इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
यसपालिको चाडपर्व अघिल्लाभन्दा फरक छ । जेन–जी आन्दोलनपछि देशभरका कारागारबाट कैदीहरू भागेका छन् जसमा अझै पाँच हजार जनाभन्दा धेरै फरार छन् । यसले चाडपर्वलाई अझ असुरक्षित बनाएको छ, विशेषगरी शहरी क्षेत्र बढी जोखिममा छन् । चोरी, लुटपाट, डकैतीजस्ता आपराधिक गतिविधिमा संलग्न कैदीहरू अझै नियन्त्रणमा आएका छैनन् ।
कतिपय अपराधीले चाडपर्वकै अवसर पर्खिरहेका हुन्छन् । त्यसैले कुनै पनि आपराधिक घटना हुन नदिन नागरिकले आफ्नो सुरक्षा, घर र सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ ।
चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा जाने र पर्व मनाउने चलन बढ्छ । धेरैजसोले घर–ढोका बन्द गरेर गाउँ वा आफ्नै घरतिर जाने गर्छन् । तर आफू र आफ्नो घरको सुरक्षामा अरूले होइन आफैँले ध्यान दिनुपर्छ । अहिलेको अवस्थामा केवल ढोका–ताला लगाउँदा मात्र सुरक्षित हुँदैन । चाडपर्वमा घर र आफैँ सुरक्षित रहन कोही न कोही घरमै बस्नु उत्तम उपाय हो ।
यसका लागि वरपरका छर–छिमेकीसँग समन्वय गर्नुपर्छ । साथै सीसीटीभी क्यामेरा, अलार्म, साइरनजस्ता प्रविधिको प्रयोग गरेर घर वरपरको गतिविधि निगरानी गर्न सकिन्छ ।
चाडपर्वमा धेरैले बढी देखाउने, तडकभडक गर्ने र सामाजिक सञ्जालमा राख्ने चलन बढेको छ । तर यस्ता गतिविधि अपराधीहरूले नियालिरहेका हुन्छन् । त्यसैले यस्तो देखावटी व्यवहारले चोरी, लुटपाट वा अन्य अप्रिय गतिविधिको जोखिम अझ बढाउन सक्छ । त्यसैले यस प्रकारका कार्यबाट बच्नु बुद्धिमानी हुन्छ । तुलनात्मक हिसाबले अन्य ठाउँभन्दा सबैभन्दा सुरक्षित ठाउँ भनेकै घर हो ।
चाडपर्व घरमै बसेर मनाउनेहरूले पनि समाजमा द्वन्द्व फैलाउने गतिविधि नगरी छर–छिमेकसँग सहयोग गर्ने र वरपर के भइरहेको छ भन्नेबारे जानकारी राख्ने जिम्मेवारी लिनुपर्छ । यसले सामूहिक सुरक्षामा सहयोग पुग्छ ।
यसपालि नागरिकको सुरक्षाका लागि पहिलेभन्दा फरक रणनीति अपनाइएको छ । नेपाल प्रहरीले गस्ती बढाएको छ, आकस्मिक नम्बर उपलब्ध गराएको छ, विभिन्न ठाउँमा पिकेट राखेको छ र कुनै आशङ्का लागेमा वा घटना भए तुरुन्त प्रहरी परिचालन हुने व्यवस्था मिलाएको छ ।
स्थानीय टोल सुधार समिति, राहत समिति, उपभोक्ता समिति र क्लबहरूसँग समन्वय गरेर रातको समयमा पनि गस्ती गर्ने व्यवस्था मिलाइएको छ । टोलमा शङ्कास्पद व्यक्ति देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन नागरिकलाई सचेत गराइएको छ ।
यसरी काठमाण्डाै उपत्यकासहित सातै प्रदेशमा सुरक्षा व्यवस्था गरिएको छ । हरेक जिल्लामा जिल्ला सुरक्षा समितिको कमान्ड पोस्ट तयार पारिएको छ र आवश्यक सुरक्षा रणनीति लागू गर्ने निर्देशन दिइएको छ । चाडपर्वको समयमा थप सुरक्षाकर्मी सतर्क रहने व्यवस्था पनि गरिएको छ ।
चाडपर्व सुरक्षित तरिकाले मनाउने वातावरण बनाउन प्रहरी निरन्तर सक्रिय छ । चाडपर्वको समयमा कुनै समस्या परेमा तुरुन्तै प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । साथै बसोबास गर्ने ठाउँका सुरक्षा निकाय, जनप्रतिनिधि, क्लब वा टोल सुधार समितिको सम्पर्क नम्बर अनिवार्य रूपमा राख्नुपर्छ । समस्या परेमा फोनमार्फत सहयोग लिन वा जानकारी दिन सजिलो हुन्छ ।
यसबाहेक चाडपर्वको बेला जाँड–रक्सी खाने, जुवातास खेल्ने गतिविधि धेरै बढ्ने गर्छन् । यस्ता गतिविधि कानूनी रूपमा अपराध मात्र नभई सामाजिक दृष्टिले पनि गलत मानिन्छन् । यिनै क्रियाकलापहरूले आपराधिक गतिविधि बढाउने सम्भावना उच्च हुन्छ । त्यसैले यस्तो कार्यमा नलागी, सुरक्षित र मर्यादित रूपमा दशैँ मनाउनु सबैको जिम्मेवारी हो ।
(नेपाल प्रहरीका डीआईजी एवम् प्रवक्ता विनोद घिमिरेसँगको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रहरी नायब महानिरीक्षक घिमिरे नेपाल प्रहरीका प्रवक्ता हुनुहुन्छ ।