध कथावस्तुमा हात हाल्दै उनले अर्को महत्त्वाकांक्षी प्रोजेक्ट तयार गरे। उनको दोस्रो चलचित्र हो ‘अभिमन्यु’, । जसले मधेशको कथा, संस्कार र सामाजिक सन्देशलाई हृदयस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ। यो चलचित्र यसै भाद्र २७ गतेदेखि देशभरका हलमा नेपाली भाषामा र असोज ६ गतेबाट हिन्दी भाषामा प्रदर्शनमा आउँदैछ, र यसले दर्शकको मन जित्नेमा पौडेल पूर्ण विश्वास राख्छन्।
यसै अवसरमा, हामीले निर्माता विनोद पौडेलसँग चलचित्र ‘अभिमन्यु’ मात्र होइन, उनको व्यक्तिगत यात्रा, चलचित्रप्रतिको दृष्टिकोण, सफलताको रहस्य र नेपाली चलचित्र उद्योगको भविष्यबारे पनि विस्तृत कुराकानी गरेका छौँ। प्रस्तुत छ । निर्माता पौडेलसँग गरिएको कुराकानी :
‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्रपछि तपाइँले ‘अभिमन्यु’ निर्माण गर्नुभयो। दर्शकबाट अहिलेसम्म कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
अहिले तत्काल धेरै प्रतिक्रिया आउने समय भइसकेको छैन। हामीले भर्खर केही पोस्टर र एउटा मात्र गीत सार्वजनिक गरेका छौँ। त्यो गीतमा दाजु–बहिनीबीचको माया–ममता प्रकट गरिएको छ, जसलाई जो–जोले हेरे, सबैले सकारात्मक प्रतिक्रिया दिनुभयो। अब विस्तारै टिजर, ट्रेलर, अरू गीत–सङ्गीत आउँदै जाँदा दर्शकको प्रतिकृया अझै बढ्नेछ भन्ने अपेक्षा छ।
अहिलेसम्मका प्रतिक्रियालाई हेर्ने हो भने, सबैतिरबाट सकारात्मक ऊर्जा पाइरहेका छौँ। ‘पूर्णबहादुरको सारङ्गी’ र ‘अभिमन्यु’ पूर्णतः फरक विधाका चलचित्र हुन्, त्यसैले यी दुवैलाई तुलना गर्न मिल्दैन। म ‘पुर्ण बहादुर’भन्दा अझै ‘खतरनाक’ बनाउनु पर्छ भन्ने सोचमा लागेँ भने त चलचित्र नै बनाउनु हुँदैन। त्यसैले, जस्तो ‘पूर्ण बहादुर’मा पृथक प्रयोग गरेँ, ‘अभिमन्यु’मा पनि नयाँपन खोज्ने प्रयास गरेको छु। बाँकी मूल्याङ्कन दर्शककै हातमा छ।
‘अभिमन्यु’ नाम पहिले पनि सफल चलचित्रको रूपमा नेपाली चलचित्रमा स्थापित छ। पुरानो ‘अभिमन्यु’सँग तपाइँको चलचित्रको विषयवस्तु मेल खान्छ ?
शुरूमा हामीले यस चलचित्रको नाम ‘अभिमन्यु’ राख्ने सोच नै गरेका थिएनौँ। कथा लेख्दा यसको नाम ‘चक्रब्यु’ थियो। त्यसै नामबाट लेखन र तयारी सकिएपछि दर्ता गर्न जाँदा थाहा भयो - त्यो नाम पहिले नै अरूले दर्ता गराइसकेका रहेछन्। त्यसपछि हामी नयाँ नाम खोज्न बाध्य भयौँ।
अन्ततः चलचित्रका मुख्य पात्रको नाम र विषयवस्तुसँग मेल खाने भएकाले ‘अभिमन्यु’ नाम रोज्यौँ। नियमअनुसार, कुनै पनि चलचित्र दर्ता भएको कम्तीमा १० वर्षपछि त्यही नाममा अर्को चलचित्र दर्ता गर्न मिल्दो रहेछ। त्यसैले हामीले ‘अभिमन्यु’ दर्ता गर्यौँ र यसमा ‘च्याप्टर वान’ थपेर ‘अभिमन्यु: च्याप्टर वान’ बनायौँ। पुरानो ‘अभिमन्यु’को कथा र हाम्रो कथा पूर्ण रूपमा फरक छ।
कथावस्तु र पात्रका बारेमा केही खुलाउनुहोस् न ?
