वर्षाको ढाँचा र जोखिम बदलिँदै : स्थानीय तयारी र दीर्घकालीन योजना आवश्यक

 असोज २१, २०८२ मंगलबार १६:०:४ | ङमिन्द्र दाहाल
unn.prixa.net

नेपालमा मनसुनको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । खोलानाला, वनस्पति, कृषि प्रणालीदेखि जीवजन्तु सबै मनसुनमै निर्भर छन् । तर पछिल्ला ३० वर्षमा मनसुनको ढाँचा परिवर्तन भइरहेको देखिन्छ । विशेषगरी पछिल्ला पाँच वर्षमा मनसुन लम्बिने क्रम बढेको छ ।

सामान्यतया मनसुन अक्टोबर २ (असोजको शुरुआत) तिर सकिन्थ्यो तर अहिले पनि सक्रिय छ । औसतमा दुई हप्ता ढिलो सकिन थालेको छ जसले मनसुन असोज महिनातिर सर्दै गएको संकेत गर्छ ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा मनसुन सकिनु पर्ने समयमा उल्टै घनघोर वर्षा भई ठूला क्षति भएका छन् । यस वर्ष र अघिल्लो वर्ष असोजमा परेको भारी वर्षा र त्यसबाट भएको क्षति यसको स्पष्ट उदाहरण हुन् ।

केही वर्षयता मनसुन तराईबाट मध्यपहाड हुँदै हिमालतिर सर्दै गएको देखिन्छ । जसरी मनसुन माथिल्लो क्षेत्रतिर सर्दै जान्छ त्यसैगरी जोखिम पनि बढ्दै जान्छ । कारण माथिल्लो भू–भागमा परेको पानीले तलका क्षेत्रमा भल र पहिरो ल्याउँछ जसले ठूलो क्षति पुर्‍याउँछ ।

मनसुनको पानी कहाँ, कति र कस्तो तरिकाले पर्छ भन्ने कुराले नै क्षतिको स्तर निर्धारण गर्छ । वर्षाको प्रभाव त्यहाँको भूगोल, बसोबासको अवस्था र पूर्वाधारको गुणस्तर अनुसार फरक–फरक हुन्छ । पहिले पनि अहिलेको जस्तै पानी पर्थ्याे तर अहिलेको निरन्तर वर्षाले बढी समस्या ल्याएको छ ।

यसमा महाभारत क्षेत्रको उदाहरण लिन सकिन्छ । महाभारतको दक्षिणतर्फ पानी परे पनि सामान्य डुबान बाहेक ठूलो क्षति देखिँदैन । तर महाभारत क्षेत्रभन्दा उत्तरतर्फ जब दुई सयदेखि साढे दुई सय मिलिमिटरभन्दा बढी वर्षा हुन्छ त्यहाँ ठूला पहिरो र बाढीको खतरा अत्यधिक हुन्छ । यसले देखाउँछ कि मनसुनको सर्ने ढाँचा र वर्षाको तीव्रता दुवै बदलिँदै गइरहेका छन् जसका लागि स्थानीय तयारी र दीर्घकालीन योजना आवश्यक छ ।

मनसुनको यस्तो परिवर्तनले अबका दिनमा नेपालका पूर्वाधारहरूमा ठूलो चुनौती ल्याउने देखिन्छ । हिजोसम्म काम लागेका अनुभव, प्रविधि र योजनाले अब पर्याप्त काम नलाग्ने सम्भावना छ । त्यसैले विशेषगरी उच्च क्षेत्रका पूर्वाधारहरू व्यवस्थित र दिगो बनाउन जरुरी भएको छ, होइन भने अहिलेको जस्तै समस्याहरू अझ बढ्ने छन् ।

पहिले सुरक्षित मानिएका नदी किनारका बस्ती र पूर्वाधारहरूको पनि अब पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ । माथिल्लो भू–भागमा पहिरो खस्ने घटना बढ्दै गएको छ भने खोला नदीहरू पनि आफ्नो सामान्य तहभन्दा माथि उक्लने जोखिममा छन् ।

त्यसैले बस्ती र पूर्वाधारको सुरक्षाका लागि पुनर्विचार गरी नयाँ योजना र नीति तयार पार्नु अत्यावश्यक देखिन्छ ।

मनसुनको ढाँचा हरेक वर्ष एकनासको हुँदैन । केही वर्ष असामान्य उतारचढाव देखिए पनि पछि फेरि सामान्य अवस्थामा फर्किने सम्भावना रहन्छ । त्यसैले अहिलेको अवस्था स्थायी हो वा अस्थायी भन्ने ठ्याक्कै भन्न सकिँदैन ।

यसले मनसुन समयमै शुरू हुन्छ कि ढिलो भन्ने संकेत पनि दिन्छ । तर अहिले मनसुन भित्रिएपछि पनि पानी पर्ने प्रणाली अनियमित बन्दै गएको छ । उदाहरणका लागि यस वर्ष मनसुन भित्रिँदा कतिपय ठाउँमा अत्यधिक वर्षा भएर भल र पहिरो गएको छ भने अर्कोतर्फ मधेशमा पानी नपरी खडेरी परेको छ ।

यसले देखाउँछ कि वर्षाको वितरण असमान हुँदै गएको छ — कतै अत्यधिक पानी पर्ने, कतै बिल्कुलै नपर्ने अवस्था बढ्दो छ ।

दक्षिण एशियाली मनसुन विश्वव्यापी हावापानी प्रणालीको एक हिस्सा हो । त्यसैले विश्वका अन्य क्षेत्रमा हुने मौसमी परिवर्तन र स्थानीय जलवायु गतिविधिले पनि यसलाई असर पुर्‍याउँछ । पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनले यस्तो असामान्य स्थिति उत्पन्न भएको हुन सक्छ ।

तर मनसुन ढिलोसम्म लम्बिनु सधैँ नकारात्मक कुरा होइन । धेरै ठाउँमा पर्याप्त वर्षा नभएकाले जमिनमा पानीको अभाव थियो, त्यसैले केही हदसम्म ढिलो मनसुनले फाइदा पनि पुर्‍यायो । यदि यसअघि नै मनसुन सकिएको भए तराईजस्ता क्षेत्रमा लामो समयको सुक्खा वा खडेरी पर्ने जोखिम बढ्थ्यो ।

जल तथा मौसम पूर्वानुमान विभागमा अहिले आधुनिक प्रविधिहरू जडान भएका छन् र अनुभवी विज्ञहरू पनि छन् । मौसमी गतिविधिलाई निरन्तर र संवेदनशील रूपमा ट्र्याक गर्नु आवश्यक छ । सरकारले पनि यसलाई प्राथमिकतामा राख्दै दीर्घकालीन नीति र योजना बनाउनुपर्छ ।

मौसम विज्ञान विभागले विशेषगरी महाभारतभन्दा उत्तरतर्फ दुई–तीन सय मिलिमिटरभन्दा बढी वर्षा हुने घटनालाई संवेदनशील रूपमा निगरानीमा राख्नुपर्छ । यस्तो वर्षा दोहोरिरहेकाले जोखिमपूर्ण क्षेत्रहरूको नियमित अनुगमन र त्यस अनुसार विपद् तयारी गर्न आवश्यक छ ।

हाल देशको विपद् तयारी मुख्यतः मध्य क्षेत्रमा केन्द्रित छ तर अब पूर्वी क्षेत्रतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता बढेको छ । मनसुन बाहिरिने क्रममा पनि क्षति हुनसक्ने अवस्था देखिएकोले यसबारे अग्रिम तयारी र योजनाबद्ध काम अत्यावश्यक भएको छ ।

(जल तथा मौसम विश्लेषक ङमिन्द्र दाहालसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ङमिन्द्र दाहाल

दाहाल जल तथा मौसम विश्लेषक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया