भोलि बेलुकादेखि मौसममा बदली : केही ठाउँमा शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना

 कात्तिक ९, २०८२ आइतबार १०:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोलि बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिन अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ । त्यस्तै भोलि छठको मुख्य दिन देशभर मौसम आंशिक बदली रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । भोलि राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रही तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ ।

गण्डकीका पहाडी तथा हिमाली थोरै ठाउँ तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पर्सि मंगलवार पनि दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रहनेछ । मंगलवार तराईका क्षेत्रमा पनि मौसम आंशिक बदली रहने मौसमविद्को अनुमान छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा बदली रही तराई भागमा आंशिक बदली हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारपछि पानी पर्ने सम्भावना छ । यो क्रम शुक्रवारसम्म रहनेछ । अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा पानी पार्ने प्रणाली बनिरहेका छन् । त्यसले नेपालमा शुक्रवारसम्म वर्षा गराउने सम्भावना देखिएको उहाँले बताउनुभयो ।

पूर्वी नेपालमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरू क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ । यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र पर्सि मंगलवारदेखि पानी पर्न सक्ने सम्भावना रहेको हुँदा ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न पनि किसानलाई सल्लाह छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया