फेसबुकको घिटीघिटी : फेसबुकेहरूको छटपटी !

 भदौ २२, २०८२ आइतबार १२:४५:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

च्याटजीपीटीबाट

‘अब छोराछोरीलाई के देखाएर भात खुवाउने ? यो सरकारले पनि दुःख दिन मात्रै जानेको छ’ फेसबुकको भिडियो देखाएर छोराछोरीलाई भात खुवाउने बानी परेकी आमाले रेडियोमा समाचार सुन्नेबित्तिकै धारे हात लगाइन् । धन्न अहिलेसम्म फेसबुक चलिरहेको रैछ । त्यही भिडियो देखाएर हतारहतार छोराछोरीलाई भात खुवाइन् ।

‘लौन अब दोहोरी गीत र सिरियल कसरी हेर्ने ? मोबाइल हेर्न थालेपछि टिभी हेर्ने बानी छुटिहाल्यो, अब टिभी खोल्न पनि बिर्सिसक्यो । भोलिदेखि कसरी दिन कटाउने ? फेसबुक नभई बाँकी उमेर के गरेर जिउने ?’ सोच्दासोच्दै हजुरआमाले आँखा झिमिक्क नगरी रात कटाइन् ।

‘नेताहरूका टाउको र आवाज जोडिएका रमाइला दोहोरी हेरेर टाइमपास गर्न पाइएको थियो, अब यस्तो रमाइलो के मा हेरेर दिन कटाउने ?’ हजुरबाले कोटको खल्तीमा मोबाइल राखेर पुर्परोमा हात लगाए ।

‘रीस उठ्नेबित्तिकै मुख छाडेर गाली वर्षाउन पाउने ठाउँ फेसबुक बन्द भएपछि हात र मुख चिलाएर हैरान हुने भो’ बा हात कन्याउँदै भात खान बसे ।

‘अरूसँग बसेर सुन्न र हेर्न नमिल्ने कुरा कोठाभित्र एक्लै बसेर हेर्न र सुन्न पाइएको थियो, अब त्यस्ता कुरा कहाँ र कसरी भेट्ने ?’ ठिटाठिटी फेसबुक चल्ने वैकल्पिक तरिका खोज्न गुगल सर्च गर्न थाले ।

फेसबुकबाट कमाइ गरिरहेका, फेसबुकबाटै संवाद गरिरहेका, फेसबुकबाटै सूचना आदानप्रदान गरिरहेकाहरूलाई भन्दा धेरै छटपटी अरूलाई भयो । हुँदो र चाहिँदोभन्दा धेरै नहुँदो र नचाहिँदो कुरा भैरहने फेसबुकमा यतिसम्म हुनु नौलो कुरो चाहिँ भएन ।

तर अनौठो कुरा चाहिँ अरू नै भए । सरकारले फेसबुकमै लेखेर फेसबुक बन्द गर्‍याैँ भन्यो । जनताले फेसबुकमै लेखेर फेसबुक बन्द भएकोमा विरोध र समर्थन गरे । फेसबुक बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडायो भनेर मान्छेहरू फेसबुकमै तीन हात, बित्ता उफ्रिए । सरकारले फेसबुक बन्द गरेर ठिक्क गर्‍याे, फेसबुक सधैँका लागि बन्द हुनुपर्छ भनेर समर्थकहरूले फेसबुकमै लेखे ।

कसैले फेसबुक बन्द हुँदा आकाश खस्लाझैँ गरे । धर्ती नै फाट्लाझैँ ठाने । तर यसबीचमा न फेसबुक बन्द भयो, न खुला । न आकाश खस्यो, न धर्ती फाट्यो । फेसबुक बन्द भएर न सरकारलाई हाइसञ्चो भयो, न जनतालाई सुख । उल्टै फेसबुक बन्द भयो कि खुलै भनेर छिनछिनमा हेरिरहनुपर्ने झन्झटले दुःख मात्रै थप्यो । फेसबुक बन्द छ भनौँ भने बेलाबेला चलिरहन्छ, खुला छ भनौँ भने धेरैजसो अड्किरहन्छ घाटमा पुगेको मधौरुजस्तो । बाँच्ने र मर्ने दोसाधको मधौरुजस्तो सरकारले फेसबुकलाई घिटीघिटी बनाइदियो । तर यसकाे पनि आफ्नै स्वाद छ ।

पहिलो कुरा त सरकारकै मान्छेहरू फेसबुकविना बाँच्न नसक्ने रहेछन् । प्रधानमन्त्रीको फेसबुक हेर्दा यो कुरा प्रष्ट हुन्छ । फेसबुक पूरै बन्द भयो भने प्रधानमन्त्री र सरकारका मान्छेहरू कहाँ के गर्दैछन् भन्ने कुरा जनताले कसरी थाहा पाउने ? फेसबुक हेर्ने बानी भएका जनतालाई अरू माध्यमबाट जानकारी दिएर भएन । त्यसैले प्रधानमन्त्री कहाँ गए, के भने भनेर उनका सचिवालयका मान्छेहरूले प्रधानमन्त्रीकै फेसबुकबाट जानकारी दिइरहेका छन् । आफूलाई मन लागेको कुरा प्रधानमन्त्रीले फेसबुकबाटै भनिरहेका छन् । प्रधानमन्त्री र सरकारका मान्छेलाई राम्रोसँग थाहा छ कि आफ्नो कुरा भन्न र देखाउन फेसबुक नै चाहिन्छ । समर्थकहरूको ताली हेर्न पनि फेसबुकबाटै मज्जा हुन्छ । फेसबुकमा गाली गरेको पो हेर्न नसकिने हो । त्यही गाली गर्नेहरूको मुख टाल्न यसो गर्नुपरेको ।

फेसबुकलाई घिटीघिटी अवस्थामा राखेर सरकारले ताली र गाली तौलन खोजेको हो । घिटीघिटी भैरहेको फेसबुकमा ताली मात्रै आयो भने फेसबुक सधैँलाई बिउँतियो । तालीभन्दा गाली धेरै भयो भने सधैँलाई अस्तायो । अब तपाईं नै रोज्नुहोस्, आँखा चिम्लेर ताली ठोक्ने कि फेसबुकको बाँकी दुई मुठी सास पनि जाने गरी गाली वर्षाइरहने ?

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया