नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
मंसिर २८, २०८२ आइतबार
भ्रष्टाचार नियन्त्रण, सुशासन र बन्द भएका सामाजिक सञ्जाल खुलाउन माग गर्दै नातिनातिनी पुस्ताले पहिलोपटक गरेको प्रदर्शनमा गणतान्त्रिक भनिने सरकारले गरेको दमनले पञ्चायती बर्बरतालाई उछिनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका हातमा लागेको १९ जना किशोर किशोरी र युवायुवतिको रगतको दाग इतिहासले धुनसक्ने छैन । शासनमा स्वच्छता र रोजगारीका अवसर खोज्ने युवाको रगतले नेकपा एमाले र नेपाली कांग्रेसको बुढो पुस्ताको सङ्घर्ष, जेल, नेल र त्यागको इतिहासलाई साबुन लगाएर पखालेको छ ।
सत्ताको नशाले लट्ठ र मदमस्त निरङ्कुश र गैरजिम्मेवार केपी शर्मा ओलीले सरकार र पार्टी दुवैलाई असङ्गत र असान्दर्भिक बनाएका छन् । अलिअलि मानवीयता र जिम्मेवारीबोध भएका गृहमन्त्रीले राजीनामा दिँदा ओलीले सत्ताको मोह त्याग्न नसकेर पदको आशक्ति मात्र हैन, राज्यशक्तिको दुरुपयोग गरि दमनको बाटो समातेका छन् । काठमाडौ उपत्यकामा अहिले लागको कर्फ्यूले ओलीबाट नैतिकताको आश गर्नु कागतीको बोटले सुन्तलाको फल दिन्छ भन्ने बेकारको आशा गर्नु मात्रै हो भन्ने प्रमाणित गरेको छ ।
होनाहार युवाहरुको ज्यान लिने घटनामा ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि उत्तिकै जिम्मेवार छन् । सामाजिक सञ्जाल बन्द गरेर लाखौं युवाको रोजीरोटी, सूचना आदानप्रदान र सन्देश प्रवाह रोकिदा देउवा चुईंक्क बोलेनन् । ओलीलाई उनले सामाजिक सञ्जाल बन्द गर्न हुँदैन मात्र भनेको भए सम्भवत जेनजीको आक्रोश मोबाइल र ल्याटपमै सीमित रहने थियो । तर अहिले त देशका प्रमुख शहरका सडकहरु मृतक र घाइतेको रगतले भिजिसकेका छन् ।
भ्रष्टाचार अन्त्य र सुशासन तथा सुव्यवस्थाको माग गरिरहेका युवालाई तह लगाउन ओलीले सामाजिक सञ्जाल बन्द गरेर राष्ट्रवादी नायक बन्ने अस्त्र ठानेका थिए । अब कसैबाट यो कुरा छिपेको छैन । जेनजी पुस्ताको आक्रोश पटकपटक सत्तामा पुगेर आफू, आफ्ना नातेदार र आसेपासेलाई पोस्ने प्रवृत्तिविरुद्ध हो । यो प्रवृति विरुद्ध जागेको जेनजी पुस्ताको आन्दोलन सत्तामा ओली, देउवा, प्रचण्ड, झलनाथ वा माधव नेपालको बुढो र थाकेको अनुहार हेर्न तयार छैन । निषेधाज्ञा र कर्फ्यूले ओली र देउवाले सत्ता केही दिन तन्केला, तर यसको आयु सकिएको छ । ओली र देउवाको विरोध गरेर प्रचण्ड, झलनाथ र माधव नेपालले आफ्नो चोखोपन प्रमाणित गर्ने सपना पनि कसैले नदेखेकै राम्रो हो । त्यो जत्थाले पनि आफ्नौ औचित्य गुमाइसकेको छ ।
जेनजी आन्दोलन ओली र देउवाविरुद्ध केही युवाको सामान्य आक्रोश मात्र होइन, यो त देशलाई सबल, सफल र विकसित बनाउन शासन प्रणालीलाई स्वच्छ, निस्पक्ष र समावेशी बनाउने युवा उद्घोष होे । यो पुस्तालाई आकर्षक नारा र शब्द होइन, परिणाम, पारदर्शिता र जवाफदेही चाहिएको छ । पुराना दलका नेताले दशकौँदेखि बेच्दै आएको ‘हामीबिनाको राजनीति सम्भव छैन’ भन्ने भ्रमको अन्त्य सडकमा निस्केको नयाँ पुस्ताको ऊर्जा, आक्रोश र रगतले स्पष्ट शहरका मूल सडकहरुमा लेखिसकेको छ ।
युवापुस्ताको माग रोजगारी, शिक्षा वा अवसर मात्र हैन । शासन प्रणाली, नीति निर्माण र विकासमा सहभागिता र भ्रष्टाचारको अन्त्य, शुसासन र सामाजिक स्वच्छता हो । यो चाहना र दृष्टिकोणमा विश्वास भएका हरेक पार्टीका युवाहरुले अब पुरानो पुस्तालाई बाटो छोड भन्न र नछाडे गलहत्याउन अघि सर्नुपर्छ । नेपाली कांग्रेस, एमाले र अरू पार्टीका युवासित त्यति आँट छैन भने उनीहरुलाई पनि इतिहासले ओली र देउवाका दासमा गणना गर्नेछ । राजनीति गर्ने हरेक पार्टीका युवाहरुसँग अब दुई स्पष्ट विकल्प छन्- ओली र देउवासितै समाप्त हुने कि नयाँ पुस्ताको आन्दोलनको मर्मलाई सम्बाेधन गर्न अघि सर्ने ! ओलीको राजीनामाले देउवा र प्रचण्डलाई हैन, सत्तामा युवा अनुहार खोजेको छ । त्यसका लागि हरेक पार्टीका युवाले बुढो पुस्ताको मार्ग बैधानिक रुपले खोल्नैपर्छ । यो बेला त्यस काममा अघि नसर्ने युवा राजनीतिक कार्यकर्तालाई अहिलेको आन्दोलनले राम राम मात्र भन्नेछ, काँँध थाप्ने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।