क्रिकेटमा महिलाको समर्थन उल्लेख्य, तर पुरुषको व्यवहार भने उस्तै

 मंसिर २६, २०८२ शुक्रबार १७:३०:३० | महेश ज्ञवाली
unn.prixa.net

पहिले त्रिवि क्रिकेट रङ्गशालामा महिलाको उपस्थिती अत्यन्तै कम हुन्थ्यो । रङ्गशालामा पुरुषकै भीड बढी देखिन्थ्यो, महिलाहरूको उपस्थिती कमै हुन्थ्यो । तर अहिलेको नेपाल प्रिमियर लिग (एनपीएल) मा त्यो दृश्य फेरिएको छ । अहिले रङ्गशालामा महिलाको उपस्थिती उल्लेख्य देखिन्छ । पुरुष जस्तै महिला पनि उत्साहका साथ चर्को आवाजमा समर्थन गर्छन्, खेलको हरेक पललाई समान उत्सुकतापूर्वक पछ्याउँछन् । 
तर कतै कतै अझै पनि ‘छोरीमान्छेले खेल्नु हुन्न, खेल बुझ्दैनन्’ भन्ने पुरानो मानसिकता काएमै छ । अझ दुखद त के भने विकसित ठाउँमा पढेलेखेकाले समेत महिलालाई खुलेआम अपमान र भेदभाव गर्ने अवस्था आज पनि देखिन्छ ।

अहिले काठमाण्डौको सीतापाइलामा बसेर अध्ययन गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाकी बसन्ती बुढा क्षेत्रीलाई पनि अरुलाईझैँ क्रिकेटप्रति गहिरो भावना छ । कर्णालीमा अझै खेल पूर्वाधार अभाव छ । खेलप्रति सकारात्मक सोच पनि विस्तारै विकसित भइरहेको छ । पहिले त बिजुलीसम्म नपुग्ने ठाउँ भएकाले रेडियोमा खेल सुन्नुपपर्थ्याे । चासो धेरै भए पनि खेल्ने वा सिक्ने वातावरण थिएन ।

२०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेपछि गाउँघरमा पनि क्रिकेटप्रतिको उत्साह जाग्न थाल्यो । विस्तारै बिजुली र इन्टरनेट पुगेका ठाउँमा क्रिकेट अरू प्रदेशसरह लोकप्रिय बन्दै गयो ।

तर कर्णालीका धेरै ठाउँमा आज पनि महिलालाई शिक्षा र खेलकुदमा भेदभाव गरिन्छ । कर्णालीको दुर्गम बस्तीमा ‘क्रिकेट त पुरुषले मात्र खेल्ने खेल हो’ भन्ने सोच अझै कायम छ । क्याम्पस पढ्न थाले पछि उहाँले पढाइमै ध्यान दिनुपर्‍याे । गाउँबाट काठमाण्डौ पुगेपछि बसन्तीलाई नयाँ संसारमा प्रवेश गरेझैँ लाग्यो ।

बसन्ती भन्नु हुन्छ, ‘खेल्न त मन थियो तर त्यो वातावरण नै थिएन । अहिले उमेर पनि भइसकेको छ । तर देशका दाजुभाइ–दिदीबहिनीले राम्रो खेल्दा आफ्नै सपना पूरा भएको जस्तो महसूस हुन्छ ।’ त्यसैले उहाँ नेपालका प्रायः सबै खेल नछुटाई हेर्नु हुन्छ ।

काठमाण्डौ आएपछि क्रिकेटप्रतिको आकर्षण अझ बढ्यो । पहिले रेडियोमा मात्र नाम सुनेका खेलाडीहरूलाई यो शहरमा प्रत्यक्ष हेर्ने मौका पाउनुभयो ।

उहाँ कर्णालीलाई समर्थन गर्नु हुन्छ । यस वर्ष नेपाल प्रिमियर लिगको दोस्रो सिजन शुरु हुनुअघि नै नयाँ रङ्गशालामा गएर खेल हेर्ने उहाँले मनसाय बनाउनुभयो । कर्णालीको जर्सी किन्नु भयो, साथीहरूसँग योजना बनाउनुभयो, पहिलो खेलमै कर्णालीलाई समर्थन गर्न रङ्गशाला पुग्नु भयो ।

तर त्यो उत्साह केही एकैछिमै निराशामा बदलियो । उहाँ भन्नुहुन्छ, ‘हामी दिदी–साथीसँग खेल हेर्न गएका थियौँ । तर रङ्गशालामा केही पुरुष दर्शकहरूले ‘तिमीहरूलाई छक्का–चौका भन्न बाहेक के आउँछ र?’ भन्दै होच्याए । कुराकानी बढ्दै झगडासम्म पर्‍याे । केही भनाभन भए । सानैदेखि रेडियोमा सुनेर माया गरेको खेल हेर्न गएकी थिएँ, तर जीवनकै सबैभन्दा नरमाइलो अनुभव भयो ।’

बसन्तीलाई क्रिकेट भावना हो, तर रङ्गशालामा सहनु परेको अपमानले एउटा साधारण समर्थकको मनमा निकै गहिरोअसर पर्‍याे । 

विद्यालयका बहसदेखि लिएर सभा–सम्मेलनका ठूला–ठूला भाषणहरूमा हामी प्रायः सुनिरहन्छौँ, ‘महिला र पुरुष एउटै सिक्काका दुई पाटा हुन् ।’ महिलालाई जननी, सृष्टिकर्ता, आधा आकाश, संसारको सर्जक जस्ता मीठा उपनामले सम्मान गरिन्छ । तर यथार्थ भने कहिलेकाहीँ यति उदेग लाग्दो हुन्छ कि यी सबै शब्दहरू खोक्रो जस्तै लाग्छन् । धेरै क्षेत्रमा महिलामाथिको दमन र बेवास्ता अझै प्रस्ट देखिन्छ । यसको एक दृश्य अहिलेको नेपाल प्रिमियर लिगमा पनि देखियो ।

बसन्ती भन्नु हुन्छ, ‘हाम्रो समाजमा महिलालाई अघि बढाउन हौसला दिने ठाउँमा उल्टै होच्याइन्छ । राम्रो काम गरे पनि देख्दैनन्, सुन्दै सुन्न चाहँदैनन् । यस्तो व्यवहारले कसरी हिम्मत आउँछ र?’ उहाँले प्रश्न गर्नु भयो, महिला समानता बोलिने शब्द मात्रै हो कि व्यवहारमा लागू गर्ने हो ?

विश्वमा कुनै पनि खेल केवल पुरुषका लागि बनेको हो भनेर कतै पनि लेखिएको छैन । खेल खेल्न र हेर्न चाहने जो–कसैले आफ्नै रुचिअनुसार मैदानमा सहभागी हुन पाउने अधिकार सबैलाई हुन्छ । तर हाम्रो समाजमा अझै पनि खेललाई छोरामान्छेलेमात्र बुझ्ने र छोरीले नबुझ्ने भन्ने सोच अझै पनि कायम छ ।

शिक्षाको पहुँच राम्रो भएका ठूलो शहर–बजारमै महिला माथिको यस्तो व्यवहार बढी सुनिनु विडम्बना हो । चितवन भरतपुरकी सुजु भट्टराई अहिले कीर्तिपुरमा बस्नु हुन्छ । स्नातकोत्तर पढ्दै गरेकी सुजुको लागि पनि क्रिकेट पनि उतिनै प्रिय खेल हो, जति पुरुषलाई हेर्न मन लाग्छ, उत्तिकै उत्साह उहाँभित्र पनि छ ।

तर त्रिवि क्रिकेट रङ्गशालामा पुगेपछि उहाँको अनुभव फरक नै रह्यो । पुरुषको तुलनामा महिलाको सङ्ख्या पनि राम्रै देखिए पनि, महिला दर्शकलाई हेर्ने दृष्टिकोण अझै पुरानै छ । सुजु भन्नुहुन्छ, ‘कहिलेकाहीँ त यस्तो लाग्छ, महिलाले खेल बुझ्न थालेको कुरा नै पुरुषलाई असहज बनाउँछ कि ।’

चितवनलाई समर्थन गर्न जाँदा पनि उहाँले यस्तै व्यवहार भोग्नु पर्‍याे । उहाँलाई खेलाडीको नाम सोधेर जिस्क्याउने, ‘के थाहा छ र?’ भन्ने व्यवहार देखेर असह्य लाग्यो । 

यस्ता घटनाले महिला दर्शकलाई हेर्ने हाम्रो सोच अझै परिवर्तन हुन बाँकी छ भन्ने प्रस्ट हुन्छ । महिलालाई यस्तो व्यवहार गर्ने हो भने क्रिकेटजस्तो लोकप्रिय खेल कसरी सबैको खेल बन्न सक्छ ? महिला दर्शकलाई सहज र सम्मानित अनुभूति दिलाउन सके मात्र खेलको विकास पनि निरन्तर अघि बढ्छ ।

पहिले नेपालमा महिलालाई शारीरिक रूपमा कमजोर ठानिने, घरगृहस्थीमा मात्र केन्द्रित हुनुपर्ने र खेलकुद पुरुषको मात्रै कुरा हो भन्ने दृष्टिकोण थियो । यस कारण महिलाको खेलकुदमा सहभागिता सीमित रह्यो ।
महिलालाई केवल सौन्दर्यको प्रतीकको रूपमा हेर्ने सोच पनि निकै प्रचलित थियो ।

नेपाल प्रिमियर लिगमा पनि यही दृश्य देखियो । ‘ह्याप्पी डेन्ट स्माइल अफ द डे’मा प्राय महिलाकै तस्विर बढी परे । कतिपय अवस्थामा क्यामेराम्यानले महिला समर्थकलाई बढी फोकस गर्दा आलोचना र ट्रोलको विषय पनि बने । तर, घरबाटै रङ्गशालमासम्म पुग्ने महिला समर्थकहरूलाई यो प्रेम खेलप्रति भएको माया मात्र हो । तीन–चार घण्टा रङ्गशालामा बस्नु नै खेलप्रति रुचि र प्रतिबद्धताको प्रमाण हो ।

पहिले खेलकुद प्राथमिकतामा खासै पर्दैनथ्यो, र धेरैको विश्वास थियो कि नेपालमा खेलकुदबाट राम्रो भविष्य बनाउन सकिँदैन । तर पछिल्लो समय धेरैको दृष्टिकोण बदलिएको छ । खेलकुदमा भविष्य बनाउन सकिन्छ भन्ने विश्वास बढेको छ ।

महिलाहरूको सहभागिता पनि बिस्तारै बढ्दैछ। पालिकाहरूमा विभिन्न प्रतियोगिताहरू हुँदै आएका छन् । अब देशभरि खेलकुदको वातावरण झनै सक्रिय छ । सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्म नेपाल प्रिमियर लिगको उत्साह फैलिएको छ । टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा यसको चर्चा देख्न सकिन्छ ।

चितवन रत्तननगरिकी रेनु ढकाल भन्नुहुन्छ, ‘लैंगिक विभेद हुनु हुँदैन । खेलकुदमा रुचि राख्ने महिला घरमै बस्न हुँदैन । रङ्गशालामा पुग्दा नयाँ कुरा सिक्न सकिन्छ, नयाँ अनुभव प्राप्त हुन्छ र नयाँ मानिस भेटिन्छ । यसले रुचि बढाउँछ र व्यक्तिगत विकासमा मद्दत गर्दछ ।’

विदेशमा महिला र पुरुष समान रूपमा खेलमा अगाडि बढिरहेका छन् । नेपालमा पनि धेरै प्रगति भएको छ । फुटबल होस् वा क्रिकेट, महिलाले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । तर समाजले बनाएको साँघुरो सोच, छोरीलाई खेलभन्दा टाढा राख्ने धारणा, अझै भत्किन बाँकी छ ।

खेल मैदानमा महिला सहभागिताको यो बढ्दो उपस्थिति केवल सङ्ख्या होइन, पुरानो सोचविरुद्धको विद्रोह हो, एक किसिमको संदेशहो, ‘हामी पनि सक्छौँ, हामी पनि बुझ्छौँ, र हामी पनि मैदानकै भाग हौँ’ ।

तस्वीरहरु : एनपीएल

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया