स्रोत साधन जुटाएर प्रहरीको मनोबल बढाउनेतर्फ ध्यान दिन जरुरी छ

 भदौ ३१, २०८२ मंगलबार १५:१:५३ | भीमप्रसाद ढकाल
unn.prixa.net

नागरिकको दैनिक सुरक्षाको जिम्मेवारी बहन गर्ने प्रमुख निकाय नेपाल प्रहरी हो । विगतमा पनि राजनीतिक आन्दोलन, दङ्गा–फसाद र असामान्य परिस्थितिमा प्रहरी निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको छ । तर पछिल्लाे जेन–जी आन्दोलनपछि प्रहरीमा अपूरणीय क्षति भएको छ—धेरैले ज्यान गुमाए, सयौं घाइते भए, प्रहरी कार्यालयहरू तोडफोड र आगजनीका कारण ध्वस्त बने, सरकारी गाडीसमेत नोक्सानीमा परे । यी घटनाले प्रहरीको मनोबलमा गहिरो घाउ पारेको छ ।

अब प्रहरीलाई नोक्सानीको क्षतिपूर्ति गर्दै, मानसिक दबाव हटाउँदै र आवश्यक साधन–स्रोत उपलब्ध गराउँदै अघि बढ्नु आजको मुख्य चुनौती बनेको छ ।

आन्दोलनका कारण सुरक्षा सामान्य राख्न कठिनाइ भएको छ जसले गर्दा समाजमा आपराधिक तत्त्वले सक्रिय बन्न प्रोत्साहन पाएका छन् । यसले नागरिकको प्रहरीप्रतिको विश्वासमा पनि केही कमी आएको देखिन्छ । अब फेरि त्यही विश्वास पुनर्स्थापित गर्नु र अझ बढाउनु प्रहरीका लागि अर्को ठूलो चुनौती बनेको छ । त्यसका लागि छिटोभन्दा छिटो साधन–स्रोत जुटाउने र प्रहरीको मनोबल बढाउनेतर्फ ध्यान दिनु आवश्यक छ ।

विभिन्न प्रहरी चौकी र कार्यालयमा भएको तोडफोड र आगजनीले ठूलो भौतिक क्षति पुर्‍याएकाे छ । आवश्यक साधन–स्रोत, बस्ने, खाने, लगाउने सुविधा, गाडी र काम गर्ने ब्यारेजसमेत नष्ट भएका छन् । नागरिक तहबाट सहयोग भइरहेको भए पनि सरकारले गम्भीरतापूर्वक ध्यान दिई प्रहरीलाई छिटोभन्दा छिटो काम गर्न सक्ने अवस्थामा फर्काउन आवश्यक छ । प्रहरी जतिसक्दो चाँडै सक्रिय भयो असुरक्षाको वातावरण त्यति नै चाँडो कम हुन्छ ।

साधन–स्रोतको क्षतिलाई मूल्याङ्कन गरेर सरकारले तत्काल पुनर्स्थापना गर्नुपर्छ । अहिले प्रहरीका लागि छत, पकाएर खाने सुविधा, आराम गर्ने ठाउँ र काम गर्न आवश्यक साधन–स्रोतको व्यवस्था छिटोभन्दा छिटो हुनु अपरिहार्य छ । यस प्रक्रियामा नागरिक तहबाट प्राप्त सहयोग र साथ नै प्रहरीका लागि ठूलो हौसला बनेको छ ।

अहिलेको अवस्थामा नागरिक सुरक्षालाई मजबुत बनाउनु अत्यावश्यक छ । यसका लागि नागरिक स्वयंले स्रोत–साधन जुटाएर प्रहरीका लागि बस्ने व्यवस्था मिलाइरहेका छन् । आन्दोलनमा ध्वस्त भएका प्रहरी चौकी र कार्यालय पुनर्निर्माणमा पनि स्थानीयवासीले सहयोग पुर्‍याइरहेका छन् । प्रहरीलाई चाँडै पुरानै शैलीमा फर्काउन समाजका विभिन्न तहबाट माग बढ्दो छ ।

नागरिक तर्फबाट देखिएको यस्तो माया र सहयोग नै अहिले प्रहरीको मुख्य प्रेरणाको स्रोत बनेको छ । यसले प्रहरीको मनोबललाई मात्र बढाएको छैन, चुनौतीपूर्ण अवस्थामा मनोबललाई अझ दह्रो बनाउने ऊर्जा पनि दिएको छ ।

आमनागरिकको ज्यान र सम्पत्तिको सुरक्षा नै राज्यको पहिलो प्राथमिकता हो । आउँदा दिनमा नागरिक मात्र होइन, सार्वजनिक निकाय र सेवा दिने कार्यालयहरूको सुरक्षा पनि समान रूपले महत्त्वपूर्ण हुन्छ । र त्याे जिम्मेवारी प्रहरीकै काँधमा पर्छ । यही महत्त्व बुझेर प्रहरी फेरि पुरानै शैलीमा खटियोस् र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिइयोस् भन्ने अपेक्षा धेरै नागरिकको छ ।

अब गर्नुपर्ने पहिलो काम भनेको अहिलेसम्म भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्नु हो । त्यसपछि तत्काल, मध्यमकालीन र दीर्घकालीन कामको वर्गीकरण गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ । यसका लागि केन्द्र, प्रदेश र पालिकाबीच घनिष्ठ समन्वय आवश्यक छ ।

अहिलको आपत्कालीन अवस्थामा कुनै नागरिकलाई सुरक्षाको आवश्यकता परे तुरुन्तै विभिन्न सुरक्षा निकायका आपत्कालीन नम्बरमा सम्पर्क गर्नुपर्छ । ट्राफिकसम्बन्धी समस्याका लागि १०३, अन्य आपत्कालीन अवस्थाका लागि १०० मा फोन गर्न सकिन्छ । साथै विभिन्न पदाधिकारीका सम्पर्क नम्बर प्रहरीको वेबसाइटमा उपलब्ध छन् । त्यहाँ सम्पर्क गरेपछि नजिकैको प्रहरीले तत्काल प्रतिक्रिया जनाउने व्यवस्था गरिएको छ ।

अहिलेको अवस्थामा केही पालिका र नागरिक समूहहरू– जस्तै टोलमा बनेका समिति र क्लबहरूले आफ्नो समुदायभित्र देखिएका समस्याको समाधानमा सहयोग गरिरहेका छन् । त्यसैले नागरिकले आफ्ना पालिकाका प्रतिनिधि वा स्थानीय समूहबारे जानकारी लिएर आवश्यक पर्दा सम्पर्क गर्न सक्छन् । यस्ता टोलीहरूले आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई प्रहरीमा बुझाउने, अपराध हुन नदिने जस्ता काम गरेर प्रहरीलाई थप सहयोग पुर्‍याइरहेका छन् ।

हरेक घटनाले केही न केही पाठ सिकाउँछ । त्यसैले आफ्ना कमजोरीको स्वमूल्याङ्कन गर्दै कार्यसम्पादन र परिचालन सुधार्नु जरुरी छ । सूचना सङ्कलन गरेर विश्लेषण गर्नुपर्छ र परिस्थितिअनुसार हुने सम्भावित परिवर्तनको पूर्वविश्लेषण निरन्तर गर्न आवश्यक छ । नेतृत्व तहमा रहने अधिकारीहरूले जवानको मनोबल बढाउने, प्रेरणा र ऊर्जा थप्ने काम निरन्तर गर्नुपर्छ ।

अहिले धेरै जिल्लामा भीड नियन्त्रण गर्ने साधन–स्रोतको अभाव छ । कानूनमा उल्लेख भए जस्तै आवश्यक सामग्री नहुँदा सुरक्षाकर्मीलाई काम गर्न कठिनाइ भएको छ । त्यसैले तत्काल स्रोत–साधन उपलब्ध गराएर सुरक्षाकर्मीलाई कानून अनुसार जिम्मेवारी निर्वाह गर्न सहज वातावरण बनाउनुपर्छ ।

(पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीम ढकालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भीमप्रसाद ढकाल

ढकाल नेपाल प्रहरीका पूर्वएआईजी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया