इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
आफूलाई बा भन्ने छोराछोरी र हजुरबा भन्ने नातिनातिनाले धारे हात लगाएको देख्दा पनि केपी ओलीको कानमा ‘आई लभ यू केपी बा’ गुञ्जन छाडेन । जेनजी आन्दोलनले बाँकी रहेको मान, सम्मान र प्रतिष्ठा धूलिसात बनाइसक्यो । तर केपी बा गुण्डुको किल्लामा लुकेरै ‘महान् म’ को राग अलापिरहेछन् । ‘म, म र म’ को घमण्ड सगरमाथाको चुलीमा चढेर ‘मविना नेपालको क्यालेन्डर पनि चल्दैन’ भन्ने केपीको कमेडी शो थामिएको छैन ।
जेनजीहरू सडकमा चिच्याउँदा उनको जवाफ आउँछ, ‘यी फुच्चेहरूले के बुझ्छन् ? मेरो अनुभवको डिक्शनरीमा तिनीहरूको भविष्य लेखिएको छ ।’ उनको विगत रेकर्ड हेर्ने हो भने हरेक भाषणमा ‘म, मेरो, मलाई’ को त्रिवेणीबाहेक अरू केही भेटिँदैन । सडकका जेनजीको कुरा छोडौँ, पार्टीभित्रका जेनजीहरूले समेत भन्न थाले ‘केपी बा, गुण्डुको बङ्करबाट बाहिर निस्केर हाम्रो कुरा सुन्नुस् ।’ तर ओली बा लुकेरै भए पनि चुनौती दिइरहेछन्, ‘मलाई कसले हटाउन सक्छ ? म त नेपालको सधैँ हिट चलचित्र हुँ, टिकटकमा भाइरल भएका फुच्चेहरूले मलाई के गर्न सक्छन् ?’

जेनजीहरूको जवाफ छ, ‘बा, तपाईंको सूर्य त बादलले छोपिसक्यो, चन्द्रमामा त खग्रास ग्रहण लाग्यो र तारा त झिलिमिली बत्ती बनेर झुन्डियो ।’ तर केपी बाले अझै पनि बादलभित्र झलमल्ल घाम देखिरहेका छन् । निष्पस्ट अँध्यारोमा पनि उज्यालो मात्रै हेरिरहेका छन् । जनताले पत्याउन छाडे पनि आफूजस्तो नेता कोही छैन भन्ने भ्रमले उनलाई छाडेको छैन । समर्थक र शुभेच्छुकले सुध्रनु पर्याे भन्दा पनि सुध्रने छाँट नै छैन । त्यो त उनको डिक्शनरीमा लेखिएको छैन र लेख्न पनि उनको कलमको मसी सुकिसक्यो । उनी अझै पुरानो कमेडी अस्त्र बोकेर बकबक गर्दैछन् ।
ओली सपनामा पनि कमेडीको पुरानो भर्सन पल्टाउँदैछन् । देउवा चाहिँ बिपनामा पनि निदाउँदैछन् । जेनजी आन्दोलनको आगो देखेर पनि देउवा आफ्नै शान्ति साधनामा मस्त छन् । म त कांग्रेसको सदाबहार ‘स्लिपिङ पिस’ हुँ भन्दै जेनजीहरूलाई चुनौती दिइरहेछन्, तर त्यो पनि सपनामै ।
पार्टीभित्रका जेनजीहरू रिसले भकभक उम्लिरहेछन्, ‘देउवाज्यू, तपाईंको निद्राले त हामीलाई पनि सुताइसक्यो । हामीलाई नयाँ सोच चाहिएको छ, तपाईंको पुरानो स्लोमोशन सिनेमा होइन । तर देउवा साबको जवाफ छ, ‘मेरो अनुभवले सबै ठीक हुन्छ, जेनजीहरूले बुझ्दैनन् ।’ उनको अनुभवको किताबमा सुतेर गरिने समाधानबाहेक अर्को अध्याय छैन । लौ, देउवा साब तपाईंको निद्राको जादूले त पार्टीकै नेता कार्यकर्ताको धैर्यको बत्ती निभ्न लाग्यो, बरु एक पटक बाहिर निस्केर जेनजीको जोश हेर्नुस् न !
समयानुसार रङ्ग फेर्न खप्पिस प्रचण्डको त के कुरा गर्नु । प्रचण्ड कमरेड जेनजी आन्दोलनको आगो देखेर पनि आफ्नै ‘क्रान्तिकारी जादूको डन्डी’ घुमाइरहेछन् । उनलाई लाग्छ उनकै जादू र ज्योतिष विद्याले देशमा परिवर्तन भएको हो । बिग्रे/भत्केको अरुले गर्दा, राम्रो जति आफ्नै कारणले भन्ने प्रतिस्पर्धामा उनले पदक जित्दै पनि आएका छन् । सडकमा जेनजीहरूले उनको पुरानो क्रान्तिको रङ्ग उडाइसके, तर उनी ‘मेरो क्रान्तिकारी दिमागविबिना यो देश अधुरो छ’ भनेर थाकेका छैनन् । उनको घमण्ड यस्तो छ कि उनलाई लाग्छ, उनको पुरानो नाराले अझै जेनजीलाई ‘वाह, कमरेड’ भन्न बाध्य बनाउँछ ।
पार्टीभित्रका जेनजीहरू रिसले रातोपिरो भइसके, ‘कमरेड, तपाईंको क्रान्ति त अब सत्ताको कुर्सीमा झुन्डिएको सजावट मात्र हो ।’ जनता भन्छन्, ‘हामीलाई नयाँ बाटो चाहिएको छ, तपाईंको पुरानो जादूको डन्डी होइन ।’ तर प्रचण्डको जवाफ छ, ‘मेरो क्रान्तिकारी इतिहासले सबै ठीक गर्छ ।’ पूर्वलडाकू र वर्तमान सहयोगीको घेरामा बसेर उनी चुनौती दिइरहन्छन्, ‘मलाई कसले रोक्न सक्छ ? म त क्रान्तिको सदाबहार हिरो हुँ ।’ कमरेडको जादूको डन्डी अब सर्कसको मजाक बनिसक्यो । तर सुध्रने चाहिँ क्रान्तिकारी सपनामा पनि आउँदैन ।
जनताको मात्रै होइन, पार्टीकै नेता कार्यकर्ताको नजरमा पनि यी तीन नेताको डेट एक्स्पायर भैसक्यो अर्थात् म्याद गुज्रिसक्यो । डेट एक्स्पायर भएको औषधि खाँदा जति हानी हुन्छ, त्योभन्दा बढी म्याद सकिएका नेताहरू अघि सर्दा बर्बाद हुन्छ । आफ्नो बर्बराहट र बकम्फुसे कुराले देश झनै बर्बाद हुन्छ भन्ने बुझ्दाबुझ्दै पनि उनीहरूमा ‘म मात्रै हुँ’ भन्ने अहङ्कार बाँकी नै छ । उनीहरूको घमण्डले सगरमाथालाई पनि ‘भाइ, मलाई लज्जा भयो’ भन्न बाध्य बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
