श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ, सरकारी खर्च दुरुपयाेग गरेकाे आराेप

 भदौ ६, २०८२ शुक्रबार १५:२:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिने प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

पूर्वराष्ट्रपति विक्रमसिङ्घे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कँदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए । त्यस क्रममा उनी र उनकी  श्रीमती मैत्री वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए ।

विक्रमसिङ्घेले त्यो यात्रा व्यक्तिगत भएको र श्रीमतीकासम्पूर्ण खर्चहरू निजी स्रोतबाट बेहोरेको  दाबी गर्दै आएका छन् । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिङ्घेमाथि त्यस यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट बेहोरेको आरोप लगाएको खबरमा उल्लेख छ ।

विक्रमसिङ्घे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।

राष्ट्रपतिको कार्यकालमा विक्रमसिङ्घेले देशको अति गम्भीर आर्थिक सङ्कटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनः चुनावमा उनी पराजित भएका थिए ।

अन्तिम अपडेट: मंसिर २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया