धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव

 कात्तिक १०, २०८२ सोमबार ५:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डौ – आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी अवस्थाबारे स्वतन्त्र रुपमा विश्लेषण गर्दै आएका विज्ञहरुले भने भोलिदेखि शुक्रवारसम्म पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार भोलिदेखि शुक्रवारसम्म देशका धेरै ठाउँमा पानी पर्नेछ । देशको पूर्वी भागमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरु क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ । यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न विज्ञहरुको सल्लाह छ ।

यस्तै सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवम् ‘अलर्ट’ बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।

यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवम् लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवम् एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ । पछिल्ला दुई दिन अर्थात् हिजो र अस्ति लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । 
 

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया