घाउलेभन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

 कात्तिक ५, २०८२ बुधबार १६:२२:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – गएको भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरमा रहेको घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट शुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।

सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उहाँ हेर्नका लागि बाहिर निस्कनुभएको थियो । हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उहाँको शरीरमा सल्कियो । उहाँलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेज (केएमसी) लगियो ।

अहिले पनि उहाँ केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नम्बर २४४ मा उपचाररत हुनुहुन्छ । उहाँको शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ ।  अस्पतालको शय्यामा सुतिरहनुपर्दा उहाँमा पीडा थपिएको छ । घाउ चहर्‍याउँदा उहाँ घरीघरी चिच्याउनुहुन्छ ।

सबैभन्दा नरमाइलो त उहाँलाई दशैँमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैँको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उहाँलाई चिकित्सकले निगरानीमै राखेको छ । ‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैँतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,’ उहाँ भन्नुहुन्छ ।

यस्तो बेला उहाँलाई विगतका दशैँ र तिहराको झझल्को नआउने होइन । हरेक वर्ष उहाँ तिहारमा घर–पसल सजाउनुहुन्थ्यो । तिहारले बेग्लै खुसीयाली दिन्थ्यो । यसपालि भने उहाँको घर सजिएन । ‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ उहाँ निराश हुँदै भन्नुहुन्छ, ‘डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।’

उहाँ अस्पतालमा भएपछि पसल छोरा राहुलले रेखदेख गर्दै आउनुभएको छ । ‘छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उहाँले सुनाउनुभयो ।

केएमसीकै हाई केयर युनिटमा हुनुहुन्छ, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उहाँका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँदै हुनुहुन्छ । घिमिरेले पनि आमाबुबालाई सघाउँदै आउनुभएको थियो ।

दूध पुर्‍याउन सधैँझैँ भदौ २३ गते पनि उहाँ बानेश्वर आउनुभएको थियो । घर फर्किने बेलासम्म काठमाण्डौको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो । उहाँ यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिनुभएको थियो, गोली उहाँको छातीमा लाग्यो ।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न सक्नुहुन्छ । ‘सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरेको र त्यो महँगो भएकाले हामीलाई निकै गाह्रो परिसक्यो,’ कुरुवा बस्दै आउनुभएका काका प्राणनाथले भन्नुभयो, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।’

गोली लागेपछिका कठिन समय र शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्त्वपूर्ण चाड कमलले खुब याद गर्नुभएको छ ।

पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुङ्गो नभएको दिक्दारी कमलका काकाले पोख्नुभयो । चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ ।

जेनजी आन्दोलनका घाइतेहरू काठमाण्डौका अरू अस्पतालमा पनि छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, त्रिवि शिक्षण अस्पतालमा तीन जना, बी एन्ड बी अस्पतालमा एक जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना गरी देशभर ११ जना घाइते उपचाररत छन् । आन्दोनलमा घाइतेभइ उपचारका लागि दुई हजार पाँच सय ७१ अस्पताल पुगेका थिए ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया