दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
गाउँमा जन्मेको नवयुवा । काठमाण्डौको एउटा सानो कोठामा बस्छ । स्नातक सकेपछि सोच्यो, देशमा केही गर्नुपर्छ । बेरोजगारी बढिरहेको छ, महँगीले आकाश छोइरहेको छ, युवाहरू विदेश पलायन भइरहेका छन् । उसलाई लाग्यो, किन सानो पसल नखोल्ने ?
किराना पसल जसबाट आफ्नो जीविका चलोस् र अरूलाई पनि रोजगारी दिऊँ । सानो भए पनि देशको अर्थतन्त्रमा योगदान दिऊँ । उसले उत्साहित हुँदै गुगलमा खोज्यो, नेपालमा व्यवसाय कसरी शुरू गर्ने भनेर । किताबहरू पढ्यो । साथीहरूसँग सल्लाह लियो ।
शुरूमा उसलाई लागेको थियो पसल खोल्ने काम सरल र सहज होला । उसको योजना थियो एउटा सानो किराना पसल, स्थानीय बजारमा । साथीभाइसँग सरसल्लाह गरेपछि उसले पसल खोल्नका लागि पैसाको जोहो गर्याे । बैंकबाट ऋण लिन खोज्यो तर धितो चाहियो । उसको परिवारसँग जग्गा छैन, त्यसैले साथीहरूबाट ३ लाख जम्मा गरेर शुरू गर्ने योजना बनायो ।

अब पसल खोल्ने प्रक्रिया बुझ्न थाल्यो । कम्पनी रजिस्ट्रार कार्यालयमा अनलाइन फारम भरेपछि बल्लतल्ल पसलको नाम जुर्दाे रहेछ । वकिललाई भेटेर कागजपत्र बनाउनुपर्ने रहेछ । कम्तीमा ५ हजार नबुझाउँदासम्म वकिलले कागजपत्र नबनाउने रहेछन् । वकिललाई पैसा बुझाएर कागजपत्र बनाएपछि पनि दर्ताका लागि अर्को १ हजार रुपैयाँ चाहिने ।
यतिले मात्रै कहाँ पुग्ने रहेछ र ? कर कार्यालयमा पनि दर्ता गर्नुपर्याे । नागरिकता, फोटो, व्यवसायको विवरण लिएर घण्टौं लाइनमा उभिनुपर्ने । त्यसपछि वडा कार्यालयमा दर्ता । घरबेटीसँग भाडा सम्झौता । अग्रिम घर भाडा । पसल खोल्ने प्रक्रिया शुरू गर्नमै महिना दिनजति दौडधूप गर्नुपर्ने । दर्ता शुल्कदेखि कर्मचारीलाई चियाखाजासमेत छुट्याउँदा कम्तीमा २५ हजार रुपैयाँ जति सकिने रहेछ । पसलको अग्रिम भाडामा अर्को २५ हजार, सामान खरिदमा १ लाख, फर्निचरमा ४० हजार । कुल लगानी २ लाख रुपैयाँभन्दा बढी पर्ने । अब पसल सञ्चालन गर्दा भ्याट, आयकर, बिजुली बिल । बिक्री कम भयो भने घाटा । ग्राहकको अर्कै गनगन । बुझ्दै जाँदा उसलाई लाग्यो, यो त मेहनत र पैसाको खाडल हो । देशमा केही गर्न खोज्दा यस्तो झन्झट ? सरकारी सहयोग छैन, निरीक्षकहरूले बेलाबेला तर्साइरहन्छन् ?
यी सबै बुझ्दै जाँदा ऊ थाक्यो । एकदिन उसलाई साथीले भन्यो, तँलाई देशमा केही गर्न मन छ भने पार्टी खोल्, पसल भन्दा सजिलो हुन्छ । साथीको कुरा सुनेर शुरूमा ऊ हाँस्यो । तर पछि उत्सुक भएर बुझ्न थाल्यो । कुरा बुझ्दै जाँदा ऊ त छक्क पर्याे । पार्टी खोल्नु खेल खेलेजस्तै सजिलो रैछ । पार्टीको नाम, विधान, उद्देश्य, कार्यकारी समिति भए पुग्ने । न पूँजी चाहिने, न धितो । निर्वाचन आयोगको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्ने । पार्टीको नाम राख्ने । एआईलाई लेख्न लगाएर विधान र उद्देश्य तयार पार्ने । आफूसहित केही साथीहरू मिलेर कार्यकारी समिति बनाए भैहाल्यो । परिवार र छिमेकीको हस्ताक्षर संकलन गरे पुगिहाल्यो ।
निर्वाचन आयोगले केही दिन अध्ययन गरेर पार्टीलाई स्वीकृत दिन्छ । शुरूमा घरमै बसेर पार्टी चलाउन सकिन्छ । खर्च चन्दाबाट संकलन भैहाल्छ । पार्टी खोलेपछि सदस्यता शुल्क, दान उठ्छ । धनीहरूबाट पैसा आउँछ । विदेशी सहयोग पनि ओइरिन्छ । कार्यकर्ताहरू स्वयंसेवी हुन्छन्, तलब दिनु पर्दैन । बैठकमा चिया, खाजा, यताउता गर्दा मासिक १५/२० हजार रुपैयाँ खर्च होला । आम्दानी त असीमित । लाखौं चन्दा संकलन । यदि चुनाव जितियो भने सरकारी अनुदान । सांसद भइयो भने तलब ७० हजारभन्दा बढी । छुट्टै भत्ता, गाडी । प्रभावबाट ठेक्का, कमिसन । जता फर्किए पनि सत्ता, शक्ति, सम्मान । हारे पनि अर्को चुनावमा फर्किन सकिन्छ । पार्टी फुटाएर नयाँ बनाउन सकिन्छ । कुनै जोखिम हुँदैन । जनताको नाममा जे पनि गर्न पाइन्छ, सकिन्छ ।
उसलाई लाग्यो, पसल खोल्नु भनेको जटिल, महँगो र जोखिमपूर्ण । पार्टी खोल्नु भनेको सजिलो, सस्तो र फाइदाजनक । देशमा केही गर्न खोज्ने मान्छे व्यवसायी बन्नु भन्दा राजनीतिज्ञ बन्नु राम्रो !
पसलमा बिल चाहिन्छ, पार्टीमा डिल ।
पसलमा गाह्रो काम गरेर नाफा कम, पार्टीमा सजिलै बोलेर सिफारिश पक्का ।
पसल खोल्नेहरूले घर चलाउन सक्दैनन्, पार्टी खोल्नेहरूले देश नै चलाउन सक्छन् ।
पसलमा चिनी बेच्दा नाफा १ रुपैयाँ, पार्टीमा भाषण बेच्दा करोडौंको फाइदा ।
पसलमा घाटा देखिँदा ऋण खोज्नुपर्छ, पार्टीमा हार देखिँदा गठबन्धन खोज्नुपर्छ ।
त्यसैले तपाईं पनि देशमा केही गर्ने जोशमा हुनुहुन्छ भने पहिले पसल होइन, पार्टीको नाम सोच्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
