घुम्न जाँदा कुद्ने होइन, आरामसँग र अवलोकन गर्दै अघि बढ्नुपर्छ

 कात्तिक २६, २०८२ बुधबार ११:५५:४५ | मणिराज लामिछाने
unn.prixa.net

धेरैजसो नेपालीहरू हतारहतारमा ट्रेकिङ जाने योजना बनाउँछन् । प्रायःले आज योजना बनाएर भोलिपल्टै बाटो लाग्ने गर्छन् । कोही ट्राभल एजेन्सी वा परिचित गाडीवालासँग सम्पर्क गर्छन्, कोही गन्तव्यमा चिनजानको होटलमा कोठा बुक गर्छन् । कसैले मोटरसाइकलमा, कसैले जीप वा निजी गाडीमा पुग्ने योजना बनाउँछन् । राति नै सामान प्याक गर्छन् र बिहान सबेरै हिँड्ने तयारी गर्छन् । बाटोमा कतै नरोकी १० देखि १४ घण्टासम्म लगातार यात्रा गर्छन्, स्वास्थ्यको ख्याल नगरी केवल रमाइलोका लागि खानेकुरा खान्छन् । यस्तो अस्वस्थ र अव्यवस्थित यात्राको कारण धेरैजसोमा गन्तव्यमा पुगेपछि ‘लेक लाग्ने’ समस्या देखिन्छ । टाउको दुख्ने, वान्ता आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । यसरी हतार र लापरबाहीमै रमाइलो खोज्दा ट्रेकिङको आनन्दभन्दा बढी जोखिम बढ्ने गर्छ र ज्यानै लाने जोखिम हुन्छ ।

विदेशी पर्यटकहरू भने ट्रेकिङमा जानुअघि निकै तयारी गर्छन् । उनीहरूले शारीरिक कसरत गर्छन् र उचाइँ भएका ठाउँमा जानुअघि शरीरलाई अभ्यस्त बनाउन नजिकैका ८–९ सय मिटर उचाइँका ठाउँमा छोटो हाइकिङ गर्छन् । यसरी शरीरलाई अनुकूल बनाएपछि मात्रै लामो ट्रेकिङको योजना बनाउँछन् ।

उनीहरू आफ्नो गन्तव्य र त्यहाँको उचाइ अनुसार शारीरिक तथा मानसिक रूपमा तयार हुन्छन् । आवश्यक कपडा, जुत्ता, औषधी र उपकरणहरूको पूर्ण तयारी गर्छन् । खानपानमा पनि ध्यान दिँदै शरीरलाई बलियो र सक्षम बनाउँछन् ।

यात्रा शुरु गरेपछि उनीहरू हतार गर्दैनन् । झन्डै चार–पाँच घण्टामा आराम गर्दै, शरीरलाई समय–समयमा विश्राम दिँदै अघि बढ्छन् । त्यसैले उनीहरूमा ‘लेक लाग्ने’ समस्या न्यून देखिन्छ ।

उदाहरणका लागि, काठमाण्डौ समुद्री सतहदेखि झन्डै एक हजार दुई सय ५० देखि एक हजार तीन सय ५० मिटर उचाईमा छ । तर मुक्तिनाथ क्षेत्र तीन हजार चार सय मिटरभन्दा माथि पर्छ । धेरैजना काठमाण्डौबाट सिधै गाडीमा एकै दिनमा मुक्तिनाथ पुग्ने योजना बनाउँछन् । तर काठमाण्डौजस्तो मध्यम उचाइमा बस्ने मानिसको शरीर त्यही वातावरणसँग अभ्यस्त हुन्छ । जब अचानक तीन हजार चार सय मिटरजस्तो उच्च ठाउँमा पुगिन्छ, त्यहाँको हावामा अक्सिजनको मात्रा घटेको हुन्छ । शरीरले यस्तो परिवर्तन तुरुन्तै सहन सक्दैन ।

यस्तो अवस्थामा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, बान्ता आउने, थकाइ लाग्ने जस्ता ‘लेक लाग्ने’ समस्या देखिन्छ । त्यसैले उच्च ठाउँमा जानुअघि बिस्तारै आराम गर्दै उचाइ बढाउँदै शरीरलाई त्यहाँको वातावरणसँग अभ्यस्त बनाउने तयारी अत्यावश्यक हुन्छ ।

ट्रेकिङ कुद्ने होइन, अनुभव गर्ने यात्रा हो । जति बिस्तारै यात्रा गरिन्छ, उति सुरक्षित र आनन्ददायी हुन्छ । ट्रेकिङको सार भनेको गन्तव्यमा चाँडो पुग्नु होइन, बाटोमा भेटिने खोला–नाला, वन–जङ्गल, दृश्य–प्रकृति, त्यहाँको रहनसहन र संस्कृतिलाई महसुस गर्दै अघि बढ्नु हो । हरेक पाइला यात्रा स्वयंको अनुभव हो । त्यसैले घुम्न जाँदा कुद्ने होइन, समय लिएर, आरामसँग र अवलोकन गर्दै अघि बढ्नुपर्छ ।

अहिले धेरै प्रमुख पर्यटन गन्तव्यसम्म बाटो पुगिसकेका छन् । धेरै ठाउँमा दुई–तीन दिनमै सजिलै पुग्न सकिन्छ । तीनदेखि साढे तीन हजार मिटर उचाइसम्म गाडी पुग्ने भएपछि स्वदेशी पर्यटकका लागि यात्रा अझ सहज बनेको छ । तर यस्ता यात्रामा कति नेपाली घुम्न गए भन्ने आधिकारिक तथ्याङ्क भने राखिँदैन, विदेशी पर्यटकको मात्र अभिलेख हुन्छ ।

पछिल्ला वर्षहरूमा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला छ वर्षमा दुई सय ५७ घटनामा ७२ जनाको ज्यान गएको छ भने दुई सय १० जना बिरामी परेका छन् । चालू आर्थिक वर्षका पहिलो छ महिनामै ६१ घटनामा १९ जनाले ज्यान गुमाएका छन् । ४५ जना बिरामी भएका छन् । यीमध्ये धेरै नेपाली पर्यटक छन् । धेरै नेपालीलाई अझै पनि लेक लाग्ने समस्याको कारण, जोखिम र रोकथामका उपायबारे पर्याप्त जानकारी छैन ।

नेपाल पर्यटन बोर्डसहितका सम्बन्धित निकाय र साहसिक पर्यटनसँग जोडिएका सङ्घ–संस्थाहरूले ट्रेकिङ सुरक्षाबारे पर्याप्त सचेतना फैलाउन सकेका छैनन् । यो विषयलाई अझ व्यापक र प्रभावकारी बनाउने आवश्यकता देखिन्छ ।

देशका धेरै ठाउँसम्म सडक पूर्वाधार पुगेको सकारात्मक पक्ष हो । पहुँच बढेको छ र यात्रा सहज भएको छ । तर अर्कोतर्फ, उच्च उचाईमा सहजै पुग्ने प्रवृत्तिले जोखिम पनि बढाएको छ । हरेक वर्ष बिरामी पर्ने र लेक लागेर ज्यान गुमाउने दर बढ्दै गएको छ, जसले पर्यटन क्षेत्रमै नकारात्मक असर पारिरहेको छ ।

जब कुनै पदयात्रीको ज्यान कुनै गन्तव्यमा जान्छ, त्यसको असर केवल त्यही क्षेत्रमा सीमित रहँदैन । अन्तर्राष्ट्रिय समुदायमा ‘त्यो ठाउँ असुरक्षित छ’ भन्ने सन्देश फैलिन्छ । यसले त्यस क्षेत्रमा पर्यटकको आगमन घटाउँछ र दीर्घकालमा देशकै पर्यटन छविमा आघात पुर्‍याउँछ । 

सुरक्षित यात्राका लागि ट्रेकिङ गाइडका निर्देशन पालना गर्न अनिवार्य छ । नेपाल पर्यटन बोर्ड, इक्याप र पोखराका होटल व्यवसायीहरूको समन्वयमा ‘सुस्तरी गन्तव्य पुग्ने’ भन्ने सचेतनामूलक अभियान शुरु भइसकेको छ । अब यो अभियानलाई अझ प्रभावकारी बनाउँदै, सबै यात्रुमा सुरक्षित र जिम्मेवार पर्यटनको चेतना फैलाउने तयारी भइरहेको छ ।

(नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मणिराज लामिछाने

लामिछाने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया