थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
अब हिउँद शुरू हुन लागेको छ, पानी पर्ने प्रणाली कमजोर बनेको छ र घाम लाग्न थालेको छ । यस्तो बेला वायुमण्डल स्थिर हुने भएकाले केही दिनमै वायु प्रदूषण अत्यधिक बढ्ने सम्भावना रहन्छ । मौसमको अवस्था र भू–धरातल दुवैले वायु प्रदूषणमा गहिरो प्रभाव पार्छन् । तापक्रम, हावाको गति र दिशा, वर्षा भएको वा नभएको अवस्था र भौगोलिक स्वरूप–यी सबै कुराले हावामा प्रदूषक पदार्थ कसरी फैलिन्छ वा थुप्रिन्छ भन्ने निर्धारण गर्छन् ।
वायु प्रदूषणका केही स्रोत मौसमी हुन्छन् भने केही वर्षैभरि निरन्तर सक्रिय रहन्छन् । गाडी र उद्योग–कलकारखानाबाट वर्षभरि नै धूवाँ र धूलो उत्सर्जन भइरहेको हुन्छ । नेपालमा हिउँदमा सञ्चालन हुने इँटाभट्टा, कृषि अवशेष जलाउने र घरायसी दाउरा बाल्ने कार्य प्रदूषणका प्रमुख मौसमी स्रोत हुन् । अहिले धान काट्ने र भित्र्याउने समय भएकाले किसानहरूले खेतमा पराल जलाउँदा ठूलो मात्रामा धूवाँ निस्किन्छ जसले हावाको गुणस्तर झन् बिगार्छ । घरमा खाना पकाउन, गाईवस्तुका लागि कुँडो तताउन वा न्यानो ताप्न दाउरा र गुइँठा बाल्दा निस्किने धूवाँले घरायसी प्रदूषण अझ बढाउँछ ।
जाडो बढेसँगै धेरैले वरिपरिका फोहोर जलाउने गर्छन् जसले वायुमण्डलमा हानिकारक धूवाँ थप्छ । यसबाहेक हिउँदमा विकास–निर्माणका कामहरू तीव्र हुने भएकाले धूलोको मात्रा पनि बढ्ने गर्छ । वर्षाको समयमा भने पानीले धूलो र प्रदूषण पखाल्ने भएकाले प्रदूषण घट्छ तर अहिले पानी नपरेकाले हावामा ती कणहरू स्थिर रहन्छन् । हावाले प्रदूषण एक ठाउँबाट अर्को ठाउँ लैजान सक्छ तर पानीले जस्तो सफा गर्न सक्दैन ।
काठमाण्डौ उपत्यकाजस्ता भौगोलिक रूपमा ‘कचौरा’ आकारका शहरी क्षेत्रमा समस्या झन् गम्भीर हुन्छ । वरिपरि पहाडले घेरेकाले बाहिरबाट आएको प्रदूषण र भित्रैका उत्सर्जित धूवाँ–धूलो बाहिर निस्कन नसकी त्यहीँ थुप्रिन्छ । त्यसैले यस्ता क्षेत्रमा वायु प्रदूषणको घनत्व अन्य ठाउँभन्दा धेरै हुन्छ ।
प्रदूषण नियन्त्रणका लागि सरकार, पालिका र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ तर यसको प्रभावकारितामा नागरिकको भूमिका सबैभन्दा निर्णायक हुन्छ । घरायसी रूपमा प्रदूषण घटाउनका लागि दाउरा वा गुइँठाको सट्टा विद्युतीय चुलो प्रयोग गर्नुपर्छ जसले न केवल घरभित्रको धुवाँ घटाउँछ, देशमा उत्पादित विद्युतको सदुपयोग पनि हुन्छ । प्लास्टिक र अन्य फोहोर जलाउनु हुँदैन; ती फोहरलाई पुनः प्रयोग वा व्यवस्थापनका अन्य माध्यमबाट निष्कासन गर्नुपर्छ । कृषि अवशेषलाई जलाउनुकाे सट्टा मल बनाउन प्रयोग गर्न सकिन्छ जसले वातावरण र माटो दुवैलाई फाइदा पुर्याउँछ ।
नेपालमा लाग्ने धेरैजसाे वन डढेलो मानव सिर्जित हुन्छ । प्राकृतिक रूपमा त्यस्तो तापक्रम पुग्दैन । त्यसैले वन क्षेत्रमा वा वरिपरि आगो बाल्ने कार्यबाट जोगिनु जरुरी छ, किनभने सानो गल्तीले ठूलो आगलागी र प्रदूषण निम्त्याउन सक्छ । त्यस्तै गाडीको मर्मत–सम्भार समयमै गर्नाले उत्सर्जन कम गर्न सकिन्छ । राम्रो अवस्थामा रहेका गाडीहरूले कम धूवाँ निकाल्ने भएकाले नागरिकले आफ्ना गाडीको मर्मतमा ध्यान दिनु आवश्यक छ ।
यी साना अभ्यासहरूले वायु प्रदूषणका स्रोतलाई नै घटाउँछन् र वातावरणको विषाक्तता कम गर्छन् । यसका साथै पालिकाको भूमिकासमेत अत्यन्तै महत्त्वपूर्ण हुन्छ । पालिकाले नागरिकलाई सचेत र जिम्मेवार बनाउन सूचना र शिक्षा अभियान सञ्चालन गर्नुपर्छ, स्वच्छ ऊर्जा प्रयोगमा प्रोत्साहन दिनुपर्छ र प्रदूषण फैलाउने गतिविधिमा नियन्त्रण तथा कारबाही गर्नुपर्छ । नागरिक, पालिका र सरकारबीचको सहकार्यले मात्रै वायु प्रदूषण घटाउने प्रयास प्रभावकारी बन्न सक्छ ।
(वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ज्ञवाली वातावरण विभागका सूचना अधिकारी हुनुहुन्छ ।