आजदेखि मौसममा सुधार : काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्यो

 कात्तिक १६, २०८२ आइतबार ८:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – आजदेखि मौसममा थप सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लागेको छ । पहाडी भागमा मौसम बदलीको अवस्था रहे पनि बाँकी भागमा भने आज मौसम सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसममा क्रमिक सुधार हुँदै गएकोमा आज बिहानदेखि थप सुधार भएको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आजराति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । यसपालि कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ । त्यस्तै हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा पनि प्रभावित बनेको छ । 

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया