दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
कुबेलाको वर्षाले दिक्क भएका हजुरबालाई रातभरि निद्रा लागेन । धान रोप्ने बेला पानी नभएर दुःख, बल्लतल्ल फलाएको धान भित्र्याउने बेला धेरै पानी भएर दिक्क । गरीखानेलाई जसो गरे पनि सुख छैन । सरकारले त हेरेन नै, दैव पनि निष्ठुरी भयो भन्दै हजुरबाले ओल्टोकोल्टो फर्केर सकसको रात कटाए । बिहान झिसमिसेमै खेततिर गए । पाकेको धानको बाला पानीले भिजेर उम्रन ठिक्क परेका । पानीमा डुबेका धानको बाला देखेर मन अमिलो भयो । खुइय सुस्केर हाल्दै हजुरबा घर फर्किए । बाटो छेउको चिया पसलमा पसे । मान्छेहरु गफ गर्दै रैछन् ।
‘नबोली, नलेखी देश कहाँ बन्छ त ? केही न केही त बोल्नैपर्छ, केही न केही लेख्नैपर्छ ।’
‘देश बनाउने सोचको लागि पनि केही खुराक त खानैपर्छ । विनाखुराकले देश बनाउने सोच कहाँबाट पलाउँछ ?’
खेतमा धानको अवस्था देखेर आफूलाई न बोल्न मन छ, न खान । मान्छेहरु भने लेख्ने, बोल्ने र खाने कुरामै मस्त छन् । यस्तो बेला पनि हाँसीमजाकको कुरा कसरी आयो भनेर बुझ्दै जाँदा हजुरबाले असली कुरा थाहा पाए । पुरानाले सकेनन् भनेर नयाँहरु देश बनाउन कम्मर कसेर लागेको कुरा त अलि पहिले नै थाहा भएको हो । अब देश बनाउन नभइ नहुने नयाँ नयाँ कुराको पनि अभ्यास चल्न थालेछ ।

हजुरबाले पुराना कुरा सम्झिए । देश बनाउने भन्दै पहिले राजा र राणाहरु कुर्लन्थे । कांग्रेस र कम्युनिष्टहरु अहिले पनि कुर्लदैछन् । देश बनाउन उनीहरुले घोषणापत्र लेखे । भाषण गरे । रेल र पानीजहाज दैलोसम्मै ल्याउँछु भनेर औंला ठड्याए । छाती पिटे । आफ्नो काँधमा आफैंले धाप मारे । चुनाव नभएको बेला यसैगरी भाषण गरे । चुनाव आउने बेला घोषणापत्र लेखे । घोषणापत्र पढ्दा र सुन्दै पेटभरी खान पाएजस्तै लाग्ने । जसको भाषण सुन्दा पनि हो नि त भनेजस्तो हुने । घोषणापत्र र भाषण सुनाएरै उनीहरुले शासन गरे । शासनमा छँदा गर्न हुने कम, नहुने धेरै गरे । कसैले जहाज खाए, कसैले जग्गा, खोला र बालुवा खाए । भुटानी र नेपाली बेचेर करोडौं रकम पचाए भन्ने पढियो, सुनियो । देश बनाउन घोषणापत्र र भाषणले पुग्दैन रहेछ, घुस खान र खुवाउन पर्दो रहेछ । घुस नखाई देश बनाउने शक्ति आर्जन गर्न नसकिने रहेछ भन्ने कुरा गम्दागम्दै हजुरबाले फेरि खेतको धान सम्झिए ।
अरूले घुस खाएको कथा सुनेका बालाई आफूले भुस केलाएर बस्नुपर्ने अवस्था सम्झेर आफैंसित अचम्म लाग्यो । बालाई नयाँ र पुरानाले देशलाई धनी र जनतालाई सुखी बनाउँछाैँ भनेर प्रतिष्पर्धा गर्न थालेका देखेर झन् अचम्म लाग्यो । नयाँहरु पुरानाले जस्तो घोषणापत्र लेख्दैनन्, भाषण धेरै गर्दैनन् । फेसबुकमा स्टाटस लेख्छन् । यूट्युबेहरुको अघिल्तिर चिच्याउँछन् । कोही पहाड र रुख बेचेर जनतालाई करोडपति बनाउँछु भन्छन् । कोही पुराना दल र विदेशीलाई भित्तामा पुग्नेगरी गाली गरेर देश उंभो लाग्छ भन्ठान्छन् । कसैलाई सिंहदरबार जल्ने आगोको मुस्लोसँग र कसैलाई दरबारसम्म बल्ने गाँजाको धुवाँमा विश्वास छ । कसैलाई लाग्छ नयाँ बनाउन पुराना भत्काउनुपर्छ, जलाउनुपर्छ । बनाउनुपर्ने कुरा नै भएन भने के विकास गर्ने ? यसो गर्छौं भनेर के देखाउने ? पहिलेजस्तो मान्छेहरु भाषण सुन्दैनन्, किताब र घोषणापत्र पढ्दैनन् । फेसबुक स्टाटस, रिल र यूट्युब हेर्छन् । सभ्य र सही भन्दा असभ्य र अश्लील सुन्न र पढ्न मन पराउँछन् ।
नयाँहरुलाई थाहा छ, जनताले मन पराएको कुरा लेख्न र भन्न सकियो भने मात्रै भाइरल भइन्छ । भाइरल भइयो भने चुनावै नजिती देश बनाउने ठाउँमा पुग्न सकिन्छ । देश बनाउने प्रतिस्पर्धामा भाग लिन पाइन्छ । यी सबै गर्न केही न केही खानै पर्याे । पुरानाले जस्तो घुस खान भएन । नयाँ सोच र विचार फुराउन जाँडरक्सीले मात्रै डोज पुग्दैन । त्यसमा गाँजा पनि थप्नुपर्छ । थरीथरीका नशा मिसाउनुपर्छ । त्यसमाथि नेपालमा गाँजा प्रतिबन्ध हटाउनुपर्छ भनेर पहिले पुरानाहरुले नै भनेका हुन् । प्रतिबन्ध फुकुवा गर्दा त्यसको प्रभाव कस्तो हुन्छ भनेर केही नयाँहरुले परीक्षण गरेका होलान् ।
हजुरबाले फेरि सम्झिए अलिअलि खाएपछि अलिअलि जिब्रो चिप्लनु स्वभाविक हो । त्यस्तो बेला अश्लिल र असभ्य कुरा पनि सही र सभ्य लाग्छ । तर हजुरबा अझै दोधारमा छन् देश बनाउने सही सूत्र नयाँको स्टाटस हो कि पुरानाकै भाषण र घोषणापत्र ! पुरानाले खाने गरेको घुस कि नयाँले चाख्न थालेको नशा ! त्यो त हेर्दै जाँदा थाहा होला, अहिलेलाई भिजेको धान भकारीमा राख्ने सही सूत्र सोच्दै हजुरबा घरतिर लागे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
