सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।
विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात र सबैजसो प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ ।
अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।
मौसमविद्हरुका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणालीले देशको पश्चिमी क्षेत्रमा बढी प्रभाव पार्छ । सँगै यही बेला बङ्गालको खाँडीमा पनि अर्को प्रणाली विकसित भइरहेको छ । 'मोन्था साइक्लोन' नाम दिइएको यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ ।
विभागले आधिकारिक रूपमा जानकारी गराइनसकेको बङ्गालको खाँडीमा विकसित प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।
काठमाण्डौ उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेको यो प्रणालीले पूर्व मधेश र कोशी प्रदशेमा मुसल्धारे वर्षा गराउने सम्भावना छ । पदयात्रा र धान भित्र्याउने किसानलाई असर पार्ने देखिए पनि वायु प्रदूषण कम गराउने, हिमालमा हिउँ पर्ने, जलस्रोतमा सहयोग पुग्ने र समग्रमा जमिनमा आद्रता कायम हुने भएकोले कृषिबालीमा फाइदा पुग्छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।