नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
मंसिर २८, २०८२ आइतबार
इतिहासदेखि अहिलेसम्मको अवस्था हेर्ने गर्ने हो भने नेपालको वास्तुकला/भवन इन्जिनियरिङ/शिल्पशास्त्र आफ्नै मौलिकता, धार्मिक सांस्कृतिक आयाम र विभिन्न वैदेशिक प्रभावले पूर्ण भएको देखिन्छ ।
रैथाने तथा मौलिक वास्तुकला हुँदै मल्लकालीन अद्भूत वास्तुकला, मुगल, शिखर, डोम शैली, राणाकालीन नियोक्लासिकल वास्तुकला हुँदै रोबर्ट वाइस, लुई कान लगायत विश्वप्रसिद्ध वास्तुविद्सहित नेपालका गौरीनाथ रिमाल, शङ्करनाथ रिमाल लगायतहरूको सुन्दर आर्किटेक्चर रचनाले विकसित हुँदै आएको नेपालको शिल्पशास्त्र हालसम्म आइपुग्दा विश्वका नवीनतम् प्रविधि र स्टकचरल कन्ट्रोल सिस्टम जस्ता प्रणाली युक्त भवनको निर्माण तथा डिजाइनको चरणमा पुगेको छ ।
समयक्रमसँगै पौरुषेय तथा पाश्चात्य डिजाइन र निर्माणको मिश्रित भूमिका रूपमा नेपाल विकसित हुँदैछ । तर समय क्रममा नेपालमा आउने विपद्ले नेपालका यस्ता महत्त्वपूर्ण संरचना र कलालाई क्षति गर्ने गरेको नमिठो अनुभव पनि हामीले सँगाल्दै आइरहेका छौँ ।
हालसम्मको अनुभव हेर्ने हो भने भूकम्पका कारण हामीले विशेष संरचनाहरूमा क्षति व्यहोरेका थियौँ तर हालसालै २०८२ साल भदौ २४ गते भएको आन्दोलन र त्यसमा भएको तोडफोड र गम्भीर आगजनीबाट हामीले हाम्रा यस्ता विशिष्टीकृत संरचनाहरूमा क्षति व्यहोर्ने बाध्य भएका छौँ ।
प्रारम्भिक तथ्याङ्क अनुसार देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ साथै १ हजार ५ सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । जसमध्ये ३ सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भए भने ८ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । यस्तै ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भए भने २ सय ९२ व्यापारिक तथा निजी भवनमा आंशिक रूपमा क्षति पुगेको छ ।

यस्तै विभिन्न राजनीतिक दलका ४५ पार्टी कार्यालय पूर्ण क्षति भए भने १ सय ७४ कार्यालयमा आंशिक रूपमा क्षति पुगेको छ । नेपाल प्रहरीका १ सय ७७ भवन पूर्णरूपमा क्षति भए भने २ सय ५८ भवनमा आंशिक क्षति भएको छ ।
सबै भवनको आफ्नो प्रयोजन, उपयोगिता, विशेषता भए पनि पुर्खा र पुस्ताले सुम्पेका सिंहदरबार, शीतलनिवास, बबरमहल दरबार, सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जस्ता पुरातात्त्विक, ऐतिहासिक र विरासत बोकेका विशिष्टीकृत संरचना पनि यसै आगजनीबाट क्षतिग्रस्त भएका छन् ।
जङ्गबहादुर राणा युरोप भ्रमण गरेर फर्केपछि त्यहाँकै शैलीमा राणाकालीन दरबार बनाउन शुरू गरियो । हाल क्षतिग्रस्त भएका सिंहदरबार, शीतलनिवास र बबरमहल दरबार नियोक्लासिकल शैलीमा निर्माण गरिएका राणाकालीन दरबार हुन् । यी तीनै दरबार पाँचौं राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा निर्माण गरिएको हो ।
चन्द्रशमशेरले १९६० सालमा सिंहदरबार बनाउन लगाएका थिए । १७ सय कोठा तथा विभिन्न चोकहरू भएको दरबार बनाउन १ वर्ष र तत्कालीन समयमा २५ देखि ५० लाख रुपैयाँसम्म खर्च भएको भनेर विभिन्न तथ्यहरू पाइन्छ ।
त्यस्तै चन्द्रशमशेरले १९८० सालमा छोरा कृष्णशमशेरका लागि शीतलनिवास नामक दरबार निर्माण गरिदिएका थिए । आगजनीपूर्वक सडक विभाग रहेको बबरमहल चन्द्रशमशेरले आफ्ना माहिलो छोरा बबरशमशेरलाई निर्माण गरिदिएको भवन हो ।
हाल क्षतिग्रस्त भएका सर्वोच्च अदालतको भवन, स्वास्थ्य मन्त्रालयको भवन र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने शाहकालीन शासनको बखत निर्माण गरिएका प्रशासनिक भवन हुन् ।

तत्कालीन राजा श्री ५ महेन्द्रले २०१३ साल फागुन २७ गते सर्वोच्च अदालतको भवन शिलान्यास गरेका थिए जसको डिजाइन इन्जिनियर गौरीनाथ रिमालले तयार पारेका हुन् । यो भवन तत्कालीन समयमा ११ लाख रुपैयाँ खर्च गरी ६ वर्ष लगाएर २०१९ सालमा निर्माण सम्पन्न भएको थियो ।
पृथक नेपाली शैलीमा अगाडिपट्टि दुई तला लामो बुट्टेदार आँखीझ्यालजस्तो काष्ठकलाको कलात्मकताले यसलाई सुन्दर रूप दिएको थिए । त्यस्तै विश्वप्रसिद्ध वास्तुविद् लुई कानको डिजाइनमा निर्मित तथा तत्कालीन राजा श्री ५ वीरेन्द्रले २०३२ साल पुस १३ गते उद्घाटन गरेको केही अगाडिसम्म स्वास्थ्य मन्त्रालय रहेको भवन नेपालको आर्किटेक्चर इतिहास र वास्तुशिल्पको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा नमूनाका रूपमा स्थापना गराउने एउटा कडी थियो ।
तत्कालीन राजा वीरेन्द्रले विदेशी पाहुना सहभागी गराउन मिल्ने सभाहल बनाइदिन चीनसँग अनुरोध गरेपछि चीनले उपहार स्वरूप वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइदिएको थियो जुन भवनको उद्घाटन २०५० साल मङ्सिरमा राजा वीरेन्द्रले गरेका थिए ।
भवनको डिजाइन चिनियाँ इन्जिनियर तथा आर्किटेक्टले गरेका थिए भने चीन सरकारको झन्डै १ अर्ब अनुदान र नेपाल सरकारको डेढ करोड रुपैयाँ लागतमा सम्मेलन केन्द्र तयार भएको थियो । विभिन्न घटनाक्रमसँग जोडिँदै, राजनीतिक परिवर्तनहरूको साक्षी बन्दै तथा विभिन्न विपद्बाट ढल्दै उठ्दै यी संरचनाहरू आजसम्म उभिरहेका थिए ।
तर हाल आगलागीले यी खण्डहर बन्न पुगेका छन् । खण्डहर बन्नुपूर्व पनि शासन सत्ताको केन्द्रविन्दु रहेको सिंहदरबार २०३० साल असार २५ गते आगलागीमा परेर ध्वस्त भएकाे थियो । त्यस बेला ‘विद्युत् शर्ट’ भएर भनिएकाे आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए । तत्कालीन समयमा पनि सिंहदरबारलाई पुनर्निर्माण गरियो ।

साथै माथि उल्लिखित तिनै दरबार र अदालतको भवनले गोरखा भूकम्पमा क्षतिको सामना गर्नुपर्याे, भूकम्पपछि पुनः सबलीकरण भएर बबरमहल र सिंहदरबारका केही भाग र अदालत प्रयोगमा आएको केही वर्षमात्र भयो भने शीतलनिवास पुनः सबलीकरण हुँदै थियो ।
करोडौंको लगानीमा पुनः सबलीकरण गरेर संरचनागत रूपमा पहिलेभन्दा पनि सुदृढ बनाइएका यी संरचना यस्तो अकल्पनीय घटना भएर हालको अवस्थामा पुग्नेछन् भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । नेपाल बीमा प्राधिकरणको भाद्र मसान्तसम्मको तथ्याङ्क अनुसार यस घटनाबाट सिर्जित बीमा दाबीको रकम मात्र २० अर्ब ७० ४८ हजार ४ सय ८२ रुपैयाँ रहेको छ । जसमा सवारीसाधन र गैरसरकारी सम्पति भए पनि सरकारी सम्पति छैनन्, यसैबाट पनि समग्र नोक्सानीको अनुमान व्यापक हुने आँकलन गर्न सकिन्छ ।
आगजनीबाट क्षतिग्रस्त संरचनाको क्षति मूल्याङ्कनको अनुसन्धान र अभ्यास विश्वमा भैरहेको देखिन्छ । तथापि देशैभरि एकैसाथ यति धेरै सङ्ख्यामा संरचनाहरू क्षतिग्रस्त हुनु आधुनिक समयको विरलै घटना हो । अर्को कुरा, यससम्बन्धी अनुसन्धान र अभ्यासहरू केही समयभित्र आगो निभाउन सफल भएका घटनाहरूमा आधारित छन् तर हाम्रा संरचनाहरू ३/४ दिनसम्म निरन्तर धुवाइँरहेकाे नमिठो अनुभव हामीसँग छ ।
यति लामो समय आगो बल्दा कुनै समय त्यस कोठामा भएका सबै ज्वलनशील वस्तुहरू एकैसाथ जलेर फ्ल्यासओभरको स्थिति पैदा भई अधिकतम तापक्रम पुगेको अनुमान पनि सहजै लगाउन सकिन्छ । अर्को चुनौती भनेको आगलागीसँगै भएका पेट्रोल बम, ग्यास सिलिन्डर विस्फोटन तथा प्रज्वलनशील पदार्थले संरचनालाई पुर्याएको असर हो ।
यी र यस्ता अवस्था वा परिस्थिति हालका अनुसन्धान र परिपेक्षभन्दा केही फरक छन् । त्यसैले विदेशमा गरिएका अनुसन्धानको आधारमा मात्र अब मार्गचित्र कोर्न सकिने अवस्था पनि छैन । हालै सरकारी र गैरसरकारी तवरबाट यस्ता आगजनीबाट क्षतिग्रस्त संरचनाको प्रारम्भिक क्षति आँकलन गर्ने कार्य शुरू भएको छ ।
यस्ता प्रारम्भिक क्षति आँकलन विधिले भवन तत्काल प्रयोग गर्न योग्य छ वा छैन मात्र भन्न सकिन्छ तर आगजनीबाट भएको क्षतिलाई वास्तविक वा विस्तृत रूपमा बुझ्न हरेक भवनको विस्तृत क्षति आँकलन गर्नुपर्ने हुन्छ ।

गोरखा भूकम्प, डोटी बझाङ र जाजरकोट साथै पहिरो, बाढीमा भएको क्षतिको विस्तृत क्षति आँकलनको अनुभव भए पनि हामीलाई यो स्तरको आगजनीबाट क्षतिग्रस्त संरचनाको क्षति मूल्याङ्कन गर्नुपर्ने यो पहिलाे अनुभव हो ।
भूकम्प, बढी पहिरोजस्ता विपद्ले भवन वा संरचनालाई भौतिक क्षति पुर्याउँदै यसको स्थायित्वमा असर गर्छ तर आगजनीले भौतिक क्षतिका अलावा रासायनिक परिवर्तन पनि ल्याउने गर्दछ । आगजनी पश्चात् भवन बाहिरबाट हेर्दा ठीकठाक देखिए पनि भवनको भार वहन क्षमतामा कति ह्रास आएको छ भन्ने विस्तृत क्षति आँकलन, परीक्षण तथा विज्ञको प्राविधिक परामर्शपछि मात्र थाहा पाउन सकिन्छ ।
हाल हतारमा गरिएको टालटुल र रङ्गरोगनले प्राविधिक परीक्षणलाई बाधा पुर्याउनुका साथै भवनलाई जोखिमयुक्त बनाइराख्छ । आगजनीले क्षतिग्रस्त भवन हाम्रोजस्तो भूकम्पीय जोखिम भएको स्थानमा झन् जोखिमपूर्ण हुन्छन् । साथै निरन्तरको वर्षा, हावाहुरीलगायत अन्य प्रकोपले पनि यस्ता भवनलाई थप जोखिमयुक्त बनाउँछ ।
तसर्थ यस्ता भवनहरूको जोखिमलाई बुझी सरकार वा सम्बद्ध सबै चनाखो हुनुपर्ने आजको अवश्यकता हो । त्यसैगरी यस्तो भयावह अवस्थालाई शक्तिमा बटुली यस्ता संरचनाहरूमा पर्याप्त अध्ययन अनुसन्धान गर्न लगाई यस्तो विपद्बाट छिटै उठी वीर नेपालीको पहिचान देखाउनु पनि जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाैडेलसँग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सिभिल इन्जिनियरिङ र अर्थक्वेक इन्जिनियरिङसम्बन्धी अध्ययन अनुसन्धानमा एक दशककाे अनुभव छ ।