फेसबुक बन्द हुन लाग्दाको नेपाली ‘फेस’ !

 भदौ १५, २०८२ आइतबार ११:५१:५२ | मिलन तिमिल्सिना
unn.prixa.net

तस्वीर : एआईबाट

चाडपर्व आइसक्यो तर टार्ने पुर्‍याउने कसरी भन्ने चिन्ताले अँध्यारो ‘फेस’ बनाएर बसेका भुइँमान्छेले फेसबुक बन्द हुँदै छ रे भन्ने कुरा फेसबुकबाटै थाहा पाए । फेसबुक हेर्न र फेसबुकको म्यासेन्जरबाट टाढा रहेका आफन्तसँग कुरा गर्न बल्लबल्ल जानेका उनको ‘फेस’ फेसबुक बन्द हुने कुराले झनै बिग्रियो । जागिरेदेखि बेरोजगारसम्म, फुर्सदिलादेखि जाँगरिलासम्म र सरकारदेखि नेता, कार्यकर्ता, नागरिकसम्मले औधी मन पराउने फेसबुक चाहिँ किन बन्द गर्न लागेछन् त !

फेसबुक बन्द हुँदैछ रे भनेर फेसबुकमा आएका हल्लामा विश्वास नलागेर भुइँमान्छेले कान थापेर रेडियो सुने । रेडियोको समाचार सुन्दा थाहा भयो फेसबुक लगायतका सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा दर्ता गर्न अटेरी गर्दै आएका रहेछन्, अब पनि दर्ता नहुने हो भने बन्द हुन्छ भनेर सरकारले भनेको रहेछ । कुरो ठीकै त हो नि, हामीले जस्तै विदेशी कम्पनीहरूले पनि नेपालको नियम कानून मान्नुपर्छ । नियम कानून नमान्दा हामी जेलमा बन्द हुन्छौँ । अनि नेपालको नियम कानून नमान्ने विदेशी कम्पनी चाहिँ किन खुलै हुनुपर्ने ? त्यसमाथि सरकारले त के के गर्छु भन्छ, भन्छ । भनेको सबै कुरा गर्‍या खै ! अनि नेपालको नियम कानून नमान्ने फेसबुक लगायतका सामाजिक सञ्जाल कम्पनी बन्द गर्छु भनेर सरकारले भनेको कुरा कसरी पत्याउने ?

तर फेसबुक हेरिरहँदा भुइँमान्छेलाई लाग्यो, सरकारको त भर छैन तर नेता, कार्यकर्ता र नागरिक आफैँ फेसबुक बन्द गराउने सरकारी प्रयासमा जोडबल गर्दैछन् । फेसबुकमा भए/नभएका कुरा लेख्ने र शेयर गर्ने यसअघिका कुरा नियाल्नै पर्दैन । हालै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई भेटेपछि फेसबुकमा ओइरो लागेका स्टाटस, फोटो र भिडियो हेर्दा नै थाहा हुन्छ कि फेसबुक त हेर्नै नहुने रैछ, बन्द गर्नुपर्छ भन्ने प्रमाणित गर्न तँछाडमछाड भैरहेको छ ।

प्रधानमन्त्री चीन जानुअघि धेरैले फेसबुकमा लेखे, नेपाली भूमि लिपुलेकको बारेमा कुरा राख्छन् कि राख्दैनन् हेरौँला । चीन पुगेर त्यहाँका राष्ट्रपतिलाई भेट्नेबित्तिकै प्रधानमन्त्रीले लिपुलेकबारे नेपालको अडान प्रष्टसँग राखेको समाचार आयो । जे हुनुपर्थ्याे, त्यही भयो । ओलीको ठाउँमा अर्को भए पनि यस्तै अडान हुनुपर्थ्याे र हुन्थ्यो पनि होला । अब भारतका प्रधानमन्त्रीसँगको भेटमा पनि यस्तै अडान हुनुपर्‍याे । फेसबुक स्टाटसहरूमा यस्तै कुरा आउँछन् भन्ने भुइँमान्छेलाई लागेको थियो । तर फरक खालका दुईथरी स्टाटस पो आए ।

प्रधानमन्त्री नजिकका मान्छेले ‘वाह ओली’ भन्दै राष्ट्रवाद पोख्न थाले । प्रधानमन्त्री विरोधीले हुँदै होइन भनेर आलोचना ओकल्न थाले ।

प्रधानमन्त्रीले के भने भन्ने कुरा त भेटमा सँगै भएका मान्छेलाई थाहा हुने हो । प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रका सचिवले भनेपछि त पत्याउनुपर्‍याे नि । तर फेसबुकमा एकथरी विरोधीले हुँदै होइन भने । अर्काथरीले चीनको विज्ञप्तिमा नेपालका प्रधानमन्त्रीले यसो भने भनेकै छैन नभनी कसरी पत्याउनु भनेर शङ्का गरे ।

प्रधानमन्त्रीका समर्थकले त चीनको टेलिभिजनमै आयो भनेर एआई भिडियो बनाएर मान्छेलाई उल्लु बनाए । तर चीनका मिडियाले कालापानीलाई खासै महत्त्व दिएका छैनन् । किनकि यो उनीहरूको चासोको विषय हैन, नेपाल र भारतको सरोकारको विषय हो ।

बुझ्दै जाँदा भुइँमान्छेले थाहा पाए, चीनका राष्ट्रपतिसँगको भेटमा नेपालका प्रधानमन्त्रीले कालापानी र लिपुलेकबारे नेपालको अडान प्रष्टसँग राखेको सत्य हो तर चीनका मिडियाले यसलाई महत्त्व दिएका चाहिँ हुँदै होइनन् । तर फेसबुकमा लेख्नेहरूले यो सत्य चाहिँ भन्दै भनेनन् ।

‘लिपुलेकबारे चुइँक्क बोलेनन् ओली’ भनेर लेख्न ठिक्क परेका विरोधीले ‘चिनियाँ राष्ट्रपतिसँग ओलीले नेपालको अडान प्रष्टसँग राखे’ भन्न सकेनन् । अनि समर्थकहरूले प्रधानमन्त्रीले आफ्नो अडान राखे मात्रै भन्दा पुग्नेमा चीन र भारतमै तहल्का मच्चियो भनेझैँ गरी एआईबाट नक्कली भिडियो बनाएर प्रचार गरे । ओलीले चीनबाट लिपुलेक नै फिर्ता ल्याएझैँ गरी फोटो रङ्ग्याए ।

भुइँमान्छेलाई लाग्यो यी दुवैथरीले फेसबुकमा भ्रमको खेती गरेर आफ्नो स्वार्थको भकारी भर्न खोज्दैछन् । फेसबुकमा ओइरो लाग्ने यस्तै भ्रमले आममान्छेलाई सत्य के हो भनेर बुझ्न कठिन छ ।

एकातिर भ्रम र अफवाह । अर्कोतिर हुने/नहुने, मिल्ने/नमिल्ने जे पनि लेख्ने होडबाजी । यही होडबाजीले चाहिँ फेसबुक बन्द हुनसक्छ । फेसबुक बन्द भयो भने के होला ? भुइँमान्छेले घोरिएर सोचे, विरोध र आलोचना सुन्न र हेर्न पर्दैन सरकारलाई हाइसञ्चो । अनि चाहिँदो/नचाहिँदो लेख्न र हेर्न नपाएपछि नागरिकले पनि आ–आफ्नो काममा मात्रै ध्यान दिन्छन्, एकछत्र मोबाइलमा घोप्टिदैनन् भन्दै भुइँमान्छे मोबाइलमा घोप्टिँदै भात खान बसे ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया