सरकारले युवाको इच्छा नबुझ्दा घटना भएको हो, अब संयमतापूवर्क समाधान गर्नुपर्छ

 भदौ २४, २०८२ मंगलबार १५:४९:१७ | लोकराज बराल
unn.prixa.net

काठमाण्डौ उपत्यकासहित देशभर हिजोदेखि 'जेन जी' पुस्ताले प्रदर्शन गरिरहेका छन् । विश्वका धेरै देशहरूमा 'जेन जी' पुस्ताहरूको प्रदर्शन चलिरहेको छ । यस्ता प्रदर्शन बेलाबेला स्वतःस्फूर्त हुने गरेका छन् । सरकारले अहिलेको पुस्ताको माग बुझ्न नसक्दा यस्ता किसिमको आन्दोलन हुने गरेको छ । सरकार युवा पुस्तालाई पन्छाएर अघि बढ्न सक्दैन भन्ने उदाहरण यो प्रदर्शनबाट देखिन्छ । सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि घरभित्र र सामाजिक सञ्जालमा चलिरहेको विरोध सडकमा उत्रिएको हो । यस्ता प्रदर्शन बढ्दै जाँदा मागहरू पनि थपिँदै जान्छ । समयमै समाधानको प्रयास हुनुपर्छ ।

हिजो ज्यान जाने लगायतका घटना भएका छन् । यो दुःखद हो । तर देशमा व्याप्त भ्रष्टाचार रोक्नका लागि यस्ता आन्दोलन चाहिन्छ । अहिले नेतृत्व सुध्रनै नचाहने भएकोले यो अत्यावश्यक छ ।

यस्तो अवस्थामा सबै पार्टी, नागरिक समाजलगयातका सरोकारवालहरूसँग बसेर छलफल गरेर एउटा निचोड निकाल्नुपर्छ । यो कुनै व्यवस्था विरोधी आन्दोलन त होइन । सरकारले नयाँ पीडिको आक्रोश बुझ्न नसक्दा यो गति हुन पुगेको हो । सामाजिक सञ्जाललाई योजनाबद्ध ढङ्गले नियमन गर्नुपर्नेमा नियन्त्रणमा जाँदा युवा पुस्तामा आक्रोश बढेको हो ।

सरकार भष्ट्राचारको सवालमा सचेत हुनुपर्छ । पहिलेजस्तो नागरिकलाई पेलेर लैजान्छु भन्ने अवस्था छैन । केपी शर्मा ओलीले राजीनामा दिँदै गर्दा शेरबहादुर देउवा विकल्प होइन ।

'जेन जी' पुस्तालाई पनि समेटेर अघि बढ्नुपर्छ

सरकारले गल्ती गर्‍याे भन्दैमा विपक्षीले सही कदम चाल्न सकेन भने संविधानमै आघात पुग्छ । यो प्रदर्शन गरेको नराम्रो त होइन तर मानिसको ज्यानै जाने गरी आन्दोलन हुँदा असर परेको देखिन्छ । राजनीतिक दलको गतिविधि हेर्दा कुनै दबाव नदिइकन भष्ट्राचारमुक्त हुन पनि गाह्रो छ । यो स्थिति सम्हाल्न सबै राजनीतिक दल एक ठाउँमा आएर ठोस योजना र निर्णय गर्न आवश्यक देखिन्छ । यसमा 'जेन जी' पुस्तालाई पनि समेटेर अघि बढ्नुपर्छ । यस्तो बेला विपक्षी दलहरू पनि संयमित भएर अघि बढ्नुपर्छ ।

अब जेन जीको भूमिका

अहिले जेन जी पुस्ता जुरमुराइरहेका छन् । तर यिनीहरूका नेता को हुन् भन्ने स्पष्ट छैन । 'जेन जी' का नेताहरू पहिचान हुनुपर्छ । यही बेला नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् । उनीहरूले भावनात्मक अवस्थामा राजीनामा दिएका हुन् । राजनीतिक दल नभई देश चल्न सक्दैन । सबैको ध्यान अहिलेको व्यवस्था जोगाउने किसिमको हुनुपर्छ ।

पार्टीको नेतृत्व आउने जाने भइरहन्छ । तर पार्टी बलियो हुनुपर्छ । पार्टी बलियो हुन लोकतान्त्रिक पद्धति र प्रणाली अनुसार चल्नुपर्छ । एक जना मात्रै धेरै समयसम्म नेतृत्वमा बसिरहँदा आक्रोश बढ्दै जान्छ । त्यसैले राजनीतिक संस्कार बढाउँदै लैजानुपर्छ । भष्ट्राचार हुँदा आफ्ना मानिसलाई बचाउने र अर्कालाई कारबाही गर्ने काम गर्नु हुँदैन ।

'जेन जी' ले गरेको यो आन्दोलनलाई अब शान्त बनाउनुपर्छ । घटनाक्रम निकै अघि बढिसकेको छ । अब स्पष्ट परिवर्तन हुने गरी सबै मिलेर समस्याको निकास निकाल्नुपर्छ । यस्तो बेला धेरै किसिमका तत्त्वहरूले आन्दोलनलाई स्वार्थमा प्रयोग गर्न सक्ने भएकोले सबै पक्ष सचेत हुनुपर्छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

लोकराज बराल

बराल परराष्ट्रविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया