पोखरा–मुग्लिन सडककाे पश्चिम खण्डमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक २७, २०८२ बिहिबार
मनोज दाहाल , सुनसरी
नेपाली चलचित्रको प्रचारप्रसारमा होर्डिङ बोर्डको प्रयोग कुनै नयाँ कुरा होइन । विगतमा पनि हलको अगाडिदेखि चोक–चौतारो, शहरका पर्खाल र बिजुलीका खम्बासम्म रङ्गीन पोस्टर र ब्यानरले सजिँदै आएका थिए । तर यस पटक जुन जोश–जुनून, आँट र ‘दृश्य आक्रमण’ का साथ निर्माताहरू सडकछेउका विशाल पर्खालदेखि शहरका मुख्य प्रवेशद्वारसम्म आफ्नो सिनेमाको झण्डा गाडिरहेका छन्, त्यसमा केवल प्रचारको मिहिन भाव मात्र छैन, साथमा प्रतिस्पर्धाको उग्र रङ पनि मिसिएको देखिन्छ ।
दर्शकको ध्यान तान्नका लागि आकार, स्थान र डिजाइनमै जङ्गी होड चलेको छ । कसको पोस्टर ठूलो ? कसको बढी स्थानमा ? कसको डिजाइन आकर्षक र ‘फोटो फ्रेन्ड्ली’ ? यी प्रश्नहरूले अहिले चलचित्र बजारमा अदृश्य तर अत्यन्त तीव्र होड मच्चाइरहेका छन् । कुनै निर्माता आफ्नो पोस्टरको लम्बाइ–चौडाइका तथ्याङ्कलाई गौरवका साथ सार्वजनिक गर्छन्, त कुनै निर्माता दर्शकको प्रतिक्रिया आउनुअघि नै ‘देशकै ठूलो’ भन्ने दाबी गरेर सामाजिक सञ्जाल भरिदिन्छन् ।
यो होर्डिङ बोर्ड युद्ध केवल सिनेमाको परिचय गराउने माध्यम मात्र नभई प्रतिस्पर्धी फिल्मको मनोबलमा सीधा प्रहार गर्ने मनोवैज्ञानिक अस्त्रझैँ प्रयोग हुन थालेको छ । दर्शकको पहिलो नजरमै ‘हामी ठूलो छौँ, हामी यहाँ छौँ’ भन्ने सन्देश पठाउने यो रणनीतिले सडक, चोक, पुल र भवनलाई चलचित्रको रङ रूपले भरिदिएको छ ।
पहिलेको प्रचारप्रसार : रुमालमा नाम लेख्नेदेखि चोकको पर्खाल रङ्ग्याउनेसम्म
केही दशकअघिसम्म नेपाली चलचित्रको प्रचारप्रसार भनेको शहरका मुख्य चोक–चौतारोमा हातले रङ्ग्याइएका पोस्टर टाँस्नु, रेडियोमा दुई–चार पटक गीत बजाउनु र हलको अगाडिको ब्यानरमा आकर्षक टाइपोग्राफीको खेल देखाउनुमा सीमित थियो । ठूलो फिल्म आए पनि अधिकतम प्रचार भनेको हलमा प्रिमियर आयोजना गर्ने वा केही पत्रिका र रेडियो अन्तर्वार्ता दिने मात्र हुन्थ्यो ।
तर समय बदलियो, दर्शकको रोजाइ बदलियो र प्रतिस्पर्धा पनि बदलियो । अहिलेको चलचित्र बजारमा केवल राम्रो कथा र अभिनय मात्र होइन, रिलिज अघिको ‘दृश्य उपस्थिति’ नै फिल्मको भविष्य निर्धारण गर्ने मुख्य आधार बनेको छ । यही बदलिएको रणनीतिमा होर्डिङ बोर्ड अहिलेको ‘अघिल्लो मोर्चा’ बनिसकेको छ । पछिल्लो समय जेठ ९ गतेदेखि प्रदर्शनमा आएको कृषा चौलागाईं निर्देशित चलचित्र 'नरसिंहा अवतार' ले विभिन्न स्थानहरूमा चलचित्रका ठूला होर्डिङ बोर्डहरू राखेर प्रचारप्रसार गरेको थियो ।
बलिदानबाट शुरू भएको नयाँ ‘उचाइको खेल’
'नरसिंहा अवतार' पछि यो प्रतिस्पर्धात्मक हुङ्कारको शुरुआत असाेज १३ गते अर्थात् फूलपातीमा रिलिज हुन लागेको चलचित्र ‘बलिदान’ बाट भएको भन्दा फरक पर्दैन ।
निर्माता सन्तोष सेनले गएको साउन २ गते काठमाण्डाैको गोङ्गबु बसपार्कमा रहेकाे ल्होत्से मलको बाहिरी भागमा ६० फिट उचाइ र १६ फिट चौडाइको विशाल पोस्टर सार्वजनिक गरे—यो आकारले नै दर्शकको दृष्टि बाँध्ने किसिमको थियो । केही दिनमै साउन १२ गते कोशी प्रदेशको धरानमा रहेकाे फ्रेन्ड्स सिनेमाजमा ६० फिट उचाइ र २२ फिट चौडाइ भएको अर्को विशाल ब्यानर टाँगियो । चलचित्रका कलाकार उपस्थित नभए पनि स्थानीय कलाकार र सञ्चारकर्मीको उपस्थितिमा त्याे पोस्टर लोकार्पण गरियो ।
निर्माता सेनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाण्डाैको ल्होत्से मलपछि आज धरानमा हालसम्मकै ठूलो ब्यानरमा ‘बलिदान’ झुण्डिएको छ… ! यो त केवल शुरआत हो । अब शहर–शहरमा, टोल–टोलमा ‘बलिदान’ को हुङ्कार गुञ्जिनेछ…।’
माइतीघरको ‘लामो–फैलिएको’ अभियान
यता त्यही फूलपातीमा प्रदर्शन हुने अर्को प्रतिस्पर्धी चलचित्र ‘माइतीघर’ का निर्माता रोहित अधिकारी पनि उस्तै जोशमा देखिए ।
साउन १५ गते काठमाण्डाैको मुख्य नाका नौबिसेमा २० फिट उचाइ र ५० फिट चौडाइको होर्डिङ बोर्ड राखिएको खबर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यति मात्र होइन, देशका विभिन्न मुख्य शहरहरूमा २० फिट उचाइ र १०० फिट लम्बाइसम्मका विशाल ब्यानर राख्ने योजना पनि सुनाए ।
त्यसयता काठमाण्डाै, दाङ, नेपालगञ्ज, झापा, सुनसरीलगायतका दर्जनौं स्थानका मुख्य चोक र चलचित्र हलमा ‘माइतीघर’ का ठूला–साना होर्डिङ टाँगिएका छन् । निर्देशक अधिकारी भन्छन्, ‘यसपालि फिल्म रिलिजपछि पनि डर छैन, किनकि हामीले मनैदेखि फिल्म निर्माण गरेका हौँ । दर्शकले मन परे चल्छ, मन नपरे हार मान्न तयार छौँ ।’
हरिबहादुरको जुत्ताको ‘चरण’–प्रवेश
त्यस्तै फूलपातीको प्रतिस्पर्धी फिल्म ‘हरिबहादुरको जुत्ता’ को प्रचारमा पनि होर्डिङ बोर्ड पहिलो रोजाइमा परेको छ ।
साउन १५ गते अर्थात् जनैपूर्णिमामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पहिलो बोर्ड टाँगियो । लगत्तै निर्माता सरोज ओलीले घोषणा गरे– ‘थानकोटदेखि एअरपोर्टसम्म अनि देशका बुटवल, पोखरा, नारायणगढ, नेपालगञ्ज, विराटनगर, इटहरी, दमक, बिर्तामोडसम्म ‘हरिबहादुरको जुत्ता’ का होर्डिङ बोर्ड टाँगिनेछन् ।’
कोशेढुङ्गाको ‘२५ शहरको मार्च’
भदौ १२ गते प्रदर्शनमा आउने ‘कोशेढुङ्गा’ ले पनि होर्डिङ बोर्डलाई मुख्य प्रचार हथियारका रूपमा प्रयोग गरेको छ ।
देशभरका २५ शहरका मुख्य स्थानमा ठूला–साना बोर्ड टाँगेर निर्माण टिम अहिले आक्रामक प्रचारमा उत्रिएको छ ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का भन्छन्, ‘हामी काम गर्छाैँ स्टाटस हैन । देशभरि कोशेढुङ्गा, नेपालभरि करिब २५ शहरमा होर्डिङ हाल्दै, हामी तीव्र रूपमा आउँदै छौँ ।’
प्रचार कि प्रतिस्पर्धा ?
पहिलेको प्रचारमा ‘फिल्म बन्यो भने दर्शक आफैँ आउँछन्’ भन्ने सोच थियो, अहिले भने ‘दर्शकलाई हलसम्म तान्ने’ प्रलोभन र दबाव बराबरी महत्त्वपूर्ण बनेको छ ।
आजको होर्डिङ बोर्डको बाढीले दर्शकलाई चकित त पार्छ तर यसले अर्को प्रश्न पनि खडा गर्छ– के यो सिर्जनशील प्रचार हो ? कि केवल ‘कसले ठूलो देखाउने’ प्रतिस्पर्धा मात्र ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।