‘पूर्णबहादुरको सारङ्गी’ हाम्रो टिमको लागि नयाँ अनुभव थियो। त्यसले दर्शकको साथ पायो, जसको कल्पना हामीले गरेका पनि थिएनौँ। त्यसैले अर्को चलचित्रमा पनि त्यही जादु दोहोर्याउन सक्छु भन्ने घमण्ड गर्न चाहन्नँ।
‘पूर्णबहादुर’को बेला पनि धेरैले चलचित्र नचल्ने भविष्यवाणी गरेका थिए। पात्र चयनदेखि कथा निर्माणसम्म धेरै आलोचना सुनेका थियौँ। तर, हामीले जसलाई स्मरण गरेर कथा लेख्यौँ, त्यही पात्रलाई चलचित्रमा उतार्यौँ।
‘अभिमन्यु’मा पनि त्यही प्रक्रिया अपनाएका छौँ। यो चलचित्र मधेशको कथा हो। कथा लेख्दा जसलाई सम्झेर लेख्यौँ, उनी नै मुख्य पात्र बनेका छन्। ‘पूर्णबहादुर’ जस्तो हिट चलचित्र बनाएको निर्माता हुँ भन्ने कुरा बिर्सेर, म फेरि शून्यबाट शुरुवातमा उभिएको छु।
कथा चयनमा म सधैँ दर्शक भएर सोच्ने गर्छु । जब कथा मलाई छुन्छ, त्यतिबेला मात्र म निर्माणमा लाग्छु। यसपटक पनि त्यस्तै भयो। तराईको कथा, जुन व्यावसायिक रूपमा कमै उतारिएको छ, तर गहिरो जीवन्तता बोकेको छ, त्यसलाई पर्दामा ल्याउने उद्देश्यले ‘अभिमन्यु’ निर्माण गरिएको हो।
‘अभिमन्यु’को मुख्य कथावस्तु के हो ?
‘अभिमन्यु’ एक सस्पेन्स थ्रिलर हो, जसले मधेसको कथा बोल्छ। विशेष गरी, मेधेशी समुदायका दाजु र बहिनीबीचको प्रेम–ममता र त्यसबीचमा आउने उतार–चढाव यसको मुख्य केन्द्र हो।
अभिभावकको निधनपछि एउटा दाजुले बहिनीलाई पढाउने–हुर्काउने, उसको आधारभूत आवश्यकता पूरा गर्न गरेको सङ्घर्ष, र त्यस क्रममा आएका चुनौतीहरूलाई चलचित्रले प्रस्तुत गरेको छ। बाँकी ट्विस्टहरू अहिले खुलाउदिनँ, नत्र सिनेमा हलमा हेर्दा मजा कम हुन्छ। दर्शकलाई भाद्र २७ गते नजिकको हलमा आएर हेर्नका लागि निमन्त्रणा गर्दछु।
तपाइँको अनुभवमा, चलचित्र सफल बनाउन कस्तो कथावस्तु आवश्यक पर्छ ?
म सानो छँदै नेपाली चलचित्रप्रति मोहमा हुर्किएको मान्छे हुँ। टेलिभिजनमा शुक्रवार र शनिवार देखाइने चलचित्रहरू प्रायः छुट्दैन थिए। पछि, अस्ट्रेलियामा २०१२ देखि २०२२ सम्म नेपाली चलचित्रको स्क्रिनिङ गरेँ ।
मैले धेरै प्रकारका चलचित्र देखाएँ । केही सफल भए, केही असफल, केहीमा दर्शकको गाली पनि खाएँ। तर त्यो यात्राले मलाई दर्शकको स्वाद, रुचि र संवेदनशीलता बुझ्न सघायो।
निर्माणदेखि प्रदर्शनसम्मको सम्पूर्ण प्रक्रियामा म आफैँ सक्रिय हुन्छु । कथा छनोट, निर्देशक र कलाकार चयन, लोकेशन हन्टिङ, सम्पादनसम्म। यसरी संलग्न हुँदा खर्चको आकलनदेखि कन्टेन्टको गुणस्तर सबैमा ध्यान दिन सकिन्छ।
नेपालमा केही निर्माताले चलचित्रको प्रोसेस नबुझी, ‘फलानो जस्तो बनाइदेऊ’ भन्दै पैसा हाल्छन्। त्यो ठूलो गल्ती हो। पैसा लगाउनुअघि विषयमा गहिरो अध्ययन गर्न आवश्यक छ।
दर्शकले ‘अभिमन्यु’ किन हेर्ने ?
हरेक चलचित्रको आफ्नै स्वाद हुन्छ। सबैलाई एउटै जनर मनपर्छ भन्ने छैन — कसैलाई क्राइम थ्रिलर, कसैलाई कमेडी, कसैलाई एक्सन मन पर्छ।
हामीले ‘पूर्णबहादुरको सारङ्गी’ इमान्दारीका साथ बनायौँ, र दर्शकले असीम माया दिए। ‘अभिमन्यु’ पनि त्यस्तै इमानदारी र मेहनतको उपज हो, तर यसमा नयाँपन छ । सस्पेन्स, थ्रिल, मधेशको कथा र सामाजिक सन्देश।
म दर्शकलाई एउटा वाचा गर्न सक्छु । तपाइँ हलबाट बाहिर निस्कँदा “पैसा नास भयो” भन्ने महसूस हुने छैन। जसरी ‘पूर्णबहादुर’लाई माया गर्नुभयो, त्यस्तै ‘अभिमन्यु’लाई पनि साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।