आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

 कात्तिक १८, २०८२ मंगलबार ६:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ । हिजो एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि आउँदो पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा ‘होम एन्ड अवे’ ढाँचामा ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।

राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट चार वटा टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् । राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष छ मा रहेका टोली र प्रेसिडेन्ट लिगबाट गएका चार टोली गरी १० टोलिको प्रतिस्पर्धा हुनेछ ।

यही वर्षकाे पुस ९ देखि शुरु हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ । हिजोको सहमतिले साढे तीन वर्षभन्दा बढी समयपछि मात्र लिग आयोजना हुनेछ । क्लबहरूले समेत एन्फाको प्रस्ताव अनुसार लिग खेल्न नपर्ने र ‘ए’ डिभिजन हैसियत पनि बाँकी नै रहने भएपछि सहमति जनाएर हस्ताक्षर गरेका छन् ।

‘ए’ डिभिजन हैसियतका १४ क्लबले अर्को वर्ष हुने एन्फा चुनावमा भाग लिन पनि पाउने भएका छन् । ‘ए’ डिभिजनका १४ वटै क्लबलाई एन्फा निर्वाचनमा मताधिकार रहने व्यवस्था छ । राष्ट्रिय लिग भएपछि कुनै पनि क्लब रेलिगेसनमा जाने छैनन् भने २०७९ सालको लिगका शीर्ष छ क्लबले मात्र लिग खेल्न पर्नेछ ।

पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिजन लिग फुटबल आयोजना भएको थियो । त्यो संस्करणमा चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो । त्यसपछि एन्फाले लिग गर्न सकेको छैन । लिग नभएकै आठ सय ७६ दिन बितेको छ । नयाँ सहमति अनुसार लिग हुन अझै चार सय १० दिन बाँकी छ । यस हिसाबले लिग झन्डै चार वर्षपछि मात्र हुने भएको हो ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया