सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरू क्रमशः कार्यान्वयन थालेको बताउनुभएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री खनालले आयोगका धेरैजसाे सिफारिशहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले अर्थ मन्त्रालयले लिएको र केही नीति तथा कानून तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
खनालका अनुसार आयोगका कतिपय सिफारिसहरू दीर्घकालीन प्रकृतिका छन् जसका लागि संसदबाट कानून पारित गर्नुपर्नेछ । कार्यकारी निर्णयबाट गर्न सकिने सुधारहरू तत्काल कार्यान्वयन गरिसकिएको उहाँले स्पष्ट गर्नुभयो ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुधार अनुसार नै राजस्व र भन्सार प्रशासनमा योग्यता सुधार गरिएको अर्थमन्त्री खनालले बताउनुभयो । कर प्रणालीमा देखिएका कमजोरीहरू सुधार गर्न राजस्व प्रशासनमा योग्यता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गरिएको उहाँले उल्लेख गर्नुभयाे । उहाँका अनुसार आयकर गणना गर्न नसक्ने, ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारीहरू जिम्मेवार पदमा रहँदा करदाताले राम्रो सेवा पाउन नसकेका बेला अहिले पदपूर्ति गर्दा नै योग्यतामा सुधार गरिएको छ ।
यस्तै भर्खरै स्वकीय सचिव र सल्लाहकार नियुक्तिसम्बन्धी विवादबारे पनि अर्थमन्त्री खनालले स्पष्टीकरण दिनुभएको छ । कानूनमा विपरीत नियुक्त भएकालाई सुविधा नदिने निर्णय अर्थ मन्त्रालयले गरेको तर कानून मन्त्रालयले तयार गरेको अनुसूचीमा भएका परिवर्तनबारे आफूलाई पनि मिडियामार्फत मात्र जानकारी भएको उहाँले बताउनुभयो ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा प्रगति
अर्थमन्त्री खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको पनि बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानून बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अब त्यस्तो छैन ।
खनालले भन्नुभयो, ‘अब हामीले कानून मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौँ । यही प्रगतिबारे आउँदाे जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौँ ।’
खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिबद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताउनुभयो ।
यस्तै अर्थमन्त्री खनालले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि शुरू हुने समेत जानकारी गराउनुभयो । आन्दोलनबाट सरकारी संरचनामा झन्डै १ सय अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । उहाँका अनुसार पुनर्निर्माण कोषमा ८ करोड रुपैयाँ जम्मा भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।