दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
यो समयमा वर्षा हुनु आफैंमा नौलो होइन । तर जून प्रणालीका कारण वर्षा भयो त्यो अलि अस्वाभाविक छ । वर्षा हुनु प्राकृतिक चक्रको हिस्सा हो, तर समय र प्रणालीमा भइरहेको परिवर्तनले यसको स्वरूपलाई फरक बनाइरहेको छ । सामान्यतया मनसुन सकिएपछि, विशेषगरी कात्तिक मध्यदेखि मंसिर मध्यसम्म, नेपालको मौसम सुख्खा हुने गर्छ । यो समय घाम लाग्ने, बाली भित्र्याउने समय हो । तर पछिल्ला वर्षहरूमा यो परम्परागत मौसमी ढाँचा परिवर्तन हुँदै गएको छ । मनसुनको अवधि विस्तार भएको छ, र मनसुन सकिएपछि पनि विभिन्न मौसमी प्रणालीका कारण असामान्य रूपमा वर्षा भइरहेका छन् । यो वर्ष पनि त्यस्तै भयो । मनसुन भनेको दक्षिण–पूर्वी दिशा हुँदै आउने वर्षा प्रणाली हो तर अहिले भएको वर्षा मुख्यतः पश्चिमी वायु प्रणालीका कारण भएको हो ।
पश्चिमी वायु भनेको मनसुनको विपरीत दिशाबाट आउने हावा हो जसले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिउँ ल्याउँछ । सामान्यतया यो प्रणाली डिसेम्बर वा जनवरीतिर सक्रिय हुने गर्छ तर यसपटक नोभेम्बरमै प्रभाव देखिएको छ । यही असामान्य अवस्थाको कारण अहिले वर्षाको विषयमा धेरै चर्चा भएको छ ।
वर्षा हुनुका केही सकारात्मक पक्ष पनि छन् । पहिलेका वर्षहरूमा प्रदूषण अत्यधिक बढ्ने, विशेषगरी तिहारपछि पटका, खेतमा बालीका अवशेष जलाउने जस्ता गतिविधिका कारण वातावरणमा धुलो धुवाँ मिसिने समस्या हुने गर्थ्याे । यसपालिको वर्षाले त्यो प्रदूषण केही हदसम्म हटाइदिएको छ । दक्षिण एशियाको हावामा स्वच्छता आएको छ । वर्षा र हिमपातले हिमालमा हिउँ थपिदिएको छ, जसले भविष्यमा पानीको स्रोतलाई पुनर्जीवित गर्न सहयोग पुर्याउँछ । यदि यो वर्षा केही महिना ढिलो भएको भए, हिउँ जम्ने सम्भावना अझ बढी हुनेथियो र दीर्घकालीन पानीको भण्डारणमा सहयोग पुग्नेथियो । तथापि, अहिले परेको पानीले पनि श्रोत व्यवस्थापनको दृष्टिले सकारात्मक प्रभाव छोडेको छ ।
तर, नकारात्मक पक्षहरू पनि छन् । किसानका लागि यो वर्षा उपयुक्त समयमा आएको होइन । धेरै ठाउँमा धान काट्ने समयमै वर्षा भएपछि किसानले खेतमै धान बिग्रिने डरले काम रोक्नुपर्यो । पूर्वी तराईमा त दुईसय मिलिमिटरभन्दा बढी वर्षा भएको छ, जुन अस्वाभाविक देखिन्छ । यस्तो खाले वर्षाले बालीनालीमा क्षति पुर्याउँछ, भण्डारणमा समस्या ल्याउँछ, र खाद्य सुरक्षामाथि दबाब बढाउँछ । यद्यपि, यसपटक किसानहरू केही सचेत बनेका छन् । उनीहरूले समयमै सूचना पाएका कारण केही क्षति कम भएको छ । यसले देखाउँछ कि समयमै सूचना सम्प्रेषण भएमा विपद्को असर घटाउन सकिन्छ । तर पर्यटन क्षेत्रमा भने यति सचेतता देखिएन । धेरै पर्यटकहरू हिमाली क्षेत्रमा पदयात्रा गर्न गए, मौसम बिग्रँदै गर्दा पनि रोकिएनन् । मौसमसम्बन्धी सूचना जारी गरिए पनि त्यसको प्रभावकारिता कम देखियो ।
उच्च हिमाली क्षेत्रमा जाने पर्यटकहरूले जोखिम बुझे पनि बेवास्ता गरे, जसले सङ्कटको अवस्था ल्याउन सक्थ्यो । यद्यपि, कुनै क्षति भएन । पर्यटकहरू मुख्यतः सफा आकाश र सेता हिमाल हेर्न आउने गर्छन् । भविष्यमा पर्यटन क्षेत्रले मौसम सूचना प्रणालीप्रति अझ जिम्मेवार र सचेत हुन जरुरी छ ।
यस वर्षाले पालिकामा मौसमी व्यवस्थापन र तयारी कस्तो छ भन्ने पनि देखाएको छ । पालिका सरकारहरूले किसान, पर्यटन व्यवसायी, र नागरिकलाई समयमै सचेत पार्न सकेका छैनन् । यद्यपि, केन्द्र सरकारले केही हदसम्म सुधारका प्रयास गरेको छ, तर तल्लो तहमा त्यसको कार्यान्वयन कमजोर छ । स्थानीय स्तरमा खानेपानी योजना, कृषि अनुदान, र पूर्वाधार निर्माण जस्ता कार्य हुँदै गरे पनि ती योजनाहरूमा वैज्ञानिक र मौसमी पक्षको अध्ययन अभाव छ । कृषि क्षेत्र अझै पनि किसानकै बलबुतामा टिकेको छ । राज्यको लगानी, नीति र अनुदान पर्याप्त छैन । किसानले छोटो समयमा नै धेरै उत्पादन गर्न खोजे पनि प्रविधि, बीउको छनोट र समय व्यवस्थापनमा सुधार नभएसम्म दीर्घकालीन समाधान सम्भव छैन । अस्वभाविक वर्षा भएको अवस्थालाई सामना गर्न सक्ने बाली प्रजातिको विकास र प्रचार आवश्यक छ । कृषि प्रणाली परिवर्तनसँगै सोच परिवर्तन पनि जरुरी छ ।
यस्ता खाले वर्षाले वातावरणीय चेतना त जगाएको छ तर नीति र व्यवहारबीचको अन्तर अझै टड्कारो छ । केन्द्र सरकारले मौसमी चेतावनी जारी गर्छ तर पालिकाले त्यसको कार्यान्वयन गर्दैन । पालिकामा आवश्यक आँट र जागरुकता कमी छ । नीति त छ तर त्यसलाई व्यवहारमा उतार्ने शक्ति छैन । हामीले विकास र पूर्वाधार निर्माण गर्दा वातावरणीय सन्तुलनलाई बेवास्ता गर्दा विपद् निम्त्याइरहेका छौँ ।
माथिल्लो भेगमा गरिने निर्माण, सडक र खानी सञ्चालनले तल्लो भेगमा बाढी पहिरोको जोखिम बढाउँछ । यी सबै कुरा हेर्दा अहिलेको वर्षाले हामीलाई दुई कुरा सिकाएको छ पहिलो, प्रकृतिसँग तालमेल मिलाएर विकास गर्नुपर्छ । दोस्रो, मौसम र जलवायु परिवर्तनलाई बुझेर योजना बनाउनुपर्छ । हामीले तत्काल लाभका लागि गर्ने असंयमित क्रियाकलापले दीर्घकालीन जोखिम निम्त्याउँछ । पानीका मूल सुकेका छन्, जमिन कमजोर बनेको छ र नीति कार्यान्वयन सुस्त छ । अब पालिका सरकारहरूलाई अझ जिम्मेवार बनाउँदै वैज्ञानिक संयन्त्रहरू निर्माण गर्न जरुरी छ ।
(जल तथा मौसम विश्लेषक ङमिन्द्र दाहालसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाहाल जल तथा मौसम विश्लेषक हुनुहुन्छ ।