पदयात्रामा हुनुहुन्छ ? माैसम बदली भए के गर्ने, के नगर्ने ?

 कात्तिक ११, २०८२ मंगलबार १८:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

मौसम बदली भएको यो बेला कतिपय पदयात्रामा हुनुहुन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रामा जानेलाई हतार नगर्न, गन्तव्यमा पुग्नका लागि छिटो नहिँड्न विज्ञको सल्लाह छ । मौसम बदली भयो भन्दै गन्तव्यमा छिटो पुग्ने हतारो नगर्न जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले सुझाव दिनुभएको छ । उच्च क्षेत्रमा जानेलाई अक्सिजनको कमी भई स्वाँस्वाँ हुने भएकाले बिस्तारै हिँड्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा पदयात्रामा जानेले आफ्नो स्वास्थ्य र रोगबारे राम्रो जानकार भई त्यही अनुसारको आवश्यक प्राथमिक उपचार सामग्री लिएर हिँड्न जनस्वास्थ्यविद् उप्रेतीले सुझाव दिनुभएको छ । हताराे गर्दा हिँड्दा लड्ने, चिप्लिने, खुट्टा मर्किने सम्भावना हुन्छ र जताततै उपचारका लागि स्वास्थ्य केन्द्र वा सेवा उपलब्ध नहुन पनि सक्छ । यो बेला अनिवार्य प्राथमिक उपचार बाकस लैजानुपर्ने उहाँको भनाइ छ ।

पदयात्रामा जाने बेला भोक लाग्ने भएकाले क्यालोरी भएको हल्का खानेकुराहरू– काजु, बदाम, चिउरा, भटमासलगायत पनि साथमा लैजानुपर्छ । साथै पानी प्रशस्त मात्रामा पिउनुर्पर्छ । तातोपानी, दाल, सुप, अदुवा पानी, कागती पानीलगायतका तरल पदार्थ खाइरहनुपर्छ । तर जाडो लाग्यो भनेर जाँड–रक्सी भने पटक्कै खान नहुने सल्लाह डा. उप्रेतीको छ । यसले तत्काल तातो बनाए पनि पदयात्रामा हिडिरहँदा चिसोले बेहोश हुने र कोहीको त ज्यानैसमेत जान सक्छ । फापर/कोदोको सुप, रोटी, दाल, भात, तरकारी, लसुनको अचारजस्ता खानेकुरामा सूक्ष्म लवण तत्त्व र रोगसँग लड्ने क्षमता हुने भएकाले यसले फाइदा गर्ने उहाँ बताउनुहुन्छ ।

पदयात्रामा जादाँ हिउँ परेमा पक्कै हिउँमा खेल्न मन लाग्छ । तर शरीरमा चिसो नपस्ने तातो जुत्ता यो बेला आवश्यक हुन्छ । केही गरी मोजा भिजेर खुट्टा चिसो भएमा तत्काल तातो बनाइहाल्नुपर्ने हुन्छ । शरीरमा खुट्टा र टाउकोबाट चिसो पस्ने भएकाले न्यानो पार्नुपर्छ । शरीरमा तातो बाक्लो लुगाभन्दा पनि तह तहका लुगा र सबैभन्दा भित्र सुतीका लुगा लगाउनुपर्नेमा डा. उप्रेतीको जोड छ ।

जाडो छ भनेर धेरैले सुत्दा हिटर वा मकलमा आगो बालेर नै छोड्ने गर्छन् र झ्याल ढोका बन्द गरेर सुत्ने गर्छन् । यसले निस्सासिएर ज्यान जाने जोखिम हुन्छ । त्यसैले सकेसम्म सुत्ने बेला हिटर वा मकलको आगो निभाएर मात्र सुत्न डा. अरुणा उप्रेतीले आग्रह गर्नुभएको छ ।

(जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया