बुढा नेताको गन्थन : ‘जेनजी लेबल’ कि चौरासीपूजा !

 भदौ २९, २०८२ आइतबार १२:६:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

‘हेलो देउवाजी ! ए देउवाजी ! हैन कसरी सुत्न सकेको यो यस्तो बेलामा पनि ? हेलो सभापतिजी ! ए देउवाजी !’

‘को हँ ? फेरि को जी आयो ? एउटा जीले यस्तो हालत बनायो । फेरि अर्को को जी ?’

‘देउवाजी भनेको हो क्या, अर्को जी हैन । कत्ति आत्तिएको हो तपाईं ? म ओलीजी !’

‘ओलीजी ! ए तपाईं सकुशल नै हुनुहुन्छ ? किन आएको यहाँ ? मलाई तपाईंको अनुहार पनि हेर्न मन छैन ?’

‘मेरो अनुहार मलाई नै त हेर्न मन छैन, तपाईंलाई कसरी होओस् त ! उ यहाँ हेर्नुहोस्, प्रचण्डजी पनि हुनुहुन्छ । प्रचण्डजीलाई पनि हेर्न मन थिएन मेरो अनुहार । मलाई त उहिल्यैदेखि उहाँको अनुहार हेर्न मन थिएन । हामी एक–अर्काको अनुहार नै नहेरी तपाईंको अनुहार हेर्न आएको !’

‘किन आउनुपर्‍याे मेरो अनुहार हेर्न ? हेरिसाध्ये भए पो ! बजियाहरूले यो हालत बनाए । हुन त धारे हात त्यता किन लाउनु ? तपाईंलाई लाउनुपर्ने हो । के गर्नु सम्झँदा पनि चिमोटी चिमोटी....’

‘हेर्नुहोस् आवेशमा नआउनुस् । यस्तो हुन्छ भन्ने के थाहा भयो र ?’

‘खुब भूत, वर्तमान, भविष्य सबै थाहा भएझैँ ज्ञान छाँट्नुहुन्थ्यो त उ बेला । मेरो हात हेर्ने ज्योतिष र तपाईं उही ड्याङका मुला । त्यो ज्योतिषलाई भेटौँ न मात्रै... ! तपाईं पनि उता जानुस्, अनुहार हेर्न मन छैन !’

‘हेर्नुहोस् हामी कसैको अनुहार पनि देखाउन र हेर्न लायक छैन । तर के गर्नु ? मर्न भएन, बहुलाउन भएन ।’

‘म त मरेर पनि बाँचेँ । बहुलाएर पनि सद्दे हुँदैछु.. !’

‘हाम्रो हालत पनि त्यस्तै हो देउवाजी । फरक यत्ति हो, तपाईं भाग्नुभएन हामी भाग्यौँ ।’

‘भगौडाहरू किन आएको त यहाँ ?’

‘अनि के यसरी नै लुकेर बस्ने त ?’

‘के गर्ने त के ? मलाई त पहिले ओलीजीको अनि त्यसपछि त्यो ज्योतिषको गाला पड्काउन मन छ ।’

‘आवेशमा नआउनुस् क्या ! ज्योतिषले भनेको मिल्ने दिन पनि आउँछ ।’

‘कहिले आउँछ ? कसरी आउँछ ?’

‘ओलीजीले आइडिया पत्ता लगाइसक्नुभएको छ ।’

‘हाहा ओलीको आइडिया । यिनकै कारण हाम्रो यो अवस्था आएको बिर्सनुभयो प्रचण्डजी ?’

‘बिर्सिएको त छैन नि । सम्झनेबित्तिकै अहिल्यै यहीँ कोपरौँजस्तो लाग्छ । तर के गर्नु अब केही न केही आइडियाले उठ्न त पर्‍याे नि हामी सबै जना ।’

‘कसरी उठ्ने त ? के हो त्यो आइडिया ?’

‘पुरानो बोतलमा नयाँ लेबल टाँस्ने ।’

‘मेरो त पुरानो बोतल बाँकी भए पो ? सबै लगे बजियाहरूले ।’

‘त्यो बोतल भनेको होइन क्या, त्यो त हाम्रो पनि कहाँ बाँकी राख्या छन् र !’

‘कस्तो बोतल त कस्तो ?’

‘हाम्रा आ–आफ्ना पार्टीको बोतल ! त्यही पुरानो बोतलमा नयाँ जेनजी लेबल टाँस्ने !’

‘फेरि जेनजी ? नसम्झाऊ मलाई यो नाम !’

‘नआत्तिनुस् क्या । अब यो नाम सम्झने मात्रै होइन, जपेरै हिँड्नुपर्ने बाध्यता छ । अब देशमा बिक्ने नाम यही एउटा बाँकी छ । व्यापार व्यवसायमा मात्रै होइन, पार्टीभित्र पनि जेनजी शब्द कतै न कतै घुसाइएन भने अगाडि बढ्न गाह्रो छ ।’

‘वास्तवमा जेनजी भनेको मैले बुझेकै छैन ।’

‘हामीले पनि कहाँ बुझेका थियौँ र । अहिले तन्नेरी हुँदै गरेका हाम्रा नातिनातिना पुस्तालाई जेनजी भन्दा रैछन् । २८ वर्षभन्दा मुनिका युवा । अङ्ग्रेजीबाट आएको रैछ । पछिल्लो जेनेरेशन अर्थात् जेनेरेशन जेड ।’

‘जेनेरेशन जेड भनेपछि त जेन जेड भन्नुपर्ने रैछ त । किन यिनीहरू जीका जी भन्छन् ?’

‘जेडलाई जी भन्छन् रे । तर जेडलाई जी भनेकैले हाम्रो लागि फाइदा छ ।’

‘कसरी ?’

‘जेड भनेको अहिलेको पछिल्लो नयाँ पुस्ता । त्योभन्दा अघिल्लो पुस्तालाई वाई, अनि झन् अघिल्लोलाई एक्स । यसरी हिसाब गर्दै ल्याउँदा हामी त्यही एक्स, डब्ल्यूतिर पर्छाैँ होला । तर हामीलाई सबैले बुढा नेता भन्छन् । ठीक छ, अब यिनीहरूले हामीलाई बुढा भनेको स्वीकार गरौँ । एक्स, डब्ल्यूमा होइन, त्योभन्दा पनि बुढो देखिन अझै तल झरेर जे, आई, एच, जीसम्म आऔँ । अनि असली जेनजी हामी !’

‘हाहा तातो न छारोको कुरा । पत्याउलान् नि जनताले ?’

‘जनतालाई तपैंले चिन्नुभएको छैन र ? अहिलेसम्म तिनैलाई उल्लु बनाउँदै यहाँसम्म आएको होइन र ? नयाँ कुरा जे गरे पनि शुरूमा पत्याउँछन्, पछि पछुताउँछन् । पत्याउने र पछुताउने क्रम राजा, राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा चलिरहेको थियो भने अब पनि चल्छ । अहिले केही दिन हामी पछुताई दिऔँ, हामी पछुताएको देखेपछि मात्र उनीहरूको फेरि पछुताउने पालो आउँछ ।’

‘हेर्नुहोस् अब सबैतिर जेनजी जोड्नुपर्छ । सबैभन्दा पहिले त अहिलेका केटाकेटी जेनजेड, हामी जेनजी । त्यसैले हाम्रो पार्टी र भ्रातृ सङ्गठनहरूको नाम पछिल्तिर जेनजी झुण्ड्याउने । एमाले जेनजी, काङ्ग्रेस जेनजी, माओवादी जेनजी । अखिल जेनजी, नेविसङ्घ जेनजी....।’

‘खुब जेनजी जेनजी भनिरहनुस् ओलीजी । कुन दिन जेल जानुपर्ने हो ! पहिले तपाईंलाई नै लैजालान् जस्तो छ !’

‘म मात्रै किन ? तपाईंहरूका त घरघरमा समेत पैसाका बिटा भेटिए भन्थे । धन्न मेरोमा त किताब मात्रै भेटेछन् ।’

‘भएको पैसा कहाँ राख्ने त, तिनको घरमा लगेर राख्नुपर्ने हो र ?’

‘ल ल आवेशमा नआउनुस् । अब उठ्नुपर्छ । यसरी लुकेर र सुतेर मात्रै हुन्छ ?’

‘उठ्ने नै हो त ? खै त्यो लेबल टाँस्ने बोतल कता छ ?’

‘बोतल भन्नेबित्तिकै फेरि त्यही बोतल नसम्झनुस् न । साङ्केतिक रूपमा भनेको हो क्या । पार्टीलाई नयाँ ढङ्गले उठाउने भनेको ।’

‘भो सकिँदैन उठ्न । तपाईंहरू पनि पार्टी पार्टी भनेर अहिलेदेखि नै ताउरमाउर नगर्नुस् । मेरोजस्तो हालत होला । बरु उति बेला भनेको मिसन चौरासीलाई पुनः परिभाषित गरौँ । त्यो भनेको हाम्रो चौरासी पूजा हो, त्यो पूजासँगै हामी तीर्थव्रतमा लाग्छौँ भनौँ । त्यसो भए ज्यानले सुख पाउला । नत्र गाह्रो छ है साथीहरू ! उ माधवजी र जेएनजी पनि आउनुभएछ !’

‘जेनजी रे.... ! भागौँ भागौँ प्रचण्डजी.... !’

‘हरे झलनाथजीलाई उनीहरूले जेएन कामरेड भन्थे । मैले जेएनजी भनेको जेनजी सुनेर कुलेलाम ठोकेछन् ! ल तपाईंहरू चाहिँ मलाई हेर्नुहोस् मात्रै नबोल्नुस् ल । उहाँहरूसँग अलि धेरै न बोलिएछ, गाह्रो भो !’

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया