रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरको टोली काठमाण्डौमा

 मंसिर २३, २०८२ मंगलबार १७:४७:५४ | रासस
unn.prixa.net

फाइल तस्वीर

चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाण्डौ आइपुगेको छ । महानगरपालिकाकी उपमेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाण्डौ आइपुगेको हो ।

मेयर दाहालका अनुसार टोलीले आज प्रधानमन्त्री, अर्थमन्त्री एवम् युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव, मन्त्रालयका सचिवहरूलाई भेटेर रङ्गशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ । महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भुक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उहाँले जानकारी दिनुभयो ।

धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुरमा निर्माण शुरू गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानूनी बाधा परेको छ ।

सङ्घीय सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउन्डेशनले रकम पाउन सकेको छैन । महानगरका उपमेयर अधिकारीले फाउन्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानूनका कारण असहज भएको बताउनुभयो ।

महानगरकै आग्रहमा फाउन्डेशनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो ।

फाउन्डेशनले छोडेपछि २०८० कात्तिक २१ गते भरतपुर महानगरपालिका र बाग्मती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो । त्यो सहमतिपछि सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । फाउन्डेशनले हस्तान्तरण गरेपछि महानगरले २०८१ सालको असारदेखि निर्माण कार्य अगाडि बढाइसकेको छ ।

अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । फाउन्डेशनले ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ । यसमध्ये १८ करोड ४३ लाख रुपैयाँ उधारो रहेको जनाएको छ ।

फाउन्डेशनले २०७५ माघ १६ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै फाउन्डेशन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो । जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, त्यस जग्गामा रङ्गशाला बनाउन अनुमानित ३ अर्ब रुपैयाँ लाग्ने र त्यो खर्च फाउन्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ ।

अन्तिम अपडेट: पुस २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया