नजान्नेका गफ र जान्नेका खसखस !

 कात्तिक २३, २०८२ आइतबार ११:१९:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

तस्वीर : एआईबाट

बाटो छेउको चियापसलमा बिहानैदेखि चहलपहल छ । कोही चिया पिउँदैछन् । कोही अखबार पल्टाउँदैछन् । कोही मोबाइलमा व्यस्त छन् । धान भित्र्याएर फुर्सदिला भएका किसान र स्कूल हिँडेका शिक्षक एकातिर छन् । समाचार लेख्ने पत्रकार, वकालत गर्ने वकिल, सत्ता निकट दलका एक कार्यकर्ता र प्रतीपक्षी दलको कार्यकर्ता पनि सँगै छन् । सबैले दाइ भनेर बोलाउँने चियापसलको मालिक मुसुमुसु हाँस्दै चिया पकाउँदैछन् ।

चिया सुर्काउँदै गरेका किसानको अनुहारमा धान झार्दा लागेको भुसको धुलो टाँसिएकै छ । छेउमा बसेका शिक्षकलाई भन्छन्, ‘लौ हेर्नोस् त, यो देशमा शिक्षकले के सिकाउँछन् थाहा छैन । म त भन्छु, स्कूलमा किताब मात्रै पढाएर हुँदैन । बच्चाहरूलाई खेतमा लगेर धान रोप्न सिकाउनुपर्छ । यसरी पढाउनुपर्छ कि बच्चाले किताब पढ्दा माटोको गन्ध पाओस् । तपाईंहरू त बच्चाहरुलाई किताबी किरा मात्रै बनाउनुहुन्छ । मलाई त लाग्छ, तपाईंहरूले कृषि विज्ञानलाई मुख्य विषय बनाउनुपर्छ । बच्चाहरुले यसरी पढ्नुपर्छ कि खेतमा गएर आफैं खेती गर्न सकून् । तपाईंहरूको पढाइले त बच्चाहरू शहरमा मात्रै बस्ने भए । गाउँमा को आउँछ ?’

शिक्षकले हाँस्दै जवाफ दिए ‘सबैभन्दा पहिले त तपाईं किसानहरूले खेती गर्ने तरिका बदल्नुपर्छ । म त भन्छु, खेतमा विज्ञान लागू गर्नुपर्छ । तपाईंहरू पुरानो पाराले खेती गर्नुहुन्छ – गोरु जोतेर, हलो चलाएर । यसरी खेती गर्नुपर्छ कि हरेक बालीमा गणित लागू होस् । उदाहरणका लागि धान रोप्दा स्केल या मिटर प्रयोग गरेर दूरी नाप्नुपर्छ । रसायनशास्त्र अनुसार मल हाल्नुपर्छ । तपाईंहरू त जसरी पनि रोप्नुहुन्छ, फसल राम्रो भएन भने आकाशलाई दोष दिनुहुन्छ । मलाई त लाग्छ, किसानहरूलाई स्कुलमा ल्याएर पढाउनुपर्छ । नत्र देशमा कृषि क्रान्ति कसरी आउँछ ? तपाईंहरूको खेतीले त हामी सबै भोकै मर्छौं ।’

दुई जनाको कुरा सुनेपछि अघिल्तिर बसेका पत्रकारले भने, ‘तपाईंहरू दुवैले राम्रो कुरा गर्नुभयो, तर वकिलहरूको बारेमा केही भन्नुभएको छैन । हेर्नुस् वकिलसाब तपाईंहरुले यसरी वकालत गर्नुपर्छ कि हरेक मुद्दा समाचार बन्न सकोस् । म त भन्छु, वकालत भनेको पत्रकारिता जस्तै हो – सत्य खोज्ने काम । तर तपाईंहरू त झुट बोल्नुहुन्छ, कागजपत्रहरू घुमाएर न्यायाधीशलाई भुलाउनुहुन्छ । यसरी वकालत गर्नुपर्छ कि हरेक तर्कमा प्रमाण होस्, जस्तो हामी पत्रकारहरूले स्रोत उल्लेख गर्छौं । मलाई त लाग्छ, वकिलहरूलाई पत्रकारिता सिकाउनुपर्छ । नत्र मुद्दा लम्बिन्छ, देशको न्याय प्रणाली नै बदनाम हुन्छ ।’

पत्रकारको कुरा सुनेर चिया सुर्क्याइरहेका वकिलले भने, ‘पहिले पत्रकारहरूले समाचार लेख्ने तरिका बदल्नुपर्छ । म त भन्छु, पत्रकारिता भनेको वकालत जस्तै हो – तर्क र प्रमाणको खेल । तर तपाईंहरू त अफवाह फैलाउनुहुन्छ, मसलेदार हेडलाइन राखेर भ्रम फैलाउनुहुन्छ । यसरी पत्रकारिता गर्नुपर्छ कि हरेक समाचारमा कानूनी आधार होस् । कुनै घटनाको रिपोर्टिङ गर्दा धारा र उपधाराहरू उल्लेख गर्नुपर्छ । मलाई त लाग्छ, पत्रकारहरूलाई अदालतमा ल्याएर सिकाउनुपर्छ । नत्र देशमा अफवाह फैलिन्छ, समाज नै अराजक हुन्छ । तपाईंहरूको पत्रकारिताले हामी वकिलहरूको काम बढाइदिएको छ – मानहानीका मुद्दाहरू ।’

अब राजनीतिक बहस शुुरु हुन्छ । सँगै चिया पिउँदै गरेका प्रतीपक्षी दलका कार्यकर्ताले भने, ‘तपाईंहरु सबैले राम्रो कुरा गर्नुभयो, तर सरकार चलाउनेहरूले के गर्छन् थाहा छैन । उहाँले समर्थन गर्ने मान्छेहरु सरकारमा छन् । नयाँ सरकार भनिएको छ, तर देश चलाउने तरिका पुरानो छ । म त भन्छु यसरी सरकार चलाउनुपर्छ कि हरेक निर्णयमा विपक्षीको सल्लाह लिनुपर्छ । बजेट बनाउँदा किसानहरूको खेतमा गएर छलफल गर्नुपर्छ । शिक्षा नीति बनाउँदा शिक्षकहरूको स्कूलमा । तपाईंहरू त कोठाभित्र बसेर निर्णय गर्नुहुन्छ । मलाई त लाग्छ, सरकार बाहिर रहेकाहरूलाई मन्त्रालयमा बोलाएर सिकाउनुपर्छ । नत्र देश डुब्छ । तपाईंहरूको सरकारले त हामी सबैलाई भिखारी बनाइदिन्छ ।’

सरकार समर्थक दल निकट कार्यकर्ताले हाँस्दै भने, ‘तपाईंहरू विपक्षीहरूले सबैभन्दा पहिले पार्टी चलाउने तरिका सिक्नुपर्‍याे। युवाहरुले चाहेको एकथोक छ, तपाईंहरु अर्कोथोक गर्नुहुन्छ । म त भन्छु, पार्टी भनेको सरकार जस्तै हो – निर्णय लिने ठाउँ । तर तपाईंहरू त सधैं विरोध मात्रै गर्नुहुन्छ, पार्टीमा एकता हुँदैन । यसरी पार्टी चलाउनुपर्छ कि हरेक बैठकमा सरकारी नीतिको छलफल होस् । नागरिकका पीर, मर्का र आवश्यकताबारे निर्णय होस् ।’

यो बहस सुन्दै गरेका चियापसले दाइ मुस्कुराए । अनि भने, ‘तपाईं सबै विज्ञहरू यहाँ जम्मा हुनुभएको छ । मेरो विचारमा उहाँ किसान दाइ शिक्षक बन्नुपर्छ, सरले चाहिँ खेतीपाती गर्नुपर्छ । वकिलसाबले पत्रकारिता र पत्रकार भाइले वकालत गर्नुपर्छ । नभए तपाईंहरु सबैले गरेको काम मलाई पालैपालो गर्न दिनुस् । देशलाई पुरै कायापलट बनाइदिन्छु ।’

चियापसलेको कुरा सुनेपछि किसानले भने, ‘हेर भाइ सबैभन्दा पहिले चिया बनाउने तरिका फेर्नुप‍र्‍याे । म त भन्छु, चियामा माटोको स्वाद थप्नुपर्छ, जस्तो खेतको । यसरी चिया बनाउनुपर्छ कि पिउँदा खेतीको याद आओस् ।’

शिक्षकले थपे, ‘चियामा गणित लागू गर्नुपर्छ । चिनीको मात्रा नापेर, अनि तापक्रम जाँचेर ।’

पत्रकारले भने, ‘चिया पनि समाचार जस्तो बनाउँनुपर्छ ताकि हरेक कप हामीले लेख्ने हेडलाईन जस्तो स्वादिलो होस् न ।’

वकिलले भने, ‘सबैभन्दा पहिलो कुरा त चियाको रेसिपी प्रमाणित गर्नुपर्छ ।’

विपक्षी दलका कार्यकर्ताले भने, ‘सरकारले चिया पकाउने नीति बनाउनुपर्छ ।’

सत्ता समर्थक दलका कार्यकर्ताले भने, ‘पार्टीहरुले चिया पकाउने क्रान्ति गर्न सक्नुपर्छ ।’

चियापसले दाइले फेरि भने, ‘तपाईंहरु सबै अरूलाई सल्लाह दिन खप्पिस हुनुहुन्छ । तर आफ्नो काम चाहिँ राम्ररी गर्न जान्नुहुन्न । किसान आफ्नो खेतमा राम्रो धान रोप्न सक्दैन, तर अर्काको स्कूलमा पढाउने तरिका सिकाउँछ । शिक्षकले आफ्नो कक्षामा बच्चा पास गर्दैन, तर अर्काको खेतीमा विज्ञान लागू गर्न भन्छ । पत्रकारले लेखेको समाचारमा तथ्य हुँदैन, तर उ अर्काको वकालतमा प्रमाण खोज्छ । वकिल आफ्नो मुद्दा जित्दैन, तर अर्काको पत्रकारितामा कानून लागू गर्न भन्छ । विपक्षी दलका नेताले आफू सरकारमा हुँदा केही गर्न सक्दैन, तर अर्को सरकार बन्नेबित्तिकै सल्लाह दिन्छ । अनि सरकार बाहिर हुँदा के के न गर्छु भन्नेहरु सरकारमा पुगेपछि केही गर्न सक्दैनन् । हेर्नुस् पहिले आफ्नो काममा र जिम्मेवारीमा ध्यान दिनुपर्छ । अर्कोको कामकोबारेमा विज्ञता छाँटेर केही हुँदैन ।’

चियापसले दाइले अरूको काम र जिम्मेवारीको विज्ञता छाँट्दै गर्दा उता चुल्होमा चिया उम्लेर पोखिन थाल्यो ।

‘ल ल तपाईं चाहिँ पहिले आफ्नो काम र जिम्मेवारीमा ध्यान दिनुहोस् । बसालेको चिया सबै उम्लेर पोखियो, उता चिया पर्खेर बसेकाहरुलाई के दिनुहुन्छ ?’ भन्दै चियापसलकी भाउजु केटाकेटीलाई स्कूल पुर्‍याउन हिँडिन् ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया