सार्वजनिक सेवा परिणाममुखी भए मात्र निजामती कर्मचारी सेवा दिवसको सार्थकता हुन्छ

 भदौ २२, २०८२ आइतबार १०:३९:१३ | काशीराज दाहाल
unn.prixa.net

संविधानविद् तथा पूर्वप्रशासकलोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक नेतृत्व नीतिनियम र कानुन बनाउन जिम्मेवार हुन्छ भने, कर्मचारी प्रशासनले ती कानून र नीतिको कार्यान्वयन गर्दै नागरिक समक्ष सेवा पुर्‍याउने काम गर्छ । नागरिकको जन्मदेखि मृत्यु अघिसम्म विभिन्न सेवाहरू उपलब्ध गराउने दायित्व राज्यसँग हुन्छ, र त्यही जिम्मेवारीलाई पूरा गर्ने माध्यम निजामती प्रशासन हो । तर नेपालको सन्दर्भमा विगतदेखि अहिलेसम्मको अवस्था हेर्दा संरचनागत परिवर्तन भए पनि आचरणमा सुधार नहुनु नै ठूलो समस्या बनेको छ । सेवामुखी भन्दा पनि आफूमुखी व्यवहार बढ्दा परिणाममुखी प्रशासन विकास हुन सकेको छैन । प्रशासन सुधार आयोग गठन भएर प्रतिवेदनहरू आएका छन्, तर कार्यान्वयन भने हुने गरेको छैन । राज्यशक्तिको तदारुकता पनि त्यति देखिँदैन ।

निजामती क्षेत्रमा वर्तमान समस्या र जनगुनासो 

सार्वजनिक सेवामा ढिलासुस्ती, काम पन्छाउने, समयमा निर्णय नगर्ने जस्ता गुनासो निरन्तर आउने गरेका छन् । नागरिकको विश्वास घट्नु, छवि कमजोर हुनु र परिणाम नदेखिनु यस्ता समस्याका परिणाम हुन् । राजनीतिक प्रभावका कारण प्रशासनमा क्षयीकरण भएको छ । २०४८ सालपछि भएको दलीयकरणले निजामती सेवाको व्यवसायिकता, तटस्थता र निष्पक्षतामा ठूलो प्रश्न उठाएको छ । राजनीतिक दलले आफ्ना अनुकूल कर्मचारी खोज्ने, कर्मचारीले पनि संरक्षण खोज्ने प्रवृत्तिले संस्थागत गुणस्तरमा कमी आएको छ । अर्कोतर्फ अनावश्यक संरचना विस्तार, कर्मचारी दरबन्दी बढाउने, अनावश्यक खर्च बढाउने जस्ता कार्यले पनि प्रशासनलाई भारी बनाएको छ । कार्यसम्पादनमा नतिजा देखिँदैन । कुशल र योग्य देखिने कर्मचारी नै कतिपय अवस्थामा ठूला भ्रष्टाचार काण्डमा मुछिनु अर्को गम्भीर समस्या हो । यसले सार्वजनिक सेवाप्रति नागरिकमा नकारात्मक धारणाको विकास गरिरहेको छ ।

भ्रष्ट्राचार र अनियमितताको मूल कारण 

नेपालमा समाज नै अहिले सम्पत्ति, विलासिता र पैसाप्रतिको मोहमा चलिरहेको छ । हरेक कुरा पैसासँग जोडेर हेर्ने मानसिकताले कर्मचारीहरू पनि समय पाएको बेला कमाउने सोचमा लागेका छन् । यसले गर्दा अनियमितता र भ्रष्ट्राचार बढेको छ । पदमा पुगेका उच्च अधिकारीहरू समेत यस्ता मामिलामा मुछिनु यसको परिणाम हो । संविधान र कानूनले मार्ग देखाउँछ तर त्यसलाई लागू गर्ने विवेक र आचरण भने व्यक्तिले आफैं गर्नुपर्छ ।

निजामती क्षेत्र सुधारको आवश्यकता 

यो अवस्थामा निजामती क्षेत्र सुधारको मुख्य आधार भनेको आचरण हो । कर्मचारीले काम गरेर देखाउनुपर्छ, परिणाम देखिनुपर्छ । त्यसैले, नागरिकले छिटो र गुणस्तरीय सेवा पाउँछन् भने मात्र निजामती कर्मचारी दिवस मनाउनुको सार्थकता रहन्छ । राजनीतिक नेतृत्वले पनि कर्मचारीलाई सही सल्लाह र मार्गदर्शन दिनुपर्छ । सङ्घीय निजामती ऐन आउँदैछ, तर ऐन बनाउनु मात्रै पर्याप्त हुँदैन, कार्यान्वयनमा जोड दिनुपर्छ । संविधान र कानूनको पालना गर्न सके मात्र सुशासन सम्भव हुन्छ ।

निजामती सेवामा भावी पुस्ता र आशा 

नयाँ पुस्ताका कर्मचारीले लोभ–लालचमा नपरी इमान्दार र निष्ठावान भएर काम गर्नुपर्ने बेला आएको छ । जुन दिन कर्मचारी प्रशासनले आफ्नो भूमिकामा परिणाममुखी काम गरेर नागरिकको गुनासोलाई सम्बोधन गर्छ, त्यही दिन निजामती सेवाप्रति नागरिकको विश्वास बढ्छ । अमेरिका, बेलायतजस्ता देशमा संविधान अभ्यासमार्फत् जीवन्त हुन्छ, कागजमा मात्रै होइन । नेपालमा पनि त्यस्तै अभ्यास आवश्यक छ । तीनवटै तह (सङ्घ, प्रदेश, पालिका) बीच समन्वय कायम गर्न सके संविधान पनि जीवन्त हुन्छ, सुशासन सम्भव हुन्छ र विकासको बाटो खुल्छ । त्यसैले नेपालमा पूर्वाधार विकास त भइरहेको छ तर सुशासन र पारदर्शितामा अझै चुनौती छ । ढिलासुस्ती, दलीयकरण, भ्रष्टाचार, व्यक्तिगत स्वार्थ र अनुत्तरदायी व्यवहारले सार्वजनिक प्रशासनमा विश्वास घटाएको छ । यस्ता कमजोरीलाई छोडेर आचरण सुधार्दै परिणाममुखी, जनमुखी, पारदर्शी र जिम्मेवार प्रशासन निर्माण गर्न सके मात्रै नागरिकले गुणस्तरीय सेवा पाउनेछन् । त्यसैले, निजामती सेवा दिवस नारामा मात्र होइन, आफ्नो कामबाट परिणाम देखाउने सङ्कल्प गर्ने अवसर हुनुपर्छ । नागरिकले छिटो, प्रभावकारी सेवा पाउँछन् भने मात्रै यो दिवस मनाउनुको सार्थकता हुन्छ  ।

(संविधानविद् तथा पूर्वप्रशासक काशीराज दाहालसँग हृदय रिमालले गरेकाे कुराकानीमा आधारित) 

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

काशीराज दाहाल

न्यायपरिषद्को सचिवसमेत भएर काम गरिसक्नुभएका काशीराज दाहाल कानुनविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया