इटहरी म्याट्रिक्स : हरियालीभित्रको सिर्जनायात्रा, कला–साहित्यको जीवित तीर्थ

 भदौ १६, २०८२ सोमबार ७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाेज दाहाल, सुनसरी 

सुनसरी – सन् २००० को दशकको शुरुआतमा इटहरीले कलाको एउटा स्वप्न देखेको थियो । अनि त्यही सपनालाई साकार पार्न तत्कालीन इटहरी नगरपालिका वडा नम्बर ५ मा कलाकार विक्रम श्रीको अगुवाइमा ‘काव्यवाटिका’ स्थापना भयो । त्यो केवल उद्यान मात्र थिएन, त्यो कवि, कलाकार, नाट्यकर्मी, मूर्तिकार र साहित्यप्रेमीहरूको साझा आँगन थियो ।

रुखबिरुवाको हरियालीमाझ कविता गुञ्जिन्थ्यो, मूर्तिहरू मौन भएर पनि कथाहरू सुनाउँथे । गीत र गजलले बगैँचाको हावा रङ्गिन्थ्यो । लेख्ने भन्ने कलाकर्मी मात्र हैन कला साहित्यमा रुचि राख्नेहरुका लागि दैनिकी नै बनेको थियो । कलाकारहरुको एउटा सपना थियो,  ’काव्यवाटिका’ ।  तर, त्यो सपना लामो समय टिक्न सकेन । कलाकार बिक्रम श्रीका अनुसार कलामै समर्पण गरेर लिएको ऋण तिर्न झन्डै दुई महिनामात्रै ढिलो भएको थियो । परिणाम-बिना कुनै पूर्व जानकारी उनको घर नै लिलाम गरियो ।

त्यसपछिको जीवन अस्तव्यस्त भयो, व्यवहार लथालिङ्ग बन्यो। त्यो घामले ओइलाएको स्वप्नले कलाकारलाई पीडित त बनायो तर हराएको बगैँचाले उसको अन्तर्मनमा नयाँ बीउ पनि रोपिदियो–नयाँ सिर्जनाको बीउ । 

भत्काइएका भित्ताभित्र नयाँ सपनाको जन्म: काव्यवाटिकाबाट म्याट्रिक्ससम्मको यात्रा

२०६५ सालतिर परिस्थिति फेरि मोडियो । काव्यवाटिकालाई नगरपालिकाले ‘जोगाउने’ नाममा लिएर उल्टै भत्काइदियो । बीचमा बाटो खनियो, सरकारी संरचना बनाइयो, मूर्तिहरू मासिए, हरियाली काटियो । काव्यवाटिकाको आत्मा नै नष्ट भयो ।

साहित्यकार र कलाकारहरूले विरोध गरे–कालो झण्डा देखाइयो, सभामा आवाज बुलन्द गरियो, तर अन्ततः काव्य वाटिकालाई फर्काइउन । बिक्रम श्री भन्नुहुन्छ, ‘कुनै दिन त कलाकारको कथा व्यथा बुझ्दिने, कलालाई चिन्ने जनप्रतिनिधि आउलान । उसै दिन सबै हिसाब किताब गरौंला ।’

कलाकारले कहिल्यै ‘नोक्सान’ लाई अन्त्य मान्दैनन् । उनीहरू त विनाशलाई पनि सिर्जनाको बीउमा परिणत गर्छन् । यही भावनामा पुनः साहित्यकार र कलाकारहरूको भेलाले नयाँ वाटिकाको घोषणा गर्‍यो, ‘इटहरी म्याट्रिक्स’ ।

‘म्याट्रिक्स’ कोइला खानीको गर्भगृह, जहाँ चाप, ताप र रापबीच कोइला हिरा बन्ने यात्रामा हुन्छ । त्यसैगरी, सङ्घर्ष र पीडाबीच कलाकारको आत्मा अझ उज्यालो हिरा जस्तो बन्ने विश्वास ।

इटहरी म्याट्रिक्स : हरियाली, कला र जीवनको संगमस्थल

इटहरी चोकदेखि झन्डै तीन किलोमिटर पूर्व–उत्तरतर्फ पुग्दा एउटा भिन्नै संसारमा पाइला टेकेको महसुस हुन्छ । बिक्रम श्री भन्नुहुन्छ, ‘यहाँका पाँच सय ३४ प्रजातिका वनस्पति केवल रोपिएका होइनन्, धेरैलाई उद्धार गरिएको हो। सडक विस्तारले काटिएका, भवन निर्माणले उखेलिएका वा बेवारिसे बनेका बिरुवाहरूलाई बचाइयो र यहाँ पुनर्जीवन दिइयो ।’

पाइन, उत्तिस, खन्यौ, निवारो जस्ता पहाडी बिरुवादेखि तराईका रुखसम्म, हिमालका बोटदेखि विदेशी प्रजातिसम्म, फिलिपिन्स, जापान लगाय अन्तरास्ट्रिय स्तरका बिरुवासमेत हुर्किरहेका छन् । वनस्पतिहरू मात्र होइन, चराचुरुङ्गीहरूको चहकिलो गीत, जङ्गली खरायोको फुत्काइ, न्याउरी र सर्पसम्म यहाँको जैविक विविधताको प्रमाण हुन् । साँच्चिकै, यो कृति, प्रकृति र संस्कृतिको संगम हो ।

मूर्तिहरूको मौन भाषा : ढुङ्गाले सुनाएको दर्शन 

म्याट्रिक्समा केवल वनस्पति मात्र छैनन् । यहाँ मूर्तिहरू छन्–जो मौन भएर पनि अर्थपूर्ण भाषामा आफ्ना कुरा व्यक्त गरिरहेका हुन्छन् । 

विक्रम श्री साथै उहाँको टोलीको हातबाट बनेका मूर्तिहरूमा केवल कलात्मक सौन्दर्य मात्र छैन, जीवनको दर्शन मिसिएको छ । ढुङ्गामा कोरिएका आकृतिहरूले सङ्घर्ष, श्रम, वेदना र आशाको कथा सुनाउँछन् । कुनै मूर्तिले मानव अस्तित्वलाई प्रश्न गर्छ, कुनै मूर्तिले सिर्जनाको गौरव गान गर्छ ।

म्याट्रिक्सको हरेक मूर्ति ढुङ्गामा उत्कीर्ण कविता हो । 

विगत दशकदेखि यहाँ निःशुल्क सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बालबालिका, विद्यार्थी, जेष्ठ नागरिक र साहित्यप्रेमीहरूको लागि यो स्थल खुला विद्यालयसरह बनेको छ ।

जेष्ठ नागरिक मञ्चका लागि १२ धुर जग्गा अनुदान गरिएको छ । समाजसेवी धरणीधर दाहालको नाममा संस्कृतिक केन्द्र स्थापना गरिएको छ । यहाँ प्रदेश १ का अधिकांश सिर्जना सङ्ग्रहित छन्, जसले यसलाई ‘कविताको संग्रहालय’ बनाइदिएको छ ।

यसरी, इटहरी म्याट्रिक्स केवल उद्यान होइन, यो समुदायको आत्मा हो–जहाँ सामाजिकता र साहित्य एउटै काखमा हुर्किन्छन् ।

विक्रम श्री : जीवन म्याट्रिक्सलाई अर्पण गर्ने साधक 

म्याट्रिक्सको हरेक बोटमा विक्रम श्रीको पसिना मिसिएको छ । उहाँको हरेक मूर्तिमा आत्मा घुलिएको छ ।

इन्जिनियर, मूर्तिकार, नाट्यकर्मी–यी सबै पहिचानलाई उहाँले एकै ठाउँमा ल्याएर म्याट्रिक्सलाई जीवन दिएका छन् । २०७५ सालमा म्याट्रिक्स ट्रस्टका रूपमा दर्ता भएपछि औपचारिकता त आयो, तर अनौपचारिक रूपमा विक्रम श्रीकै श्रम र आत्मसमर्पणले यो स्थललाई जोगाइरहेको छ ।

'उहाँले आफ्नो व्यक्तिगत जीवन, सम्पत्ति र समय म्याट्रिक्सलाई अर्पण गर्नुभएको छ । उहाँ साधक हुन्–कलाका, प्रकृतिका र संस्कृतिका । यद्यपि धेरै संरचनाहरू सम्पन्न भइसकेका छन्, कतिपय अझै निर्माणाधीन छन् । सांस्कृतिक भवन, प्रदर्शनी हल, अनुसन्धान केन्द्र–यी सबै अझै योजनाको नक्सामा छन् । तर सपना अधुरो भए पनि यात्रा थामिएको छैन ।

विक्रम श्री र उहाँको टोलीले बनाएको बाटोले देखाउँछ–सपना अपूर्ण भए पनि निरन्तरता नै वास्तविक सर्जकको पहिचान हो । 

सिर्जनाको आधुनिक आश्रम, कलाकारहरूको जीवित तीर्थ 

आज जब इटहरी म्याट्रिक्सको ढोका हुँदै भित्र पसिन्छ, लाग्छ–मानौं कुनै आधुनिक आश्रममा प्रवेश गरेका छौं । हरियालीले जीवनलाई शीतल पार्छ, मूर्तिले दर्शन दिन्छ, चराचुरुङ्गीले कविता सुनाउँछन् । यो केवल उद्यान होइन, यो साहित्यकारको मठ, कलाकारको तीर्थ, र सिर्जनशील आत्माको आश्रयस्थल हो ।

ऋषिमुनिहरूले प्राचीन आश्रममा श्रम र साधनाद्वारा ज्ञानको प्रकाश फैलाएजस्तै, म्याट्रिक्स आजका कलाकार र साहित्यकारहरूको नयाँ आश्रम हो–जहाँ श्रम, साधना र सिर्जना मिलेर भविष्यलाई उज्यालो बनाउन खोज्दैछ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया