कति छ बैंक तथा वित्तीय संस्थामा पैसा ?

 कात्तिक १८, २०८२ मंगलबार १४:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप थुप्रिने क्रम बढिरहेको हो ।

कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले मात्रै ५० खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार विकास बैंक तथा वित्तीय संस्थाले यो अवधिमा ७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब रुपैयाँ गरेको तथ्याङ्कले देखाउछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहे पनि कर्जा प्रवाह सुस्त छ ।

पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरूले कर्जाका लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाका लागि बैंकहरूको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्यून मात्रै प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन ।

खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि आक्रमण भएपछि लगानीकर्ताहरू त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घसहितका निजी क्षेत्रका छाता सङ्गठनले शान्ति सुरक्षाको प्रत्याभूति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रामा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामो समयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब रुपैयाँ निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो । यस्तै राष्ट्र बैंकले अघिल्लो हप्ताको बुधवार पनि बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो ।

त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाँटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।

न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: असार २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया