इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्लेक्समा अर्थात् अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गेटमा बिहीवार खेलाडीहरु ‘ए’ डिभिजन लिग गराउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिए । मूलगेटमा मेडल झुण्डाएर उनीहरुले प्रदर्शन गरेका हुन् ।
गेट बाहिर राष्ट्रिय खेलाडीसहित फुटबल समर्थक र पूर्व पदाधिकारीहरु नारा लगाउँदै थिए । ‘मैदानका लागि सडकमा’, मैदान भित्र र बाहिर फेयर प्ले’, ‘वयक अप एन्फा’ अर्थात् उठ एन्फा, फुटबलले नै दिन्छ गास, एन्फाबाट मरिसक्यो आश’, वाक्कलाग्दो एन्फा, दिक्कलाग्दो फुटबल’ ‘विश्वकप त चार वर्षमा आउँछ, ‘ए’ डिभिजन लिग कहिले आउँछ ?’ लगायतका नारासहित खेलाडीहरुले गेट बाहिर प्रदर्शन गरे । नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग नभएको आज आठ सय ८१ दिन पुगेको छ । एन्फा र क्लबहरुबीच शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग गर्ने सहमति गरेसँगै खेलाडीहरु आन्दोलनमा उत्रिएका हुन् ।
एन्फाका प्रवक्ता सुरेश शाहले स्थिति सम्हाल्ने केही प्रयास गरे पनि खेलाडीहरु रोकिएनन् । झनै चर्को नारा लगाए । यस विषयमा एन्फाबाट कुनै पनि आधिकारिक धारणा आएको छैन । यो धर्ना कार्यक्रम हुँदा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ चितवन र महासचिव किरण राई हेटौंडामा रहेको प्रवक्ता शाहले जानकारी गराए ।
खेलाडीहरुका लागि काम गनुपर्ने एन्फा आज आफै ढोका बन्द गरेर भित्र बस्नुपर्ने अवस्था आइपुगेको छ । समयमा राष्ट्रिय लिग नहुँदा खेलाडी पलायन हुने समस्यादेखि नेपालमै भएका खेलाडीहरु अन्य काम गर्न बाध्य भएका छन् । एउटा खेलाडी भएर आफ्नो मैदानमा जान नपाउने अवस्था आउनु भनेको फुटबलका लागि कालो दिन सरह भएको नेपाली राष्ट्रिय टोलीका खेलाडी विकेश कुथु बताउँछन् । ‘एन्फामा आउने पदाधिकारी फुटबल विकासका लागि आउने हो, नसक्ने हो भने पद छोड्नुपर्छ,’ उनी भन्छन्, ‘पदाधिकारीमा नैतिकता नै देखिएन ।’ राष्ट्रिय लिगमा रेलिगेशन हुँदैन । यो नभएपछि क्लबहरुमा प्रतिस्पर्धाको चुनौती कम हुन्छ । विकेश भन्छन्, ‘राष्ट्रिय लिग एक डेढ महिना मात्रै चल्छ । यसमा १० प्रतिशत फुटबल खेलाडीले मात्रै खेल्न पाउँछन् । ‘ए’ डिभिजन लिगको समय लामो हुँदा धेरै खेलाडीको सहभागिता हुन्छ ।’
राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनको पनि विकेशको जस्तै गुनासो छ । ‘खेलाडीको हितका लागि धेरै पटक हामीले ध्यानाकर्षण गराउँदा पनि एन्फा नेतृत्वले खेलाडीको लागि काम गरेको देखिएन,’ उनी भन्छन्, ‘वार्षिक साधारण सभामा आफैले तोकेको मिति पुस ९ गते निजिकिँदै गर्दा अहिले फेरि एक वर्ष पछाडि धकेल्नु भनेको एन्फाको लाचारपन हो ।’
विकेश र विराजसहित राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द, अन्जन बिष्ट, एरिक बिष्ट, सनिश श्रेष्ठ, विशाल श्रेष्ठ लगायतको भनाइ पनि उस्तै छ । उनीहरुको एउटै आवाज छ ‘हामीले फुटबल खेल्न पाउनुपर्छ ।’
यसरी मैदानमा खेल्नुपर्ने खेलाडी प्रदर्शनमा उत्रनु दुर्भाग्य भएको खेलाडीहरु बताउँछन् । ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय टोलीमा प्रवेश गर्नका लागि खेलाडीको ढोका बन्द सरह हुन्छ । लिगको आश्वासन देखाउने तर लिग नगर्ने एन्फाले खेलाडीलाई मिति मात्रै घोषणा गरेर ललिपप देखाएर भुलाउन खोजेको फुटबल समर्थकको बुझाइ छ । दशरथ रङ्गशाला अयोग्य हुँदा राष्ट्रिय टोलीले आफ्नो घरेलु मैदान भनेर विदेशमा गएर खेल्नुपरेको छ । त्यसमा राष्ट्रिय लिग नहुँदा फुटबलका समर्थक पनि निराश देखिन्छन् । घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल नहुनु र राष्ट्रिय लिग पनि नहुँदा आफूहरुमाथि अन्याय भएको समर्थक सफला लामिछानेको धारणा छ ।
मैदानमा खेल गराउन नसक्ने एन्फाले खेलाडीलाई मैदान प्रवेशमा पनि रोक लगाउनु दुःखको कुरा भएको नेपाल फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा बताउँछन् । उनले एन्फा नेतृत्वलाई पूरा कार्यक्रमसहित ‘ए’ डिभिजन लिग आयोजना घोषणा गर्न एक हप्ताको समय दिएका छन् । यो अल्टिमेटम पूरा नभए खेलाडीकै भाषामा जेसुकै हुनसक्ने उनको चेतावनी छ । ‘हामीले अनुशासित भएर आफ्ना माग राखेका छौं,’ उनी भन्छन्, ‘हामीलाई खोक्रा आश्वासन नभइ काम गरेर देखाउन एन्फालाई चुनौती दिन्छौं ।’
एन्फाले खेलाडीको लागि काम गर्न नसकेको भन्दै सबैतिरबाट आरोप खेपिरहेको छ। फुटबल खेलाडीहरु अस्तव्यस्त भएका छन् । फुटबल खेलको सबैभन्दा ठूलो राष्ट्रिय लिग ‘ए’ डिभिजन लिग हुनुपर्ने खेलाडीहरुको माग जाहेज भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व उपाध्यक्ष कृष्ण थापा बताउँछन् । एन्फाले खेलाडीहरुको मागलाई सम्बोधन गर्दै समयमा लिग गराउनुपर्छ कि पदाधिकारीले पद छाड्नुको विकल्प नरहेको उनको भनाइ छ ।
‘ए’ डिभिजन लिग गराउन नसक्नुमा क्लबहरु पनि उत्तिकै दोषी देखिन्छन् । क्लबहरुले पनि एन्फालाई लिग गराउन दिनुपर्ने दवाब दिएको देखिँदैन । जसले गर्दा लामो समयसम्म एन्फाले लिग सञ्चालन गर्न सकेको छैन । यस्तै अवस्था रहिरहे र यो आन्दोलनलाई एन्फाले हल्का रूपमा लिएमा स्थिति थप जटिल बन्न सक्छ । त्यसैले फुटबल खेलको विकासका लागि एन्फा, क्लब र खेलाडीहरु सँगै मिलेर जानुको विकल्प छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकाश चापागाईँ उज्यालाेमा कार्यरत हुनुहुन्छ।