एमालेको ११औँ महाधिवेशनको उद्घाटन केहीबेरमा : समारोहस्थलमा प्रवेश गर्नुअघि सुरक्षा जाँच कडा

 मंसिर २७, २०८२ शनिबार ११:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको केहीबेरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने तयारी छ । उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि सुरक्षा जाँच कडा गरिएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उद्घाटन सत्रमा देशभरबाट झन्डै तीन लाख सहभागी हुने जानकारी दिनुभयो । महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिँदैछ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवम् प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरिएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवम् विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको एमालेले जनाएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको छ ।

पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरूमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ । महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने गाडीका लागि कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने गाडीका लागि जगातीको भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया