मुस्ताङमा हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन

 मंसिर २२, २०८२ सोमबार ९:३:२६ | रासस
unn.prixa.net

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ मार्फत अध्ययन शुरू गरिएको छ ।

बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको सहकार्यमा उच्च लेक क्षेत्रलाई केन्द्रित गर्दै क्यामेरा जडान गरिएको हो । गएको हप्तादेखि वारागुङ मुक्तिक्षेत्रअन्तर्गत झोङ, पुडाक, छेङ्गुर, थोरङफेदी, फल्याक, धार्काजुङ र मुस्ताङ–डोल्पा सडक किनारका उच्च लेक क्षेत्रमा १५ वटा क्यामेरा जडान गरिएका छन् । आजदेखि घरपझोङ गाउँपालिकाका स्याङ, मार्फा र चिमाङका उच्च लेक क्षेत्रमा पनि थप क्यामेरा जडान हुँदैछ ।

बायोकोसका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङ र असिस्टेन्ट प्रविन लामा, साथै एक्यापका संरक्षण सहायक दीपक ओली क्यामेरा जडान कार्यमा खटिएका छन् । क्यामेरा दुई महिनासम्म लेकमा राखिनेछ । अध्ययनको उद्देश्य हिउँ चितुवाको वास्तविक संख्या, आहारा प्रजातिको अवस्था, मानव–चितुवा द्धन्द्व, र जलवायु परिवर्तनका कारण बासस्थानमा परेको असर पत्ता लगाउनु हो ।

गुरुङका अनुसार, दुई महिनापछि क्यामेराको तथ्याङ्क संकलन गरी विस्तृत विश्लेषण गरिनेछ र सबै जानकारी एक्यापलाई हस्तान्तरण गरिनेछ । बायोकोस नेपालले विगतमा मनाङमा लगातार चार वर्ष हिउँ चितुवा अध्ययन गरिसकेको छ । यसपालि मुस्ताङमा यो कार्यक्रम पहिलो पटक व्यापक रूपमा शुरू भएको हो । माथिल्लो मुस्ताङमा पनि एक पीएचडी विद्यार्थीले छुट्टै क्यामेरा ट्यापिङ अध्ययन गरिरहेका छन् ।

अहिले मुस्ताङमा मानव–चितुवा द्धन्द्व बढ्दो छ । हिउँद याममा घाँस नउम्रनु, पानीका मुहान सुक्नु र नाउर जस्ता आहारा बस्ती नजिक झर्नाले चितुवा पनि खोला र बस्तीमा आउने घटना बढेका छन् । यसबाट पशुपालकका चौपायामा क्षति हुने क्रम दोहोरिएको छ ।

जलवायु परिवर्तनका कारण कम उचाइमा बस्ने कमन लेपार्ड (साधारण चितुवा) समेत माथिल्लो क्षेत्रतिर सर्ने देखिएको छ, जसले वन्यजन्तु–मानव सहअस्तित्वमा थप चुनौती पैदा गरेको छ । यो अध्ययनले मुस्ताङमा हिउँ चितुवाको संरक्षण तथा सहअस्तित्व निर्माणमा महत्त्वपूर्ण आधार दिने अपेक्षा गरिएको छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया