रित्तो खल्तीमा सजिलो दशैँ

 असोज १२, २०८२ आइतबार १४:०:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

च्याटजीपीटीबाट

दशैँ मनाउन पोहोर परारभन्दा यसपालि सजिलो छ । पोहोर, परार पैसा थोरै भो भनेर चित्त बुझाउन पर्थ्याे । यसपालि थोरै पैसा पनि छैन, ढुक्कै छ । खल्तीमा पैसा हुँदा तनाव हुन्थ्यो ! के मात्रै किन्ने ? कसलाई मात्रै किन्ने ? कति मात्रै किन्ने ?

खल्ती खाली भएपछि किन्न परेन । के किन्ने, के नकिन्ने, कसलाई किन्ने, कसलाई नकिन्ने, कति किन्ने, कति नकिन्ने भन्ने सबैखाले तनावबाट मुक्त भएर दशैँ मनाउन पाइएको छ । खल्ती रित्तो छ, त्यसैले आनन्द भएको छ ।

त्यसमाथि दशैँमा आफूलाई भन्दा पनि सरकार र व्यापारीलाई बढी चिन्ता हुन्छ । उनीहरू सबैकाम छोडेर पैसा नभएका र थोरै भएकाहरूको दशैँ मनाइदिन रातदिन खट्थे । सहुलियत पसल, अग्रिम टिकट, छुट, बहार र उपहार ! के के हो के के ! सरकारले खाद्यान्न बेच्न सहुलियत पसल खोल्यो तर प्रचार निःशुल्क सामान दिन्छ जसरी गर्‍याे । सरकारले नै यति गरेपछि आफूले पनि चुप लागेर बस्न भएन । फाल ठोक्दै सहुलियत पसल पुगेपछि थाहा भयो, नाम मात्रै सहुलियत । त्यसै बाँड्ने त परेको कुरा, अरू पसलमा भन्दा जम्मा दुई/चार रुपैयाँ मात्रै सस्तो । त्यही पनि केही ठाउँमा मात्रै ।

दुई रुपैयाँ सस्तोका लागि सहुलियत पसलमा जान गाडीवालाले ३० रुपैयाँ भाडा लियो । जाँदा ३० रुपैयाँ, फर्किँदा ३० रुपैयाँ । ६० रुपैयाँ त गाडीभाडामै सकियो । बजारसम्म पुग्दा भोक लाग्यो । खानेकुरा देखेपछि खाउँखाउँ लाग्यो । खान बस्दा १०/२० रुपैयाँले पुग्दैन । कम्तीमा पनि १० को १० वटा जति नोट चाहिन्छ । त्यतिले पनि पेट भरिने चाहिँ होइन ।

दुई रुपैयाँ सस्तो खोज्न सहुलियत पसल जाँदा कम्तीमा दुई सय रुपैयाँ त गाडीभाडा र खाजा खर्च लाग्यो । तै पनि दशैँमा सहुलियत पसल खोल्यौँ भनेर सरकार दङ्ग छ । सरकार दङ्ग परेको देखेर आफ्नो मन भरियो । हाम्रै लागि सहुलियत पसल खुलेको हो भने हामी चाहिँ किन मख्ख नपर्ने ?

दुख्न लागेको चित्तलाई थामथुम पार्दै घर फर्कनै लाग्दा फेरि बैंकले नोट बाँडेको अर्को हल्ला सुनियो । नोट बाँड्यो भन्ने सुनेपछि चुप लागेर बस्ने कुरो भएन । बैंकमा ठेलमठेल घुइँचो र लामो लाइन । हल्ला सुन्दा र ठेलमठेल हेर्दा लाग्यो, सरकारले सित्तैमा नयाँ नोट बाँड्दैछ । वर्षमा एक पटक आउने दशैँ मनाउनका लागि गरिबको दुःख बुझ्ने सरकारले सित्तैमा बाँड्यो पनि होला । तर सित्तैमा पाइने हावा त नबाँड्ने सरकारले आफूलाई नराखेर हामीलाई किन सित्तैमा पैसा बाँड्थ्यो ? नोट दिएरै नोट साट्नुपर्ने रहेछ ।

ल यता पनि काम भएन भनेर हिँड्दै गर्दा बजारमा व्यापारीहरूका हल्लीखल्ली सुनियो ।

‘ए दाजु कता, यता आउनुहोस, तपाईंलाई विशेष छुट ।’

‘त्यता हैन, यता सस्तो छ, तपाईंलाई भनेरै साँचेर राखेको, ल आइहाल्नुहोस् ।’

‘हैन हैन यता ५० प्रतिशत छुट ।’

‘त्यता हैन यता अफर र उपहार दुवै छ । एउटा किन्दा अर्काे सित्तैमा, यता आउनुहोस् ।’

ओहो कता मात्रै जाने ? सरकारले भन्दा बढ्ता त व्यापारी पो हामीलाई दशैँ मनाइदिन मरिमेट्दा रहेछन् । कता पस्ने भनेर अलमल भयो । नजिकैको पसलबाट पसले हातै तान्न आइपुगे ।

‘ल हिँड्नुहोस्, तपाईंले खोजेजस्तो उता छ । किन्छु मात्रै भन्नुहोस् सबै तपाईंकै भयो ।’ सित्तैमा दिउँला झैँ गरी उनले तानेर लगे । भाउ बुझेपछि त्यहाँ पनि जिल्लाराम परियो ।

अलि पर बसर्पाकमा पुग्दा जता फर्के पनि मान्छे नै मान्छे । यति धेरै मान्छेलाई घरघरमा पुर्‍याउन भनेर व्यवसायीले उहिलेदेखि नै अग्रिम टिकट खुलाएका । सास्ती नै भए पनि सरकार, व्यवसायी र व्यापारीले हाम्रा लागि मरिहत्ते गरेका छन् । खाइ, नखाइ हाम्रै सेवा गरेका छन् । उपहार, सहुलियतको बहार ल्याइदिएका छन् । हामीलाई दशा नै भए पनि उनीहरूलाई दशैँ ल्यायौँ भन्ने त भएको छ ।

अरूले दशैँ ल्याइदिएपछि आफूले केही गर्नै नपर्ने । दशैँ आयो रे भन्ने सुन्दा र दशैँका चहलपहल हेर्दा मात्रै पनि आनन्द मिल्ने । पैसा भएको भए दशैँ ल्याउन आफू पनि अघि सर्नुपर्थ्याे । दशैँ पार लाउन हम्मे पर्थ्याे ! यो पालि पैसा छैन, पैसा नभएपछि केही गर्नै परेन, ढुक्क छ । रित्तो खल्तीमा सजिलो दशैँ !

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया